आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिंगो गाउँ लालपूर्जाविहीन

AuthorAP Khabar२०७५ पौष २७, शुक्रबार (५ साल अघि) ४०८ पाठक संख्या

बाँके ,  पुष २७ : नेपालगञ्ज उपमहानगरपालिका भित्रकै सिङ्गो मनिकापुरगाउँ लालपूर्जाविहीन छ । अस्थायी लालपूर्जा र एउटा कागजको भरमा मनिकापुरमा ठूलो लगानीमा ठूलाठूला भवन निर्माण भइरहेका छन् । यसमा न घरधनी सुरक्षित छन् न त सरकारले राजश्व नै पाएको छ । यसले व्यापारिक शहर नेपालगञ्ज उपमहानगरपालिका नै लालपूर्जाविहीन शहरका रूपमा चिनिन थालेको छ ।

मनिकापुरमा ७५ प्रतिशत नागरिक लालपूर्जाको आसमा बसेको ५० वर्ष बितिसकेको छ । मनिकापुरमा कुनै पनि निर्वाचन हुँदा लालपुर्जा नै मुख्य मुद्दा बन्ने गरेको छ । विसं २०४६ पछि पनि नेपाली कांग्रेस र तत्कालीन एमालेले अधिकांश समय तत्कालीन गाविसको सत्ता सञ्चालन गर्दै आए पनि कसैले लालपूर्जा पाउन नसकेको नेपालगञ्ज–२० का वडाध्यक्ष कृष्ण कार्की बताउनुहुन्छ ।

साविकको मनिकापुर गाविस अहिले नेपालगञ्ज उपमहानगरपालिकामा गाभिएको छ । चुनावका बेला चर्चा हुने तर, चुनाव सकिएपछि लालपुर्जाको मुद्दा सेलाउने गरेको वडाध्यक्ष कार्कीको भनाइ छ । मनिकापुरका मदनापुर, नयाँबस्ती, बाबाघाट, फारमछोल, गायत्रीनगर, प्रेमनगर, पोतेदारपुर, थपुवालगायतका गाउँ अहिले पनि लालपूर्जाविहीन अवस्थामा रहेको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

‘यी गाँउका ७५ प्रतिशत नागरिक लालपुर्जाको पर्खाइमा छन्न’, उहाँले भन्नुभयो, ‘ घरजग्गाको लालपूर्जा नहुँदा करोडौँ लगानी गरेर बनाएका घर सम्पत्तिको मूल्याङ्कन हुनसकेको छैन । बैंकले ऋण दिँदैन । उद्योग कारखाना चल्दैन ।’ वडाध्यक्ष कार्कीका अनुसार विसं २०२४ देखि बसोबास गर्दै आएका व्यक्तिसमेत अझै लालपूर्जाको आसमा छन् ।

‘जुनसुकै पार्टीको सरकार बने पनि मनिकापुरवासीको माग कहिल्यै सुनुवाइ भएन’, स्थानीयवासी लक्ष्मी शर्माले भन्नुभयो, ‘पुर्जा त चुनावी नारा मात्रै भए ।’ गएको स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवारले पुर्जा दिलाउने कुरा महत्वका साथ उठाएका थिए । उहाँले थप्नुभयो, ‘घर बनाएर बसेको २५ वर्ष भइसक्यो तर, लालपूर्जा हातमा छैन । हामी जग्गा अतिक्रमण गरेर बसेको पनि होइन तर सुकुम्वासीजस्तै भएका छौँ ।’

मनिकापुरमा १२ हजार ४ सय ११ जनसङ्ख्या रहेको छ । जसमा छ हजार ५९ महिला, ६ हजार ३ सय ४१ पुरुष र ११ अन्य रहेका छन् । मनिकापुरमा रहेका दुई हजार ४६२ घरधुरीमा ७५ प्रतिशत घरधुरी लालपूर्जाविहीन रहेको वडाध्यक्ष कार्की बताउनुहुन्छ । करीब ५० वर्षदेखि पुर्जा्विहीन उक्त वडामा अहिले साना, मझौला र ठूला गरी दर्जन बढी विभिन्न उद्योग स्थापना भएका छन् । अधिकांश उद्योगको भौतिक संरचना लालपूर्जाविहीन जमीनमै निर्माण गरिएका छन् ।

यसरी अस्थायी जमीनमा स्थायी संरचना बनिसके पनि नेपालगञ्ज उपमहानगरपालिकाले मनिकापुरवासीलाई लालपूर्जा दिनेतर्फ अहिलेसम्म कुनै चासो देखाएको छैन । स्थानीयवासीले स्थायी लालपूर्जाका लागि वडा कार्यालयमार्फत नगरपालिका र सरकारसँग पटकपटक माग गर्दै आएका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस