आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मालपोत र नापीमा खुलेआम मौलायो घूसखोरी

AuthorAP Khabar२०७५ माघ १०, बिहिबार (५ साल अघि) १२११ पाठक संख्या

बारा , माघ १० : प्रदेश २ का ८ वटै जिल्लाको भूमिसुधार तथा मालपोत र नापी कार्यालयमा घूसखोरी मौलाएको छ । कर्मचारीको चपेटामा परेका सेवाग्रहीहरूले अनिवार्य रुपमा घूस नतिरेसम्म फाँट, मोठमा उसको काम हुँदैन ।

‘सय रुपैयाँदेखि १ हजारसम्म घूस नदिएसम्म काम हुँदैन,’ लेखापढी व्यसायी समितिका एक पदाधिकारीले भने, ‘इन्ट्री, डीआर तयार, आरएलएन र एडमिन गरेबापत हाकाहाकी घूस माग्छन् ।’ सेवाग्रहीको काम गराइदिन घूसको रकम माग्दा लेखापढी व्यवसायी नै सेवाग्रहीको आँखामा पर्ने गरेको उनले सुनाए ।

‘लालपुर्जाको नक्कल, नयाँ लालपुर्जा बनाउनेदेखि सबै फाँट र मोठैपिच्छे टेबलमा घूस नदिएसम्म अलमल्याउने, लाइनमा बस्नु भनेर बहाना बनाई काम नगर्ने प्रवृत्ति छ,’ उनले भने, ‘एक जनाको लिखत पास (रजिस्ट्रेसन) गर्दा कम्तीमा १ हजार खर्च हुने गरेको छ ।

घूसकै विषयमा भूमिसुधार तथा मालपोत कार्यालयमा दिनहुँ बबाल हुने गरेको छ, सेवाग्रहीले होहल्ला मचाउने गरेको छ । यसरी मोही बाँडफाँटको फैसला, टिप्पणी उठाउनेलगायतको काममा घूसको चलखेल बढेको छ । ‘कर्मचारीसित लेनदेन तय नभएसम्म फाइल नै अगाडि बढ्दैन,’ बारागढी गाउँपालिका–६ गडहलका उपेन्द्र साहले भने, ‘घूसको लेनदेन वा तय नभए कानुन विपरीत आदेश हुने गरेको छ ।आफ्नो मोही बाँडफाँट मुद्दामा घूस नदिएपछि कानुन विपरीत आदेश गरिएको छ ।’ कानुन विपरीत आदेशबारे विभागसम्म्म आफूले उजुरी गरेको उनले सुनाए ।

कार्यालयमा थुप्रै मोही बाँडफाँटको मुद्दा लेनदेन नमिलेकाले त्यस्तै अड्किएको उनको भनाइ छ । घूस अनिवार्यझैं भइरहँदा कार्यालयका प्रमुखहरू नदेख्या र नसुन्याजस्तो गर्छन् । ‘कर्मचारीले घूस लिन्छन् भन्ने हामीलाई थाहा हुँदैन, घूस खान्छन् भन्ने विश्वास पनि छैन,’ भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख राज राजेश्वर त्रिवेदीले भने, ‘घूस खाएको गुनासो आएमा कारबाही गर्छौं र घूस लेनदेन बन्द गर्छौं ।’

यसैगरी, नापी कार्यालयमा नक्सा प्रमाणित, फिल्डबुक उतारलगायतको काम लिएर जाँदा सेवाग्रहीले घूस नदिएसम्म काम नहुने अवस्था भएको उनले बताए । सोमवार मध्यान्ह कार्यालय पुग्दा कार्यालय प्रमुख थिएनन् । फोन सम्पर्क गर्दा जिल्ला प्रशासन कार्यालयको नियमित बैठकमा सहभागी हुन आएको कार्यालय प्रमुख रामचन्द्र पण्डितले बताए । घूसबारे जिज्ञासा राख्दा कार्यालय प्रमुख पंडितले घूस लेनदेन रोक्न सिसिटिभी लगाइएको बताए । तर सिसिटिभी हेर्दा कार्यालय प्रमुखको कार्यकक्षमा राखिएको मोनिटरमा तस्बिर आइरहेको देखिएको थिएन ।

(कान्तीपुर)

 

प्रतिक्रिया दिनुहोस