आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री ओलीले गरे पानी जहाज कार्यालयको उद्घाटन, रेल भन्दा पहिला पानी जहाज आउने घोषणा

AuthorAP Khabar२०७५ फागुन २, बिहिबार (५ साल अघि) ६५३ पाठक संख्या

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज कार्यालयको उद्घाटन गरेका छन् । विहिवार पानी जहाज कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल अब पानीजहाज युगमा प्रवेश गरिसकेको बताए ।ललितपुरको एकान्तकुनामा पानी जहाज कार्यालय स्थापना भएको छ । उनले कार्यालय उद्घाटन गर्दै नेपालमा रेल भन्दा पहिले पानी जहाज आउने बताए ।

‘गंगासम्म पानीजहाज आउन सक्छ भने नेपालमा पनि आउँछ,’ ओलीले भने, ‘पानीजहाज भन्नेबित्तिकै धेरै ठूलो पनि होइन । सानो डुंगाजस्तो पनि होइन । ठिक्कको पानीजहाज आउँछ । कतिपयले नेपालको नदीमा पानीजहाज चलाउन गहिराइ पुग्दैन भनेका छन् । पानीजहाजको आकार हेरेर होइन खोलाको क्षमताअनुसार पानीजहाज बनाउन सकिन्छ, चलाउन सकिन्छ । गहिराइ नचाहिने फिजिएको पानीजहाज बनाउन
सकिन्छ ।’

नेपाल अब भुपरिवेष्ठित राष्ट्र नरहेको उनको भनाइ छ। ‘जहाज त उडेका थिए। अब भुइँ नछोई पानीमाथिबाटै संसार घुम्न सकिन्छ,’ उनले भने । नेपालमा पानीजहाज ल्याउन भारतले गण्डक क्षेत्रमा विस्तृत अध्ययन प्रतिवेदन डिपिआर थालिसकेको उनले बताए ।

‘पानीजहाज ल्याउन पुलले समस्या ल्याउला भन्ने पनि छ । संसारमा पुल उचाल्न मिल्ने प्रविधि आइसक्यो, खोलाको वहाव परिवर्तन गर्न सकिन्छ,’ उनले भने, ‘पानीजहाज ल्याउन पुलले बाधा पुर्‍याउँदैन ।’

प्रधानमन्त्री ओलीले आफूसँग टिकट माग्दै मजाक गर्नेहरुले केही समयमै टिकट पाउने बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय ध्वजा बाहक पानी जहाज छिट्टै चल्ने भन्दै टिकट खोजेर जिस्काउनेहरुलाई केही दिन प्रतीक्षा गर्न आग्रहसमेत गरे ।

दुई चार जनालाई रोजगारी दिन कार्यालय स्थापना गरेको नभई सिंगो देशलाई अगाडि बढाउनका लागि पानीजहाज सञ्चालनमा ल्याउन लागेको उनको भनाई थियो । ‘यो कार्यालय दुई चार जनालाई रोजगारी दिनका लागि स्थापना गरिएको होइन’, उनले भने, ‘पानी जहाजको सञ्चालनबाट देश एक कदम अगाडि बढ्छ ।’

प्रधामन्त्री ओलीले कार्यालयको स्थापनासँगै नेपाल पानी जहाजको नयाँ युगमा प्रवेश गरेको दावी गरे । उनले भने, ‘कार्यालयको स्थापनासँगै नेपाल पानी जहाजको नयाँ युगमा प्रवेश गरेको छ ।

light nepal

प्रतिक्रिया दिनुहोस