माघ १६ : मानव ज्यान लिनेदेखि बालीनाली र घर क्षति गर्दै हात्ती अहिले प्रदेश २ का आठ जिल्लाको उत्तरी क्षेत्रका लागि ठूलो समस्या भएको छ ।
हात्तीबारे विद्यावारिधि गरिरहेको पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोककुमार रामअनुसार पछिल्लो १५ वर्षमा हात्तीको आक्रमणबाट प्रदेश २ का ८ वटै जिल्लामा गरी ७३ जनाको ज्यान गएको छ । यो अवधिमा कयौं घाइते भएका छन् । मृत्यु हुनेमध्ये सबभन्दा बढी सप्तरीबाट १५ छन् । पुस ४ गते पनि जंगली हात्तीको समूहले सप्तरीको कञ्चनरूप नगरपालिकामा एक महिलाको ज्यान लिएको थियो ।
यसैगरी बारामा १३, सिरहामा ११, पर्सा र रौतहटमा ८–८, धनुषामा १०, सर्लाहीमा ७ र महोत्तरीमा १ जनाको ज्यान हात्तीको आक्रमणबाट भएको छ । मुलुकभरिकै तथ्यांक हेर्ने हो भने १५ वर्षको अवधिमा हात्तीको आक्रमणबाट २ सय ४ जनाको ज्यान गएको छ । मुलुकभरिमै १५ वर्षको अवधिमा झापा र बर्दियामा सबभन्दा बढी ३७–३७ जनाको ज्यान गएको छ ।
यो अवधिमा हात्तीले सयौंवटा घर भत्काएर क्षति पुर्याएको छ भने करोडौं रुपैयाँ बराबरको बालीनाली क्षति गरेको छ । पछिल्लो एक वर्ष यता हात्तीको आक्रमणबाट मृत्यु हुनेलाई सरकारले क्षतिपूर्ति बापत १० लाख रुपैयाँ र घाइतेको उपचार खर्च दिने गरेको छ ।
प्रदेश २ का महेन्द्र राजमार्ग छेउछाउका बस्ती हात्तीको आतंकका कारण आतंकित छन् । जंगली हात्तीले दैनिक रूपमा घर भत्काउने, बालीनाली नष्ट गर्ने र सर्वसाधारणमाथि आक्रमण गर्ने खालका घटना दोहर्याउन थालेपछि स्थानीयहरू आतंकित भएका हुन् ।
सहायक संरक्षण अधिकृत रामका अनुसार नेपालका पूर्वी, मध्य र पश्चिमी भागमा गरी कुल २ सय ३४ वटा हात्तीले बितण्डा मच्चाउँदै आएको छ । जसमध्ये प्रदेश नम्बर २ मा ५४ वटा हात्ती रहेका छन् । पर्सामा मात्र ४३ वटा, सप्तरीमा ६ वटा र बारामा २ वटाको संख्यामा जंगली हात्ती ओहोरदोहोर गर्छन् । उनका अनुसार भारतको पश्चिम बंगाल र आसाम राज्यबाट झापा हुँदै नेपाल प्रवेश गर्ने हात्तीहरू सुनसरी–सप्तरी र उदयपुरमा फैलिएको कोसी टप्पु बन्यजन्तु आरक्ष हुँदै प्रदेश २ को पर्सासम्म पुग्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस