आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अराजकताको हदः घट्यो प्रदेश सरकारकै कद

AuthorAP Khabar२०७५ पौष ३०, सोमबार (५ साल अघि) ५४९ पाठक संख्या

पौष ३० : प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कार्यालयमै बोलाएर सभामुख सरोजकुमार यादवको सामुन्नेमा कुटेको घटनाले राजनीतिक वृत्त अरु बदनाम बनेको छ ।

राजनीति गर्नेहरु लाजघिनको घु¥यानमा डुबे पनि सबैभन्दा माथि हुन् र कानुन हातमा लिन सक्छन् भन्ने भ्रममा प्रदेश सरकारका मन्त्रीको व्यवहार देखिन्छ । उसो त संघीय लोकतान्त्रिक फोरमका नेता विजय यादव २ नम्बर प्रदेशमा मुख्यमन्त्रीका दाबेदार थिए । उनी पार्टी अध्यक्ष तथा नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवका निकट नेता पनि हुन् ।

उनले अर्को मन्त्रालयका सचिवलाई बोलाएर कार्यकक्षमै कुटेको विषय राजनीतिमा क्षम्य हुने विषय थिएन तर यसलाई यस्तोसँग प्रवद्र्धन गरिएको छ कि, अझै पनि ‘मान्छे मारेर सत्तामा पुगिन्छ’ भन्ने भ्रममा कोही राजनीति गरिरहेका छन् र हप्कीदप्कीको राजनीतिमा भविष्य खोजिरहेका छन् तिनले बेलैमै आश्रमतिर बास र सन्यासी जीवन रोजे फरक नपर्ने दिन टाढा छैन । उसो त कानुनी प्रक्रियामा नगएर सचिव विद्यानाथ झाले बोलेका शब्दहरुमा पनि समर्थन गर्दैनौँ ।

तर एउटा कर्मचारीलाई अस्पतालमा भर्ना हुनुपर्ने हालतमा पु¥याउने मन्त्रीको पक्षमा उपेन्द्र यादका पिए (प्रेस एडभाइजर) महेश चौरसियाले लेखेका शब्दहरुले अरु मर्माहत बनाएको छ । मुलुकमा एउटा सचिव कुटिँदा स्वकीय सचिव हैसियतकाहरुले सामाजिक सञ्जालमा लेखेका शब्दहरु पढेर तपाईं आफैँ धारणा बनाउनु होला ।

कुटपिटको इतिहास लाजमर्दो नै छ । एकपटक मन्त्री मातृका यादवले ललितपुरका एलडिओ बोलाएर दबाब दिए । मानेन भनेर घण्टौँसम्म शौचालयमा थुनिदिए । २०६५ मा माधव नेपाल सरकारका मन्त्री करिमा बेगमले बारामा सिडियोलाई कार्यालयमै कर्मचारी सामुन्ने गालामा सुम्ला बसाले । यही अराजकताको सिलसिला थियो जनकपुरमा यादवले झालाई पिट्नु । उसै पनि २ नम्बर प्रदेशमा राजनीतिका नाममा अनेक स्वार्थको फणाहरु जाग्ने सुरसार देखिन्छ । ८ प्रतिशत यादव बाहुल्य प्रदेशमा झाहरुसँग नै अझै घुलमिल देखिन्न ।

त्यही माथि ४ प्रतिशत मुस्लिम समुदायका नेता लालबाबु राउत मुख्यमन्त्री छन् । र, काठमाडौंमा द्वन्द्व उद्योगमा फलिफाप देख्ने केही उद्यमीहरु मुख्यमन्त्रीको राजीनामा पुकार्न थालिसकेका छन् । मानौँ, यो सब योजना मुख्यमन्त्री निर्देशित थियो । यसले सीधा संकेत गरिरहेको छ कि, झा देखाएर यादव जोगाउने या यादव देखाएर झा उचाल्ने तर भित्रीरुपमा भने काठमाडौं सरकारले ‘भारत स्वार्थ’ किचिमिची पारिरहेका बेला तराई मधेसमा भए पनि एउटा स्वार्थ छिराइहालौँ, मुस्लिम मुख्यमन्त्री पाखा लगाइहालौँ भनेर केही मुख्यमन्त्रीको राजीनामाको मुस्लोमा न्यानो मान्न थालिरहेको देखिन्छ ।

चिन्ता, समृद्ध २ नम्बर प्रदेशको हो । आत्मनिर्भर २ नम्बर प्रदेशको हो । त्यसका लागि योजना र सपना भएका काबिल मन्त्रीहरु चाहिन्छ । आफ्ना निकटका एकाध एन्जिओलाई पैसा दिएन भनेर मन्त्रालय बोलाएर कर्मचारी कुट्ने मन्त्रीहरुबाट समृद्ध प्रदेश सम्भव छैन । यसलाई अझ जातीय मसला दलेर प्रदेशमा आगो बाल्न किन केही बुद्धिजीवी, सञ्चारगृह कस्सिएका छन् । धेरै पर सोच्नै पर्दैन ।

एउटा मुस्लिम समुदाय नेतृत्व सरकारलाई फूमन्तर गर्न सकिने बेला यही हो भन्ने धातुले उनीहरुलाई जुरुकजुरुक पारिरहेको छ । अस्पताल भर्ना भएका सचिव झाको शिघ्र स्वास्थ्य लाभको कामना गरौँ । आक्रोशमा आएका यादवले माफी मागुन् र नेताहरुले आफ्ना सचिवालयमा राखेका पिएहरु पनि सामाजिक सद्भाव भड्काउने, हिंसा प्रवद्र्धन गर्ने काममा लागे भनेर जनताले कारबाही गर्ने दिन नआओस् ।

आफैँ सच्चिन सकेन भने जनताले सच्याउनेछन् । फेरि पनि भनिरहनु पर्दैन, २ नम्बर प्रदेश बनाउने त्यहीँका झाले हो, यादवले हो, राउतले हो । तराई मधेसका सबै जातजातिले हो । तिनै जातजाति फुटाएर कसैले आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेका छन् भने पहिला उनीहरु नै सचेत हुन जरुरी छ ।

उनीहरुलाई जुधाएर संघीय राजधानीमा ‘कमाउ उद्यम’ गर्नेहरु पनि जनताले चिन्नेछन् बेलैमा । छिमेकमा नीतिश कुमारले संस्थागत गरेको ‘कानुनी राज’को एक दुई इतिहास पढून् तराई मधेसमा राजनीतिक भविष्य खोजेकाहरुले ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस