आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

क्यान्सर रोगीलाई आवश्यक पर्ने झोला उत्पादन नहुँदा समस्या

AuthorAP Khabar२०७५ फागुन ९, बिहिबार (५ साल अघि) ३३० पाठक संख्या

मूत्रनली र मलद्वारको क्यान्सरको शल्यक्रियापछि धेरै बिरामीलाई प्रयोग गर्नुपर्ने प्लाष्टिकको झोला (कोलोेस्टोमी र युरोस्टोमी ब्याग) नेपालमा उत्पादन नहुँदा महँगो मूल्यमा खरीद गर्नुपर्ने बाध्यता रहेको छ ।

दुई क्यान्सरको शल्यक्रियापछि उपचार गराइरहेका देशभरका बिरामीको बुधबार यहाँ सम्पन्न भेलामा उनीहरुले स्वदेशमा झोला उत्पादन गर्न माग गरेका हुन् । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उपनिर्देशक एवं मूत्ररोग विशेषज्ञ डा निर्मल लामिछानेका अनुसार एउटा झोला खरीद गर्न बिरामीले रु एक हजार ५०० हाराहारी तिर्नुपर्ने हुन्छ । अस्पतालले दाता खोजेर स्टोमा सेवा समाजमार्फत न्यून शुल्कमा दिँदै आएको भए पनि सधैँ सबैले पाउने अवस्था छैन ।

लामिछाने स्वदेशमै झोला उत्पादन गर्न सके बिरामीले सस्तो मूल्यमा सहजरूपमा पाउन सक्ने बताउनुहुन्छ । सबै बिरामीको अपेक्षा रहेको भन्दै उहाँले मूत्रथैलीको शल्यक्रिया गरेकामध्ये ३० प्रतिशत हाराहारीलाई र मलद्वारको शल्यक्रिया गरेकामध्ये २० प्रतिशतलाई यो झोला अनिवार्य हुने बताउनुभयो । दिसापिसाबको प्राकृतिक बाटो परिवर्तन गरी कृत्रिमरूपमा दिसापिसाब त्याग गर्न झोला प्रयोग गरिन्छ ।

एउटा बिरामीलाई न्यूनतम सात दिनमा झोला फेर्नु पर्दछ । जटिल समस्या देखिएमा दैनिकजसो प्रयोग गर्नुपर्ने बाध्यता हुने गरेको छ । कोलोेस्टोमी र युरोस्टोमी झोला अहिले नेपालमा उत्पादन नहुँदा र समय–समयमा नपाउँदा बिरामीलाई समस्या पर्ने गरेको समाजका सचिव मीनबहादुर अछामेले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले अस्पतालले वितरण गरिरहेको छ । तर अस्पतालमा नभएको समयमा बिरामीको शरीर गन्हाउने र ‘एलर्जी’ हुनेसम्मका समस्या देखा पर्दछ ।”

अस्पतालले अहिले एउटा झोलाको रु २० का दरले वितरण गर्दै आएको छ । अस्पतालमा नपाउँदा बिरामीले महँगोमा खरीद गर्नुपरेको भन्दै अछामेले सबैको पहलमा नेपालमै झोला उत्पादन गर्नुपर्ने बताउनुभयो ।

झापाबाट झोला लिन क्यान्सर अस्पताल आइपुग्नुभएका ५९ वर्षीय डोरबहादुर खत्रीले सर्वसुलभरूपमा नपाउँदा लामो यात्रा गरेर अस्पतालमा आउन बाध्य भएको बताउनुभयो । बाहिर किन्दा महँगो पर्ने भएकाले नियमितरूपमा आएर झोला लैजाने गरेको उहाँले बताउनुभयो । यहीँ उत्पादन भए सबैतिर पाइने बताउँदै उहाँले नेपालमा उत्पादन नहुँदा बिरामीले दुःख पाएको गुनासो गर्नुभयो ।

स्टोमा सेवा समाजका अध्यक्ष देवीलाल ढकालले राज्यले यस्ता बिरामीको सेवाका लागि झोला नेपालमै उत्पादन गर्नु आवश्यक रहेको बताउनुभयो । अहिले यो झोला प्रयोग गर्ने ६७० रहेको बताउँदै उहाँले नेपालभर छरिएका बिरामीलाई भरतपुर आएर सेवा लिन असहज भएको बताउनुभयो । दातृ संस्थाको भरमा झोला प्रयोग गर्नुपरेकामा दुःख व्यक्त गर्दै उहाँले भन्नुभयो, “कुनै समय झोला आउन ढिला भयो भने हामीलाई सङ्कट आइपर्छ । नेपालमै उत्पादन भएमा सहजरूपमा पाउन सकिन्थ्यो ।”

अहिले यो झोला प्रयोग गर्नेमा ५१७ मलद्वार र १५३ मूत्रनलीका बिरामी रहेका छन् । अस्टोमेट एशोसिएसन अमेरिकाले वार्षिक रु चार करोड बराबरको झोला सहयोग गर्दै आएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले यस्ता बिरामीको उपचारका लागि अस्पतालले नियमित बहिरङ्ग विभाग सञ्चालनमा ल्याउने बताउनुभयो । आर्थिक अवस्था कमजोर रहेका बिरामीलाई दाताले दिएको झोला प्रयोग गर्न दिएर सक्षमले खरीद गरिदिएमा सहज हुने उहाँले बताउनुभयो । नेपालमा हुने क्यान्सर रोगमध्ये मलद्वारको क्यान्सर छैटौँमा पर्दछ भने पिसाब थैलीको सातौँमा पर्दछ ।

narayanionline

प्रतिक्रिया दिनुहोस