आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

संसदीय समितिले माग्यो अन्सारीका बाआमाको नागरिकता

AuthorAP Khabar२०७५ फागुन २२, बुधबार (५ साल अघि) ३७२ पाठक संख्या

संसद्को सुनुवाइ समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम मियाँ अन्सारीका बाआमाको नागरिकताको विवरणमाथि पनि छानबिन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्राप्त अन्सारीको नागरिकताको विवरण ढड्डामा दुई प्रकारको जन्ममिति पाइएको र वंशजको नागरिकता भएकाले बाआमाको नागरिकतामार्फत थप छानबिन गर्न लागेको हो । समितिले जिप्रकासँग विवरण माग गरेको छ ।

संवैधानिक परिषद्ले ६ माघमा प्रस्ताव गरेका पाँच आयोगका अध्यक्षमा चारजनाको नाम मंगलबार अनुमोदन गरेकोमा सार्वजनिक सुनुवाइ समितिले अन्सारीको सम्बन्धमा निर्णय लम्ब्याएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगमा बालानन्द पौडेल, समावेशी आयोगमा शान्तराज सुवेदी, मधेसी आयोगमा विजयकुमार दत्त र थारू आयोगमा विष्णुप्रसाद चौधरीलाई अनुमोदन गरेको छ ।

सुनुवाइ समितिमा अन्सारीविरुद्ध नक्कली नागरिकता र शैक्षिक प्रमाणपत्र, राजनीतिक आबद्धतालगायत विषयमा चारवटा उजुरी परेका थिए । मुस्लिम आयोग ऐन, २०७४ को दफा ३ मा अध्यक्षको योग्यतासम्बन्धी व्यवस्थामा ‘नियुक्त हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको व्यक्ति अध्यक्षका लागि योग्य हुने’ उल्लेख छ । ६ माघमा अन्सारी आयोग अध्यक्षका लागि सिफारिस हुँदासम्म नेकपा केन्द्रीय सदस्य नै थिए । उनी गत निर्वाचनमा तत्कालीन एमालेका समानुपातिकतर्फका उम्मेदवार हुन् ।

यस्तै २२ पुस ०५५ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएको नागरिकतामा उनको जन्ममिति २४ असोज ०३० लेखिएको छ । ठेगाना काठमाडौं महानगरपालिका वडा नं. ९ लेखिएको छ । तर, जिल्ला प्रशासन कार्यालयको ढड्डामा उनको जन्ममिति २४ असोज ०३७ र ठेगाना काठमाडौं महानगरपालिका वडा नं. १९ उल्लेख छ । यो जन्ममितिअनुसार उनको हालको उमेर ३८ वर्ष हुन्छ । तर, ऐनमा आयोगको अध्यक्ष बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ ।

विवादित अन्सारीलाई सुनुवाइ समितिका सत्तारुढ नेकपाका सांसद योगेश भट्टराई र सुरेन्द्र पाण्डेले मंगलबार स्वेच्छाले पछि हट्न सुझाब दिएका थिए । तर, अन्सारीले आफूमाथि लागेका आरोपको छानबिन गरेर पुष्टि गर्न चुनौती दिए ।

बिहीबारसम्म निर्णय नगरे स्वतः आयोग अध्यक्ष बन्ने बाटो खुल्ने 
अन्सारीलाई मुस्लिम आयोग अध्यक्षका लागि सिफारिस गरेको पत्र संसदीय सुनुवाइ समितिलाई ७ माघमा प्राप्त भएको थियो । यो आधारमा २३ फागुन (बिहीबार) समितिले पत्र पाएको ४५ दिन पुग्छ । संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावलीको दफा २६ को उपदफा २ अनुसार सुनुवाइ समितिमा नामावली प्राप्त भएको मितिले ४५ दिनभित्र सुनुवाइ नगरे स्वतः नियुक्तको बाटो खुल्नेछ ।

नियमावलीअनुसार बिहीबारसम्म समितिले अन्सारीको नाम अनुमोदन या अस्वीकृत भएको जानकारी संवैधानिक परिषद्लाई दिइसक्नुपर्छ । जब कि समितिले उनका बाआमाको नागरिकताको विवरण माग मिति तोकेर गरेको छैन । विवरण मागको पत्र पनि बुधबार मात्रै पठाउने तयारी संसद् सचिवालयको छ । यी आधारमा बिहीबारसम्म निर्णय लिन समिति असक्षम हुने आकलन गरिएको छ । ‘४५ दिन पुग्न केही दिन बाँकी छ । समितिले निर्णय नगरे अन्सारी स्वतः अध्यक्ष नियुक्त हुने बाटो खुल्नेछ,’ समितिका एक सदस्यले भने ।

यस्तो छ संसदीय सुनुवाइ समितिमा अंकगणित 
१५ सदस्यीय सुनुवाइ समितिमा ९ जना सत्तारुढ नेकपाका सांसद छन् । ४ जना कांग्रेस तथा फोरम र राजपाका एक–एक छन् । संसदीय सुनुवाइ समितिका सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट मात्रै अनुमोदन वा अस्वीकृत हुन सक्ने नियमावलीमा व्यवस्था छ । प्रमुख विपक्षी दलका नेतालाई जानकारी नदिई संवैधानिक परिषद्ले विभिन्न आयोगमा अध्यक्षको सिफारिस गरेको भन्दै कांग्रेस सांसदले पाँचै संवैधानिक आयोगमा अध्यक्षको सुनुवाइ प्रक्रिया नै बहिष्कार गर्दै आएका छन् । त्यसबाहेक समितिमा रहेका सबै सदस्यको एकमत आवश्यक छ । राजपाबाट समितिमा रहेका लक्ष्मणलाल कर्ण सभापति भएकाले उनले बराबरी मत भएको अवस्थामा बाहेक मत जाहेर गर्न पाउँदैनन् । यसैले फोरमका राजेन्द्र श्रेष्ठ निर्णायक मानिन्छन् । ‘सत्तारुढ नेकपाले मात्रै चाहेर अन्सारी अनुमोदन हुने स्थिति छैन । उनलाई फाल्न वा ल्याउन हामीलाई १० मत आवश्यक पर्छ । नेकपाबाट ९ जना मात्रै छौँ,’ नेकपाका एक नेताले भने ।

