पौष २१ : परापूर्वकालमा मान्छेहरु खालि खुट्टै हिड्ने गर्दर्थे । खुट्टामा बिझ्ने काँडा र ढुंगाको घोचाईबाट राहत पाउन मान्छेले काठ र मालुका टाँटाको चप्पल बनाएर लाउन थाले । चप्पलले पैतलालाई जोगाए पनि खुट्टाको छतलाई जोगाउन नसकेपछि त्यही चप्पललाई मान्छेले जुत्ताको रुपमा विकास गरेको पाईन्छ ।
सानो छँदा हामी गाँउमा खालि खुट्टै हिड्न गथ्र्यौं । बानि परेर होला त्यति असहज पनि लाग्थेन । तपाईं हामी अधिकांशको मानस्पटलमा हात्तीछाप चप्पलको छाप अझै मेटिएको छैन होला । शायद आफुसँग नभएको चिजप्रति धेरै स्नेह हुने मानव स्वभान नै भएर होला मेरो मानस्पटलमा पनि हात्ति छाप चप्पलप्रतिको स्नेह र सम्झना अझै ताजै छ ।
आज भन्दा २०–२२ वर्ष अघि मेरो दाजुले शहरबाट फर्किदा मेरो लागि हात्तिछाप चप्पल ल्याईदिनु भएको थियो । त्यो चप्पल पाँउदा म जुत्ता पाँउदा भन्दापनि बढी खुशी भएको थिए । दाजु राति बेलकी घर पुग्नु भएकाले त्यो रात कतिखेर कट्ला र बिहानै त्यो हात्तिछाप चप्पल लगाएर हिडौंला भन्ने उत्साहले मनमा ढुंग्रो बजाईरहेको थियो । तर चप्पल लगाएर हिड्दा भने चप्पल खिईने चिन्ताले पिरोली रहन्थ्यो ।
चप्पल पाएको केही दिनपछि म दाजुसँगै नुहाउन धारमा पुगे । नुहाउनलाई तयार भएपछि लगाएको हात्तिछाप चप्पल धोएर सफा ढुंगामा राखेँ, नुहाउन खालि खुट्टा धारामा पुगेँ । जब नुहाउँछु भन्दै धारामा टाउको लिन खोज्दै थिए एक्कासी दाजुले गालामा चड्कन दिनुभयो र भन्नुभयो, चप्पल खुट्टामा हिलो र फोहोर नलागोस् भनेर लाउने हो तँ चाहिं चप्पल सफा ठाँउमा राखेर खुट्टा हिलोमा राखेर नुहाँउने ? त्यही दिन देखि म चप्पल लगाएर नुहाँउन थालेको हँु आज पनि चप्पल लगाएरै नहाँउछु । अहिले काठमाडौंमा जुत्ता लगाएर हिंडिरहेको भएपनि मैले गाँउमा लगाएको चप्पल बिर्सेको छैन । चप्पल र खुट्टाको दोस्ति विगत २ दशकदेखि आजका दिनसम्मपनि प्रगाढ छ ।
चप्पल केवल खुट्टा र जुत्तासँग मात्रै होईन मान्छेको सोच र समाजको विकास क्रमसँग पनि जोडिएको छ । यदि त्यतिखेर हाम्रा पूर्खाले काठ र मालुका टाँटाको चप्पल बनाएर नलगाएको भए आज हामी जुत्ता लगाएर चुईचुई हिंड्ने अवस्था बन्ने थिएन ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस