आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यसपटक पनि स्ववियुमा अखिलकै वर्चश्व हुनेछः आरती लामा

AuthorAP Khabar२०७५ पौष २४, मंगलबार (५ साल अघि) ३८८ पाठक संख्या

पौष २४ : विद्यार्थी संगठनहरुले खासै चासो नदिइरहेका बेला त्रिभुवन विश्वविद्यालयले नै स्तन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन घोषणा गरेको छ । निर्वाचन घोषणासँगै विद्यार्थी संगठनहरुमा पनि रौनक थपिएको छ ।

यसपटक हुने स्ववियु निर्वाचनमा सत्तारुढ नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियुको तयारी, चुनावी एजेन्डा र समसामयिक विद्यार्थी राजनीतिका गतिविधिमा केन्द्रित रहेर अनेरास्ववियुकी सचिव आरती लामासँग जनता समाचारका लागी नरेश न्यौपानेले गरेको कुराकानीः

विद्यार्थी संगठनहरुलाई नै छक्क पार्दै त्रिविले स्ववियु निर्वाचन घोषणा गरेको हो ?
छक्क नै पार्ने गरी त होइन, अनेरास्ववियुले विगतदेखि नै निश्चित कार्यतालिकाभित्र रहेर ठीक समयमा स्ववियु निर्वाचन गरोस् भनेर आवाज उठाउँदै आइरहेको थियो । पछिल्लोपटक पनि अनेरास्ववियु र क्रान्तिकारीले संयुक्तरुपमा मंसिर २४ गते स्ववियु निर्वाचन गराउनु पर्नेलगायतका १७ बुँदे माग पेश गरेका थियो । वास्तवमा हाम्रै खबरदारी र सक्रियताकै कारण त्रिविले निर्वाचन घोषणा गरेको हो । साथै त्रिवि पनि आफ्नो कार्यतालिकाप्रति यसपटक जिम्मेवार देखिएको मेरो बुझाइ छ ।

अखिल र क्रान्तिकारीको एकता नहुँदै हुने निर्वाचन फेस गर्न तपाईंहरुलाई अफ्ठ्यारो पर्दैन ?
त्यस्तो त हुनै सक्दैन । हामीलाई झन सजिलो हुन्छ । दुई महत्वपूर्ण र फरक शक्तिहरुबीचको एकताले हामीलाई निकै बलियो बनाएका बेला चुनावमा सहभागी हुने अवसर मिलेको छ । यो त हाम्रा लागि निकै राम्रो मौका हो । साँच्चिकै भन्ने हो भने अब हामीलाई आम विद्यार्थीका समस्या र मागहरुका सन्र्दभमा एक भएर लड्ने वातावरण मिलेको छ । सँगै हामी निकट भविष्यमै सांगठनिक एकता गर्दैछौँ ।

यो पटकको स्ववियु निर्वाचनमा तपाईंहरुले उठाउने मूल एजेण्डाबारे बताइदिनुहोस् त ? 
यो निर्वाचनका लागि मात्रै होइन, हामीले अनेरास्ववियुको लामो राजनीतिक जीवनमा नेपालका गरिब किसान तथा मजदुर वर्गका छोराछोररुका निम्ति समान शिक्षाको आवश्यकताबारे वकालत गर्दै आइरहेका छौँ । यसपटक पनि हामीले खासगरी नेपालमा हाम्रो परिवेश सुहाँउदो, उत्पादन र स्वरोजगारलाई प्राथमिकता दिने शिक्षाप्रणाली, प्राविधिक शिक्षाको सर्वसुलभता, शैक्षिक शूल्कमा समानता, मेडिकल शिक्षामा विद्यार्थीको पहुँच, शिक्षामा विपन्न विद्यार्थीको पहुँच वृद्धि, विद्यार्थीको स्वास्थ्य बिमा र छात्रवृत्तिलगायतका सुविधामा प्रभावकारिता, सेमेस्टर प्रणालीको वैज्ञानिक सञ्चालन र विश्वविद्यालयका अनुसन्धान केन्द्रहरुको प्रभावकारितालगायतका विषयहरु निकै महत्वका साथ उठाइरहेका छौँ । मूलतः विद्यार्थीको अध्ययन अध्यापनलाई उत्पादनसँग जोडेर स्वरोजगारमुखी शिक्षाप्रणाली कसरी बनाउन सकिन्छ भन्ने प्रमुख चिन्ताको विषय हो ।

सरकारले जनअपेक्षाबमोजिम काम गर्न नसकिरहेकाले यसपटकको चुनावमा अखिल रक्षात्मक हुने परिस्थिति छ भनिन्छ नि ?
विगतमा अनेरास्ववियुले पार्टी तेश्रो वरियतामा हुँदा पनि पहिलो भएर स्ववियु चूनाव जितेको इतिहास छ । यसपटक त झन हामी शक्तिका हिसाबले निकै बलियो बनेका छौँ । अर्को कुरा, एजेण्डाका हिसाबले लामो समयदेखि नेपाली विद्यार्थी आन्दोलनको अगुवाई अनेरास्ववियुले नै गर्दै आइहेको छ । केबल विद्यार्थी समुदायका मुद्दा मात्रै होेइन, राष्ट्रियता र जनजीविकाका सवाललाई समेत हामीले उठाउँदै आएको नाताले हामीलाई नै विद्यार्थीले रोज्ने कुरामा दुईमत छैन । सरकार बनेको पनि १ वर्ष पुग्दैछ, सरकारले पनि विकासको आधार तयार गरिरहेको छ । जनताको सरकारप्रतिको गुनासो स्वाभाविक नै हुन्छ । सरकारको कारण स्ववियु चुनावमा कुनै असर पर्दैन ।

तपाईंहरु दुई अखिलको एकता कहिले टुंगिएला ?
हामी एकताको अन्तिम चरणमा छौँ । पार्टीद्वारा गठित कार्यदलले सम्भवतः अबको हप्ता दिनभित्र हाम्रो एकता टुंगो लगाउँछ । नयाँ नेतृत्वसहितको नयाँ केन्द्रीय कमिटी आउँदैछ । त्यसपछि हामी थप उत्साहका साथ अघि बढ्छौँ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस