आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महानगरमा वडाध्यक्ष प्रवक्ता, निशानामा उपत्यका विकास प्राधिकरण

AuthorAP Khabar२०७५ माघ १४, सोमबार (५ साल अघि) ३९४ पाठक संख्या

काठमाडौं , माघ १४ : काठमाडौं महानगरपालिकाले जनप्रतिनिधिलाई नै प्रवक्ता तोकेको छ । वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोल काठमाडौं महानगरपालिकाका प्रवक्ता भएका छन् । कर्मचारीलाई नै प्रवक्ता बनाइरहेको महानगरमा जनप्रतिनिधि प्रवक्ता तोकिएसँगै सोमबार गरिएको पत्रकार सम्मेलनमा सहरी विकास मन्त्रालय अन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरण खारेजको माग पनि महानगरले अघि सारेको छ ।

‘स्थानीय तहको अधिकार स्थानीय तहबाटै कार्यान्वयन हुनुपर्छ, हामी सबै काम गर्न सक्षम छौँ,’ प्रवक्ता डंगोलले भन्नुभयो, ‘समान प्रकृतिको काम गर्ने दुई वटा निकाय हुनु राम्रो होइन, स्थानीय सरकार बलियो बनाउन पनि प्राधिकरण खारेज हुनुपर्छ ।’

प्रवक्ता डंगोलले भन्नुभयो, ‘हामी प्राधिकरण खारेजीको माग गर्दै सरकारलाई लेखेर पठाउँछौँ, प्राधिकरण खारेजी महानगरको माग पूरा गर्न सरकारलाई भन्नेछौँ ।’

‘प्राधिकरणको कामकारबाही पूर्वाग्रही देखेका छौँ,’ वडाध्यक्षसमेत रहेका प्रवक्ता डंगोलले भन्नुभयो, ‘काठमाडौं उपत्यकामा ८० प्रतिशत घर मापदण्डविपरीत छन्, तर ‘कुरा नमिलेका’ केही घर मात्र रोक्का गरेको हामीले बुझेका छौँ, अब यस्तो हुनुहुँदैन, सबै काम गर्न महानगर सक्षम छ ।’

महानगर गाली मात्र खाने ?
प्रवक्ता डंगोलले भन्नुभयो, ‘विद्युत्का पोलमा केबल राख्ने, हटाउने, लथालिंग पार्ने काम भइरहेको हुन्छ, अनुमति सञ्चार मन्त्रालयकै होला, तार भताभुंग पारेको भनेर महानगरपालिकाले गाली खानु परेको छ ।’ डंगोलले सुनाउनु भयो, ‘खाल्डो खनेर हिलाम्मे–धुलाम्मे मेलम्चीले पार्छ, बाटो खत्तम भयो भनेर महानगरलाई गाली गरिन्छ ।’

रानीपोखरी कहिले बन्ला ?
रानीपोखरी निर्माण अनिश्चित बनेको छ । ‘हामीले १२ करोड ६६ लाखमा रानी पोखरी निर्माण गर्न निर्णय गरेका हौँ,’ प्रवक्ता डंगोलले भन्नुभयो, ‘रविना कन्स्ट्रक्सनले पेश गरेको लगत इस्टमेट ११ दशमलव ८७ प्रतिशत बढी आयो, त्यसैले ठेक्का रद्द गरेका छौँ ।’ डंगोलले रानीपोखरी निर्माण कसरी गर्ने भन्नेबारे महानगरमा छलफल भइरहेको बताउनु भयो ।

काठमाडौं भ्यु टावरको सम्झौता खारेज हुन सक्ने
काठमाडौंको बसपार्क हटाएर निर्माण गरिन लागेको भ्यु टावरसँगको सम्झौता पनि खारेज हुनसक्ने प्रवक्ता डंगोलले बताउनु भयो । भन्नुभयो, ‘पाँच वर्षमा बनाइसक्ने र ३० वर्षमा महानगरलाई हस्तान्तरण गर्ने सहमति हो, तर अहिलेसम्म जग मात्र खनेको देखिन्छ, सम्झौता अनुसार काम नभएकाले सम्झौता रद्द हुनसक्छ, महानगर छलफलमा जुटेको छ ।’

जनता समाचार

प्रतिक्रिया दिनुहोस