आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हिरो महिला गोल्डकप : ‘अन्डरडग’ नेपाललाई ईतिहास रच्ने अवसर

AuthorAP Khabar२०७५ फागुन ३, शुक्रबार (५ साल अघि) ४४२ पाठक संख्या

‘भारत, म्यानमार र इरान हामीभन्दा निकै माथिल्लो स्तरका टीम हुन् तर, नेपाल अन्डरडग टीम हो ।’

भारतमा जारी हिरो महिला गोल्डकपको अघिल्लो दिन नेपाली महिला फुटबल टीमका मुख्य प्रशिक्षक हरि खड्काले भन्दै थिए । नभन्दै प्रतियोगितामा नेपाली टीमले आफूलाई अन्डरडग सावित गरेको छ ।

वरियतामा निकै माथि रहेका टीमहरुलाई पन्छाउँदै नेपालले म्यानमारविरुद्ध फाइनल खेल्ने पक्का गर्‍यो ।

प्रतियोगितामा नेपालको सुरुवात राम्रो भएको थिएन । बलियो म्यानमारसँग ३–० गोलअन्तरले पराजित भयो । तर, त्यसपछिका दुई खेलमा उत्कृष्ट पुनरागमन गर्‍यो । दक्षिण एसियाली महारथीको रुपमा रहेको चिरप्रतिद्वन्द्वी भारत र अर्को बलियो राष्ट्र इरानलाई चम्का दिन नेपाली चेलीहरु सफल भए ।

अब शुक्रबार हुने फाइनलमा नेपालले समूह चरणमा म्यानमारसित व्यहोरेको हारको बदला दिने अवसर समेत छ ।

म्यानमार दावेदार हो । फिफा बरियतामा म्यानमार ४४ औं स्थानमा छ भने नेपाल १०८ औं स्थानमा । आफूभन्दा ६४ स्थानमाथिको टीमसँगको भिडन्त नेपालको लागि फलामको च्यूरा हुनेछ ।

तर, यो इतिहास रच्ने अवसर पनि हो । प्रशिक्षक खड्काले भनेझैं ‘अन्डरडग’ नेपालले म्यानमारलाई पराजित गरेको खण्डमा नेपाली महिला टोलीले पहिलो अन्तर्राष्ट्रिय उपाधि उचाल्नेछ ।

लोकप्रिय खेल भए पनि विश्वस्तरमै महिला फुटबलको क्रेज निकै कम छ । नेपालमा पनि महिला फुटबललाई खासै महत्व दिइएको छैन । तर, हिरो महिला गोल्डकपमा पाएको सफलताले क्रेज बढाउँदै लैजान्छ ।

प्रतियोगितामा सबैभन्दा कमजोर आँकिएको नेपाल उपाधिबाट एक कदम टाढा छ । फुटबल विश्लेषक सञ्जिव मिश्र भन्छन्, ‘मैदानमा फिफा वरियताले खासै असर पार्दैन, उपाधि नेपालले जित्न सक्छ ।’

आजको खेलमा नेपाललाई भन्दा म्यानमार दवावमा रहने उनको आँकलन छ । ‘बलियो टीमलाई नै जित्ने दबाव हुन्छ । नेपाली टीमलाई त्यस्तो दवाव छैन, त्यसैले खुलेर खेल्नेछन्,’ उनले थपे ।

त्यसो त ओलम्पिकअन्तर्गत महिला फुटबलको एसिया छनोटमा नेपालले म्यानमारसँग १–१ गोलको बराबरी खेलेको थियो । त्यसकारण म्यानमारले नेपाललाई कमजोर आँक्न भने सक्ने छैन । खासगरी नेपालकी प्रमुख स्ट्राइकर सावित्रा भण्डारीसित म्यानमारका डिफेन्डरहरु सतर्क हुनुपर्नेछ । उनी यो प्रतियोगिताकै सर्वाधिक गोलकर्ता हुन् । उनले भारतविरुद्ध दुई र इरानविरुद्ध दुई गरी चार गोल गरिसकेकी छन् । नेपालले उपाधि जित्न फाइनलमा पनि सावित्राको जादु चल्नु आवश्यक छ ।

नेपाल यसरी पुग्यो फाइनलमा

आफ्नो पहिलो खेलमा नै म्यानमारसँग ३–० गोलको हारले नेपाली टीम निराश बन्यो । तर, हरेश खाएन । शोकलाई शक्तिमा बदल्दै बलियो टीम भारतमाथि नेपाल कडा रुपमा प्रस्तुत भयो । यो खेल नेपालको लागि निकै महत्वपूर्ण थियो भने भारतलाई पराजित गर्नु चानचुने कुरा थिएन ।

नेपाली महिला फुटबलकी ‘साम्बा’ अर्थात सावित्राले खेलको पाँचौ मिनेटमा भारतविरुद्ध नेपालका लागि गोल गर्दै अग्रता दिलाइन् ।

सुरुवाती समयमै दबावमा आएको भारतमाथि सातौ मिनेटमा अर्को गोल थप्दै सावित्राले नेपालको अग्रतालाई दोब्बर पारिन् ।

पहिलो हाफमा नै दोब्बर अग्रता बनाएको नेपाल दोस्रो हाफमा भने रक्षात्मक रणनीति अपनाउँदै मैदानमा उत्रियो । नेपालको रणनीति त सफल भयो तर एक गोल भने खान पुग्यो । खेलको ८४ औं मिनेटमा रतन बालादेवीले फ्रिकिकबाट गोल गर्दै भारतलाई २–१ गोलको स्थितिमा ल्याएकी थिइन् । बाँकी समयमा नेपालले आफ्नो रक्षापंक्तिलाई बलियो बनायो र खेल आफ्नो पोल्टामा पार्दै इतिहास कोर्‍यो ।

अहिलेसम्म भारतलाई दक्षिण एसियामा कुनै पनि टीमले पराजित गर्न सकेको थिएन । जितपछि मुख्य प्रशिक्षक हरि खड्काले भनेका थिए, ‘भारतलाई पराजित गर्नु नेपालको सपना थियो । त्यो पूरा भएको छ ।’

फाइनल प्रवेशका लागि आफ्नो अन्तिम खेलमा इरानलाई पराजित गरेर मात्रै नेपाललाई पुग्ने थिएन । अर्को खेलमा म्यानमारसँग भारत कि त बराबरी कि त हार्नुपर्ने अवस्था थियो ।

पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्दै इरानमाथि ३–० गोलको प्रभावकारी जित निकाल्यो । यो निकै गर्विलो जित हो । यो खेलमा सावित्राले नै दुई गोल गर्दा एक गोल अनिता बस्नेतको नाममा रह्यो ।

दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनाएको नेपाल अझै ढुक्क हुने अवस्था थिएन । राउण्ड रोविनको अन्तिम खेलमा भारत म्यानमारसँग हार्नु या बराबरी हुनुले नेपालको लागि भने फाइनलको ढोका खुल्ने थियो । नभन्दै म्यानमारसँग भारत २–० गोलअन्तरले पराजित हुदै प्रतियोगिताबाट बाहिरियो भने नेपाल र म्यानमार फाइनलमा पुगे ।

साफ च्याम्पियनको पूर्वाभ्यास ?

सहभागी टीमहरुको स्तर हेर्दा यो प्रतियोगिताको उपाधि नेपालका लागि गर्विलो हुनेछ । उपाधि जित्न नसके पनि नेपाली टोलीले मन खुम्च्याउनुपर्ने छैन ।

यति मात्र होइन, नेपाल महिला साफ च्याम्पियनसीपको उपाधि उचाल्न आतुर छ । पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल नेपालकै विराटनगरमा मार्चमा हुँदैछ । आफ्नै घरेलु मैदानमा हुने भएकाले पनि नेपालका लागि यो प्रतियोगिता महत्वपूर्ण छ ।

त्यसो त, यसअघिका संस्करणमा पनि नेपालको लक्ष्य उपाधि नै थियो । तर, बाधक भारत हुने गरेको थियो । नेपालले पहिलोपटक काठमाडौंबाहिर गर्न लागेको च्याम्पियनसीपमा समूह ए मा आयोजक नेपालसँगै बंगलादेश, पाकिस्तान र भुटान छन् भने समूह बीमा भने भारत, माल्दिभ्स र श्रीलंका छन् ।

लामो समयदेखि उपाधि उचाल्ने लक्ष्य बनाएको नेपालको सम्भावना कतिको छ ? प्रशिक्षक खड्काकै भनाइलाई सापटी लिने हो भने नेपाल यो पटकको साफ च्याम्पियनसिपको उपाधिका लागि प्रमुख दावेदार हो ।

साफ च्याम्पियनसिपको चौथो संस्करण सकिदासम्म नेपाल तीनपटक उपविजेता बन्दा भारत हरेकपटक विजेता बनेको छ । तर, पछिल्लो समयमा नेपालको खेल सुधारिएको प्रशिक्षक खड्का बताउँछन् । उनी भन्छन्, ‘हिरो महिला गोल्डकपलाई हामीले साफ च्याम्पियनसिपको तयारीको रुपमा लिएका छौं । टीममा देखिएको कमिकमजोरी सुधार्दै साफमा उपाधि जित्ने नै लक्ष्य हाम्रो हो ।’

भारतको पनि लक्ष्य च्याम्पियन बन्ने नै हो । त्यसकारण भारत र नेपालको कडा टक्कर हुने पक्का जस्तै छ । भारतलाई २–१ गोलअन्तरले पराजित गरेको नेपालको मनोबल उच्च हुने छ ।

नेपाल साफ च्याम्पियन बन्न सक्ने टीम भएको भन्दै लिग कमिटिका निर्देशक मिश्र भन्छन्, ‘साफ च्याम्पियनसिपको तयारीकै रुपमा नेपालले यो प्रतियोगितालाई लिएको छ । नेपाली महिला फुटबलले पुरुष फुटबलको भन्दा बढि सम्भावना देखाएको छ । तर नेपालले जुन किसिमको एक्सपोजर पाएको छ, त्यो अझै पर्याप्त छैन ।’

online khabar

प्रतिक्रिया दिनुहोस