स्वेच्छाले पछि हट्न नेकपा सांसदको सुझाब आफूमाथिको आरोप पुष्टि गर्न अन्सारीको चुनौती
योगेश भट्टराई : काठमाडौं जिल्ला प्रशासन कार्यालयले हामीलाई पठाएको अभिलेखमा तपाईंको जन्ममिति र ठेगाना अलग–अलग छ । नागरिकतामा कुनै अधिकारीको नाम र हस्ताक्षर छैन । ०५५ मा नागरिकता लिँदा सिडिओ को थियो ? सन् २००४ मा ब्याचलर्स गर्नुभयो, तर इक्युभ्यालेन्ट २०१८ मा लिनुभयो । तपाईं गलत हुनुहुन्छ । स्वेच्छाले पछाडि हट्नुस् मेरो सुझाब छ । कानुनी रूपमा बाहिर निस्किनुपर्ने भयो भने तपाईंका लागि जिन्दगीका सबै बाटो बन्द हुन्छ । के गर्नुहुन्छ ? 
अन्सारी ः मेराविरुद्ध परेका चारवटा उजुरीको भाषा उस्तै छ । फर्जी मेरो होइन, उजुरीहरू फर्जी छन् । उजुरी दिने नामका व्यक्ति नै छैनन् । १० जनाको सामूहिक उजुरीमा पनि डुब्लिकेट नाम र सिग्नेचर छ । चारवटा उजुरी परेको र अध्यक्षका लागि योग्य नभएको भन्ने देखाउन उजुरी दिएको पाइन्छ । उजुरीकर्ताले नेपाली नागरिक होइन भन्ने पनि भने । नागरिकता मैले ०५५ मा बनाएँ । त्यसको ढड्डामा जन्ममिति ०३० नै उल्लेख छ । नागरिकता बनेको १५ दिनपछि लाइसेन्स बनाएँ । मतदाता परिचयपत्र पनि ०३० कै जन्ममितिमा छ । सबै शैक्षिक प्रमाणपत्रमा ०३० कै छ । ०६६ मा प्रतिलिपि निकाल्दा ०३० कै छ । सिडियो सा’बले दिनभरि नागरिकता लिनुभयो । सिग्नेचर गलत वा सही भन्नेबारे भेरिफाई गरेर मलाई दिँदै नागरिकतामा जन्ममितिमा कुनै त्रुटि छैन भन्नुभयो । प्रतिलिपिमा पनि ०३० कै हुँदा मानवीय त्रुटि हुन सक्ने भन्नुभयो । मेरो प्रतिलिपिमा सिग्नेचर मात्रै छ । सिग्नेचर गर्ने अधिकारीको नाम छैन भन्दा ‘द’ लेखेको अर्थात् दर्ता भइसकेकाले त्यसवेला सिग्नेचर गर्नेको नाम राखे पनि हुन्छ, नराखे पनि हुन्छ भन्नुभयो । सिग्नेचर गर्ने अथेन्टिक पर्सन अहिले कुनै ठाउँको सिडिओ हुनुहुन्छ । काठमाडौंका सिडिओले कुरा गर्दा प्रतिलिपि हामी बिहान दिन्छौँ, ढड्डामा बेलुका चढाउँछौँ, ढड्डामा लेख्दा गल्ती भयो होला भन्नुभयो । यी सबै आधारले ममाथि उठेका प्रश्नमा मेरो कुनै त्रुटि छैन ।
जन्मस्थान परिवर्तनको कुरा होइन । वडानम्बर १९ नै हो । प्रतिलिपि लिँदा म वडानम्बर ९ मा बस्थेँ । अहिले पनि ९ मै बस्छु । त्यसकारण ९ लेखिएको हो । जन्म १९ नम्बर वडामा भएको हो ।
मेरो दाइ र बुबाको नागरिकता वीरगन्जबाट जारी भएको हो । आवश्यक परे सुनुवाइ समितिले छानबिन गरोस् । समिम अन्सारी गलत व्यक्ति हो, भारतीय नागरिक हो समेत भनियो । सम्बन्धित ठाउँमा खण्डन गर्छु भनेर बसेँ । मिडियाबाजी गर्दिनँ भनेर बसेँ ।
०७५ माघ ६ गते संवैधानिक परिषद्बाट प्रस्तावित भएँ । परिषद्बाट ७ गते शैक्षिक प्रमाणपत्र ल्याउनुस् भन्ने खबर आयो । मैले सबै सर्टिफिकेट जम्मा गरेँ । त्यो बायोडाटामा पनि नेकपाको केन्द्रीय सदस्य नरहेको भन्ने उल्लेख छ । मैले तीनै तहको सर्टिफिकेट दिएको थिएँ । संवैधानिक परिषद्बाट स्नातक तहको मात्र सर्टिफिकेट पठाइएको रहेछ । मेरो कहीँबाट त्रुटि छैन । अझै कुनै शंकामा समिति छ भने अझै छानबिन होस् । केही माननीयज्यूहरूले मलाई ब्याक हुनुस् भनेर सुझाब दिनुभयो । म कुनै पनि हालतमा ब्याक हुन्न । मेरो नागरिकता, शैक्षिक प्रमाणपत्रमा कुनै त्रुटि छैन । यहाँहरूले ब्याक गराए छुट्टै कुरा हो । म कुनै पनि प्रमाणमा कमी छैन ।
सुरेन्द्र पाण्डे : शैक्षिक प्रमाणपत्र हेर्दा तेज तरार विद्यार्थी देखिनुहुन्छ । काठमाडौं नपढेर भारत जानुको कुनै सम्बन्ध के थियो ?
अन्सारी:म काठमाडौंमा भएर पनि किन इन्डियामा पढ्न गएको भन्ने गरियो । झन्डै २५ प्रतिशत नेपाली नागरिक बाहिर पढेर आएको अवगत नै छ । समिम अन्सारी मात्रै भारतमा पढ्ने जन्मिएको रहेछ कि भन्ने गरी प्रचार भयो । गलत आरोप लाग्दा दुःखी बनाएको छ, तर हिम्मत हारेको छैन । दोषी भए कानुनको हरेक सजाय भोग्न तयार छु ।

naya patrika

प्रतिक्रिया दिनुहोस