आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगञ्जका कर्मचारी आन्दोलनमा, ४ दिनदेखि फोहोर पनि उठेन

AuthorAP Khabar२०७५ पौष २३, सोमबार (५ साल अघि) ४५४ पाठक संख्या

वीरगञ्ज , पौष २३ : सत्यनारायण कलवार एउटा सिफारिसका लागि तीन दिनदेखि वीरगञ्ज महानगरपालिका धाइरहेका छन् । वीरगञ्ज महानगरपालिकाको सिर्सियामा रहेको जग्गा बेच्न वडा कार्यालयको सिफारिस चाहिएको छ ।

आन्दोलनमा रहेको भन्दै उनलाई वडा सचिवले भेट दिएका छैनन् । दिनहुँ महानगरपालिका कार्यालयमा सचिव भेट्न आउने र निराश भएर फर्कने उनको दिनचर्या बनेको छ ।

‘ऋण तिर्नका लागि जग्गा बेचौं भनेर लागेको वडा सचिवसँग भेट नै भएको छैन । आन्दोलनमा छौं, अहिले काम हुँदैन भन्छन्’ उनले भने ‘जग्गा बेचेर कर्जा तिर्न खोजेको थिएँ, ब्याज बढेको बढेकै छ ।’

कलवारजस्तै गत विहीबारदेखि वीरगञ्ज महानगरपालिकामा काम लिएर जाने सेवाग्राही निराश हुँदै फर्किएका छन् । कारण वीरगञ्ज महानगरपालिकामा कार्यरत कर्मचारीहरु आन्दोलनमा छन् ।

स्थानीय तहका कर्मचारीहरुको आन्दोलनका कारण बिहिबारदेखि नै महानगरपालिकाको दमकलबाहेकका कामकाज ठप्प छ । फोहोरसमेत नउठाएकाले मुख्य सडकमा फोहोर थुप्रिएको छ ।

कर्मचारी समायोजनमा कर्मचारी संगठन तालिका र वृत्ति विकासका सम्बन्धमा असन्तुष्टी जनाउँदै नेपाल नगरपालिका कर्मचारी एशोसिएशन र स्थानीय तह कर्मचारी संघ ईकाई समिति वीरगञ्ज महानगरपालिकाको आव्हानमा कर्मचारीहरु आन्दोलित भएका हुन् ।

के हो कर्मचारीको माग ?

कर्मचारीहरुले समायोजन गर्दा महानगरपालिकामा नै कार्यरत स्थानीय तहका कर्मचारीलाई राख्नुपर्नेलगायत विभिन्न ७ वटा माग राखेका छन् । आवश्यक दरबन्दीमा निजामती कर्मचारी राखेको भन्दै उनीहरुले आन्दोलन गरेका हुन् ।

नेपाल नगरपालिका कर्मचारी एशोसिएशन वीरगञ्ज महानगरपालिका ईकाई समितिका अध्यक्ष सोहन थापा महानगरपालिकालाई आर्थिक रुपमा ध्वस्त पार्ने किसिमले कर्मचारी समायोजन गर्न लागिएकोले आन्दोलनमा उत्रनुपरेको बताउँछन् ।

‘महानगरपालिकामा आवश्यक कर्मचारीहरु पहिचान गरी यकीन दरबन्दी कायम गरौं, त्यसैलाई नगर सभाबाट स्वीकृत गरेर अगाडि बढौं, त्यसमा हाम्रो स्तर वृद्धिलगायत वृत्ति विकास सुनिश्चित हुनुपर्छ भन्ने हाम्रो माग हो’ उनले भने ।

थापाले अगाडि थपे ‘वीरगञ्ज महानगरपालिका डम्पिङ साइट होइन, कहीँ काम नलागेका कर्मचारीहरु यहाँ ल्याएर थुपार्ने अनि जनताले ३ सय प्रतिशत कर तिरेर पाल्नुपर्ने ?’
स्थानीय कर्मचारी संघ वीरगञ्ज महानगर समितिका अध्यक्ष मुकेश गुप्ता ७ पटक ज्ञापनपत्र बुझाउँदा पनि सुनुवाइ नभएकाले काम ठप्प पारेको बताउँछन् ।

‘हामीले ७ पटक ज्ञापनपत्र त बुझाइसकेका छौं, उल्टै बखेडा गर्दै हुनुहुन्छ भनेर हामीलाई वेवास्ता गरिएको छ । यही कर्मचारी हुँदाहुँदै ४८ जना निजामती कर्मचारी घुसाइसकेका छन्’ उनले भने ।

कर्मचारीहरुले आन्दोलनमा जाने चेतावनीसहित गत पुस १२ गते महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका थिए ।

४ सदस्यीय वार्ता टोली गठन

कर्मचारीको आन्दोलन वार्ताबाट मिलाउन महानगरपालिकाको कार्यपालिकाको बैठकले कार्यपालिका सदस्य अरविन्द गुप्ता संयोजक रहने गरी ४ सदस्यीय वार्ता समिति गठन गरेको छ । समितिले प्रशासकीय अधिकृत र कानुन अधिकृतहरुसँग परामर्श गरी वार्ता गर्ने उपसचिव शिव लम्सालले जानकारी दिए ।

कार्यपालिका बैठकले कर्मचारीहरुलाई सेवा सुचारु गरेर वार्तामा आउन समेत आग्रह गरेको छ । यसअघि प्रमुख प्रशासकीय अधिकृत डा भीष्मकुमार भुसालले पनि कर्मचारीहरुलाई विज्ञप्तिमार्फत वार्तामा आउन आग्रह गरेका थिए ।

उनले माग संबोधन गर्न स्थानीय तह कर्मचारी संघ तथा नेपाल नगरपालिका कर्मचारी एशोसिएशन दुबैका समितिबाट बढीमा ५ सदस्य यकीन गरी वार्तामा आउन आह्वान गरेका थिए ।

तर कर्मचारीहरुले आइतबार दिउँसोसम्म वार्ता समिति गठन गरेका छैनन् । आधिकारिक पत्र नदिई प्रमुख प्रशासकीय अधिकृतले विज्ञप्ति जारी वार्तामा आह्वान गरेको भन्दै उनीहरुले पनि विज्ञप्तिमार्फत नै जवाफ दिएका छन् ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस