आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

छिमेकी र चिनजानकैबाट बलात्कार

AuthorAP Khabar२०७५ फागुन ८, बुधबार (५ साल अघि) ४१८ पाठक संख्या

बलात्कार प्रायः छिमेकी र चिनजानकै व्यक्तिबाटै हुने गरेको पाइएको छ । नजिकका व्यक्तिबाट नै बलात्कार हुने गरेको र बालिका बढी पीडित भएको प्रहरीको तथ्यांक देखाएको छ। ३ वर्ष अवधिमा १६ वर्षभन्दा मुनिका बालिका बढी बलात्कार भएको पाइएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।

उमेर समूहका आधारमा तीन आवमा १६ वर्षभन्दा मुनिका १४, १६ वर्षदेखि २५ वर्ष उमेर समूहका किशोरी ८, २५ वर्षदेखि ३५ वर्ष उमेर समूहका ५ र ४५ वर्षभन्दा माथिका छ बलात्कृत भएको उहाँको भनाइ छ । त्यसमा बालिका बढी पीडित भएका छन् ।

प्रहरी उपरीक्षक सिंहका अनुसार तीन वर्षको अवधिमा छिमेकीबाट १८, चिनजानका व्यक्तिबाट १५ र अपरिचित व्यक्तिबाट दुई यस्ता घटना भएका छन् । त्यसमा निरक्षर व्यक्तिबाट ६, सामान्य लेखपढ गर्न सक्ने व्यक्तिबाट १९, एसइई पास गरेकाबाट ४ र त्यो भन्दाबढी शैक्षिक योग्यता भएका व्यक्तिबाट १ घटना भएको छ । जबरजस्ती करणीका घटना न्यूनीकरणका लागि आवश्यक जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै प्रहरी उपरीक्षक सिंहले त्यस्ता कार्यक्रमतर्फ प्रहरी अग्रसर हुने बताउनुभयो ।

बलात्कार हुनेमा विवाहितभन्दा पनि अविवाहितको संख्या धेरै छ । ‘तीन वर्षको तथ्याङ्क हेर्दा पनि विवाहित ११ र अविवाहित २७ बलात्कारको सिकार भएको पाइयो’ उहाँले भन्नुभयो, आव २०७२, ७३ मा १५, २०७३, ७४ मा १२ र चालू आवको ७ महिना ११ बलात्कार भएका छन् ।

जबरजस्ती करणीका घटना बिहानकै समयमा बढी हुने गरेको र महीनाको हिसाबले पनि असोज र कात्तिकमा यस्ता घटना बढी रहेको उहाँको भनाइ छ । प्रहरी एक्लैले यस्ता घटना न्यूनीकरण गर्न नसक्ने भन्दै उहाँले प्रहरीले ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत यस्ता घटना न्यूनीकरण गर्ने लक्ष्य रहेको बताउनुभयो ।

बलात्कारका घटना न्यूनीकरणका लागि प्रहरीले सिन्धुलीका सबै विद्यालय र समुदायमा जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम गर्ने लक्ष्य रहेको प्रहरी उपरीक्षक सिंहको भनाइ छ । ‘कसरी कार्यक्रम सञ्चालन गर्ने भन्नेबारे अवधारणा बनाउँदैछौँ, बलात्कारका घटनाबाट धेरै बालिका पीडित भएको पाइयो’ उहाँले भन्ुभयो, ‘सबैभन्दा पहिला विद्यालयस्तरमा र समुदायस्तरमा कार्यक्रम गरी जबरजस्ती करणीलाई निरुत्साहित बनाई सभ्य समाज बनाउन प्रेरित गर्दै यससम्बन्धीका कानूनी प्रक्रियाका बारेमा समेत जानकारी गराउनेछौ ।’

प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भएको र यसको अवधारणाले पनि अपराधमुक्त समाज बनाउन सहयोग पुग्ने भएकाले समुदायका साना बालबालिकादेखि सबैसँग सहकार्य गरिने उहाँको भनाइ छ । बलात्कारजन्य घटना न्यूनीकरण गर्न विशेष अभियान सञ्चालन हुने र यसमा जिल्लामा क्रियाशील सामाजिक सङ्घसंस्थासँग पनि साझेदारी गरिने उहाँले बताउनुभयो ।

समुदायमा जनचेतनाको कमी, पुरातन सोच तथा घर परिवारका अभिावकको रिसइवीका कारण बालिका बलात्कारको सिकार पर्ने गरेको उहाँले बताउनुभयो । ‘विश्वासिला व्यक्ति, छिमेकी तथा चिनजानका व्यक्तिबाटै बलात्कारका घटना बढिरहेकाले प्रहरी यसप्रति अन्यन्तै संवेदनशील छ’ उहाँले भन्नुभयो, ‘अपराधीलाई कानूनी कारवाही गर्ने पाटो एकातिर छँदैछ । त्यस सँगसँगै अपराधजन्य घटना नघटाउने सवालमा पनि प्रहरी जिम्मेवार भएकाले सबैको सहयोगमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सोचका साथ अघि बढेको छु ।’

janta samachar

प्रतिक्रिया दिनुहोस