आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फास्ट ट्रयाकको जिरो प्वाइन्ट सार्न स्थानीयको ‘चलखेल’

AuthorAP Khabar२०७५ माघ १६, बुधबार (५ साल अघि) ३२६ पाठक संख्या

काठमाडौं , माघ १६ :  काठमाडौं–निजगढ ७१ किमि फास्ट ट्रयाकको जिरो प्वाइन्ट फर्सिडोलमा राख्नुपर्ने त्यहाँका स्थानीयले माग गरेका छन् । सरकारले नेपाली सेनालाई निर्माणको जिम्मा दिएको फास्ट ट्रयाकको जिरो प्वाइन्ट खोकना तोकेकाले सेनाले हाल त्यहीअनुसार काम गर्दै आएको छ ।

फास्ट ट्रयाकको जिरो प्वाइन्ट खोकनामा रहेको डिजाइनअनुसार नेपाली सेनाले काम गरिरहेको अवस्थामा हाल यस्तो विवाद चर्किएको हो । खोकनालाई जिरो प्वाइन्ट बनाउँदा त्यहाँ रहेको सिकाली मन्दिर र ऐतिहासिक खोकना क्षेत्र मासिने स्थानीयको गुनासो छ ।

दुई वर्षअघि नै आएको यो विवाद पटक–पटकको छलफलले समाधान गरिएको नेपाली सेनाको दाबी छ । तर सेनाले स्थानीयको आवाज नसुनेको खोकना जनसरोकार समितिका अध्यक्ष नेपाल डङ्गोल बताउँछन् । फास्ट ट्रयाक निर्माणले सिकाली मन्दिर संकटमा पर्ने र खोकनाबासीको वर्षौंदेखिको पहिचान गुम्ने भन्दै खोकनाबाट ३ किमि दूरीमा रहेको फर्सिडोलमा जिरो प्वाइन्ट राख्न खोकनाबासीको माग छ ।

खोकनाका एकथरी स्थानीयबासी फर्सिडोलमा फास्ट ट्रयाकको जिरो प्वाइन्ट बनाएर खोकना क्षेत्रको जग्गाको मोल बढाउने प्रपञ्चमा लागेको बताउँछन् । सेनाले निर्माण गर्ने फास्ट ट्रयाकमा खोकनामा जिरो प्वाइन्टको विवाद देखाएर जिरो प्वाइन्ट फर्सिडोलमा सारेर खोकनाको जग्गाको मोल बढाउने व्यवसायीको उद्देश्य रहेको उनीहरुको भनाइ छ ।

“केही जग्गा व्यवसायीहरु खोकनामा जिरो प्वाइन्ट विवाद देखाउँदै फर्सिडोलमा जिरो प्वाइन्ट सार्ने अनावश्यक चलखेल गरिरहेका छन्,” एक स्थानीयले भने, “फर्सिडोलमा जिरो किमि बनाउँदा खोकनाको जग्गाको मूल्य बढ्ने उनीहरुको अपेक्षा हो ।”

खोकना क्षेत्रमा हाल ४५ जनाको नेपाली सेनाको टोलीले फास्ट ट्रयाक निर्माणस्थलको निर्माणकार्य, आवश्यक बन्दोबस्त, सुरक्षा र निरीक्षण गरिरहेको छ । खोकनाक्षेत्रको ३ किमि खण्डमा खोकना बेसक्याम्पका सेनाले यो काम गरिरहेका छन् ।

हाल उक्त क्षेत्रमा पुस र माघ महिनामा मात्रै ८ करोड ९५ रुपैयाँ बराबरको मुआब्जा सिफारिस गरिएको नेपाली सेनाका इन्जिनियर सेनानी भीमसेन थापाले बताए । उक्त क्षेत्रको ८० प्रतिशत जग्गा अधिग्रहण गरी आयोजनाको नाममा सारिएको छ । जसमा ४९ प्रतिशत जग्गा आयोजनाले अधिग्रहण गरेको जग्गाधनी पैसा बुझ्न नआएको अवस्था रहेको थापाले बताए ।
डिजाइनअनुसार फास्ट ट्रयाक निर्माण गर्दा सिकाली मन्दिर क्षेत्रको करिब २ मिटर भू–भाग छुनेछ । हाल उक्त क्षेत्रलाई नछोई फास्ट ट्रयाकको जिरो प्वाइन्ट खोकनालाई नै कायम रोखर नेपाली सेनाले फास्ट ट्रयाक निर्माण गरिरहेको छ ।

उपत्यका विकास प्राधिकरणले खोकना क्षेत्रमा बनाउने भनेको स्मार्ट सिटीका कारण भविष्यमा खोकनाको पहिचान थप संकटमा पर्ने डङ्गोलको दाबी छ । फास्ट ट्रयाकमा उत्पन्न विवाद समाधानका लागि मङ्गलबार संघीय संसदको विकास तथा प्रविधि समितिका सांसदहरु त्यहाँ पुगेका थिए ।

खोकनामै पुगेर त्यहाँका स्थानीयबासीसँग छलफल गर्दै सांसदहरुले विकास सबैका लागि हुनुपर्ने बताउँदै राज्यले यहाँको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । “यहाँको समस्या तपाईंहरुको मात्र होइन, यो राज्यकै समस्या हो । राज्य हाम्रै समाजको अङ्ग हो, बाहिर फलेको चिज होइन । खोकनाको पहिचान मासेर फास्ट ट्रयाक निर्माण गर्न लागिएको होइन,” समिति सभापति कल्याणी खड्काले ललितपुर महानगरपालिका २१ वडाध्यक्ष्य रवीन्द्र महर्जनसँग भनिन्, “स्मार्ट सिटीको योजना तत्काल नबेनेको अवस्थामा उक्त योजनासँग तपाईंहरु नआत्तिनूस् ।”

सभापति खड्काले कुनै पनि आयोजना सम्पन्न गर्नका लागि आयोजना र स्थनीय पक्षले केही सम्झौता गर्नुपर्नेसमेत बताइन् ।

प्रतिक्रिया दिनुहोस