आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आजदेखि ७ सय ५३ स्थानीय तहमा रोजगार खुल्दै (सूचनासहित)

AuthorAP Khabar२०७५ माघ ४, शुक्रबार (५ साल अघि) ५४५ पाठक संख्या

काठमाडौं , माघ ४ :  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ सय ५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया शुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी रोजगार संयोजक नियुक्तिको प्रक्रिया शुरु भएको जानकारी दिएको हो । संयोजक छनौटको लागि १५ दिनको म्याद राखेर शुक्रबारबाट अनलाइन दरखास्त आह्वान गरिने प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रमुख तथा मन्त्रालयका सहसचिव प्रकाश दाहालले जानकारी दिनुभयो ।

१० हजार भन्दा बढी जनसंख्या भएको स्थानीय तहमा शाखा अधिकृत सरहको र १० हजार भन्दा कम जनसंख्या भएको स्थानीय तहमा नायव सुब्बा सरहको संयोजक रहने व्यवस्था गरिएको दाहालले बताउनुभयो ।

मन्त्रालयले अस्थायी दरवन्दीमा १ वर्षका लागि प्रदेशगत रुपमा खुल्ला प्रतिष्पर्धामार्फत् करारमा पदपूर्ति गरी स्थानीय तहमा खटाउने छ ।तोकिएको म्यादभित्र दरखास्त परेका मध्ये कम्प्युटरको माध्यमबाट ७५३ स्थानीय तहको लागि शुरुमा २ हजार २ सय ५९ जनाको छनौट सूची तयार गरिने छ। यसरी छनौटमा परेकाहरुलाई न्युनतम शैक्षिक योग्यता वापत ७० अंक, न्युनतम भन्दा माथिको शैक्षिक योग्यताको लागि २० र २ वर्षको कामको अनुभवको लागि १० अंक प्रदान गरी उम्मेदवारले प्राप्त गरेको अंकको आधारमा आवश्यक योग्यताक्रम सूची निर्धारण गरिनेछ ।

७५३ स्थानीय तहमा एक रोजगार सेवा केन्द्र रहने छन् । रोजगार सेवा केन्द्रबाट गाउँपालिका वा नगरपालिका क्षेत्रभित्र रहेका बेरोजगार व्यक्तिको तथ्यांक संकलन तथा विश्लेषण गरी बेरोजगारको सूची स्वीकृतिका लागि गाउँ वा नगरपालिकामा पेश गरिनेछ।

स्वीकृत भएको बेरोजगार व्यक्तिको सूचीलाई रोजगार व्यवस्थापन सूचना प्रणालीमा अद्यावधिक गरी सूचीकृत गर्ने र सूचीकृत बेरोजगारलाई लावग्राहीको परिचयपत्र वितरण गरिने छ। सेवा केन्द्रले रोजगारीका अवसरहरुको पनि अभिलेख राख्नेछ।विभिन्‍न सरकारी, गैरसरकारी आयोजनामा माग भएअनुसार सूचीकृत बेरोजगारहरुलाई त्यहाँ खटाइने छ।

बेरोजगारलाई आवश्यकता अनुसार तालिम प्रदान गर्न समेत सेवा केन्द्रले सिफारिस गर्नेछ। वैदेशिक रोजगारीमा जान चाहनेलाई पनि सेवा केन्द्रले नै आवश्यक सहयोग तथा सूचना प्रदान गर्नेछ।प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि यस आर्थिक वर्षको बजेटमा सरकारले ३ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिसकेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस