आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शौचालयमा नाति हुर्काउँदै जमुना

AuthorAP Khabar२०७५ फागुन ६, सोमबार (५ साल अघि) १८५ पाठक संख्या

बेनी नगरपालिका–२ तमानेकी ७५ वर्षीया जमुना सुनार शौचालयमा बसेर दुई नातिलाई हुर्काइ–पढाइ गर्दै आएकी छिन् । सुकुमबासी परिवारकी जमुनासँग बस्ने घर छैन । दुई छोरालाई आफ्नो जिम्मा लगाएर उनका कान्छा छोराबुहारी बेखबर भएपछि वृद्धा जमुनाको काँधमा नौ र सात वर्षीय नातिहरूको पालनपोषणको जिम्मेवारी आइपरेको हो । गत मंसिरदेखि बगरफाँटको सरस्वती आधारभूत विद्यालयको प्रयोगविहीन शौचालय उनीहरूको घर बनेको छ ।

 दुई वर्षदेखि हेरचाह
कान्छा छोरा राजु दोस्रो बिहे गरेर बेखबर भएपछि नौ वर्षीय एनस र सात वर्षीय सिमसन दुई नातिलाई दुई वर्षदेखि आफैँले हेर्ने गरेको जमुनाले बताइन् । बाबा र आमाले नै दोस्रो विवाह गरेर छोराहरूलाई अलपत्र पारेपछि नातिहरूको हुर्काइ–पढाइको जिम्मा आफ्नो काँधमा आएको उनकोे भनाइ छ । ‘पहिले बालुवा चाल्ने काम गर्थें, अहिले काम गर्न सक्ने अवस्था पनि छैन, आम्दानी नभएपछि कोठा भाडा तिर्न सक्ने अवस्था भएन, भाडा तिर्न नसक्ने भएपछि अहिले विद्यालयमै वास मागेर बसेका छौँ,’ सुनारले भनिन् ।

बस्ने घर नभएपछि चारैतिर भाैँतारिएकी वृद्धा सुनारलाई विद्यालयको रेखदेख पनि हुने र सुनार परिवारलाई राहत हुने भएपछि विद्यालयले प्रयोगमा नआएको शौचालय वास बस्ने प्रयोजनका लागि दिएको थियो । चारकोठे भवनको बीचको एक शौचालय बिग्रिएकाले प्रयोगमा छैन भने अर्को कोठा उनीहरूले शौचालयको रूपमा प्रयोग गरेका छन् ।

अन्य दुई कोठामध्ये एउटामा खाना पकाउने र अर्कोमा सुत्ने गरेको सुनारले बताइन् । छेउमै रहेको अर्को नियमित प्रयोग गर्ने शौचालयबाट दुर्गन्ध आउने गरेको छ । सामाजिक सुरक्षाभत्ताबाहेक सुनारको आम्दानीको अरू कुनै स्रोत छैन । विद्यालयमा पढ्दै आएका बालक र उनकी हजुरआमा कोठा भाडा तिर्न नसकेर वासको खोजीमा आएपछि शौचालय भवनमा वास बस्ने व्यवस्था मिलाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले जानकारी दिए ।

 चिसोबाट बच्न बोराको बार
म्याग्दी खोलाको नजिकै रहेको शौचालयको झ्याललाई बोराले टालिएको छ । हिउँदयाममा चिसो सिरेटो आउने भएकाले नातिहरूलाई चिसोबाट जोगाउन झ्याल र पानी चुहिने ठाउँमा बोराले टालेको उनले बताइन् । उनीहरू बस्ने कोठाको छानो प्वाल परेकाले पानी चुहिन्छ । चिसोबाट बच्न भुइँमा विद्यालयले दिएको काठका फलेक राखेर विस्तरा बनाइएको छ । ‘बिहान–बेलुका के खाने ठेगान छैन, गाउँलेसँग मागेर यिनीहरूको भोक मेटाउने गरेकी छु, शरीरमा न्यानो बनाउने थाउनाथरा पनि पर्याप्त छैन,’ सुनारले भनिन् । बिजुलीको सुविधा नभएकाले कक्षा दुईमा पढ्ने यनस र बालकक्षामा पढ्ने सिमसन राति टुकी बालेर पढ्ने गर्छन् ।

naya patrika

प्रतिक्रिया दिनुहोस