आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्थलगत अध्ययनपछि प्राविधिक टोलीको निष्कर्ष : नेपालमा पानीजहाज तत्काल कठिन

AuthorAP Khabar२०७५ फागुन २४, शुक्रबार (५ साल अघि) ३०८ पाठक संख्या

जल यातायात सञ्चालनका लागि स्थलगत सम्भाव्यता अध्ययनले नेपालभित्रै तत्काल पानीजहाज आउन कठिन देखाएको छ । नेपाल र भारतका विज्ञ प्राविधिक टोलीले संयुक्त रूपमा नारायणी र कोसी नदीमा गरेको स्थलगत सम्भाव्यता अध्ययनपछि अधिकारीहरू यो निष्कर्षमा पुगेका हुन् । ‘खासगरी कोसी र गण्डक ब्यारेजभन्दा मुनि पानीको सतह न्यून भएका कारण नेपालभित्र तत्काल पानीजहाज सञ्चालन असम्भव देखिन्छ,’ स्थलगत अध्ययनमा सहभागी एक सदस्यले भने ।

कोसी र गण्डक ब्यारेजबाट अधिकांश पानी नहर हुँदै भारततर्फ नै लगिएको छ । त्यसकारण हिउँदमा त्यस क्षेत्रमा पानीको सतह एकदमै कम हुने गरेको छ । तर, पानीजहाजका लागि नदीमा पानी छाड्न भारत तयार नभएकाले मालबाहक पानीजहाज ल्याउन तत्काल सम्भव नदेखिएको उनको भनाइ छ । ‘पानीको सतह बढ्ने भएकाले बर्खामा भने पानीजहाज ल्याउन सकिएला,’ उनले भने, ‘तर, त्यो दिगो होइन ।’

भारतले हालै गण्डक र गंगाको संगमस्थल हाजीपुरसम्म ३ सय किलोमिटर जलमार्ग निर्माणको थालनी गरेको थियो । बघा नेपाल–भारत सिमानाको त्रिवेणीघाटको नजिक पर्छ । त्यो जलमार्गमा पनि ठूलो माल ढुवानीका लागि नभएर स्थानीय कृषिउपजलाई बजार पहुँच दिलाउने प्रयोजनका लागि भारतले निर्माण गरिरहेको ती सदस्यले बताए । त्यसो हुँदा अन्तर्राष्ट्रिय व्यापारमा प्रयोग हुने कार्गो त्यसमार्फत आउने सम्भावना कम रहेको उनको भनाइ थियो ।

भारतको टर्मिनल र रुट प्रयोगबारे छलफल 
तत्काल नेपालसम्मै मालबाहक पानीजहाज ल्याउन नसकिने भएपछि भारतले गंगा नदीमा निर्माण गरेका मल्टिमोडल टर्मिनलमध्ये नेपालका लागि कुन उपयुक्त हुन्छ भन्नेबारे बैठकमा छलफल भइरहेको कार्यदलका एक सदस्यले जानकारी दिए । भारतमा पटना, बनारस तथा साहेबगन्जमा निर्माण गरिएका मल्टिमोडल टर्मिनलमध्ये कुनै वा सबैबाट नेपालसम्म मालबस्तु ल्याउन सहज हुने ती सदस्यको भनाइ छ । ‘ती टर्मिनल प्रयोग नेपालबाट जलमार्गको दूरी १ सय ५० किलोमिटरसम्म हुन आउँछ, त्यसो हुँदा गंगामा निर्माण भएका टर्मिनलबाट नेपाल मालबस्तु ल्याउनु उचित हुन्छ,’ उनले भने ।

संयुक्त टोलीद्वारा सम्भावित टर्मिनल रहने स्थान पहिचान
संयुुक्त टोलीले कोसीमा पानीजहाज सञ्चालनको सम्भाव्यता अध्ययन गर्दा नेपालतर्फ टर्मिनलका लागि कोसी ब्यारेजको करिब एक किलोमिटर दक्षिण हनुमाननगर क्षेत्रलाई सम्भावित ठाउँका रूपमा पहिचान गरेको छ । त्यसअघि संयुक्त टोलीले नारायणी नदीमा भने नेपाल–भारत चल्ने पानीजहाजको टर्मिनल नवलपरासीस्थित त्रिवेणी ब्यारेजनजिक राख्न सकिने सम्भावना दुई देशको प्राविधिक टोलीको अध्ययनले पहिचान गरेको छ । संयुक्त टोलीले सुस्ता गाउँपालिकामा पर्ने गण्डक नदीको स्पर (ठोकर) नम्बर १२ आसपास टर्मिनल निर्माण गर्न सकिने सम्भावित स्थान पहिचान गरेको थियो । ‘त्रिवेणी ब्यारेजको पुलभन्दा तल्लो भागमा स्पर नम्बर १२ आसपास टर्मिनल बनाउन उपयुक्त देखिएको छ,’ नेपालतर्फको टोलीका संयोजक जल तथा ऊर्जा आयोजनाका सहसचिव माधव बेल्वासेले बताएका थिए । भारतीय पक्षले यसबाहेक त्रिवेणी ब्यारेज पुलभन्दा माथिपट्टि नवलपुरको कावासोतीआसपास पनि टर्मिनल बनाउन सकिने जानकारी दिएको बेल्वासेको भनाइ थियो ।

संयुक्त टोलीले दुइटै नदीको पानी, बालुवा र माटोको अवस्थाबारे समेत अध्ययन गरेको छ । संयुक्त अध्ययनले कोसीभन्दा नारायणी नदीमा पानीजहाज सञ्चालनका सम्भावना बढी छ ।

पानीजहाज कार्यालय उद्घाटन २ फागुनमा
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज कार्यालयको उद्घाटन २ फागुनमा गरेका थिए । ललितपुरको एकान्तकुनामा रहेको पानीजहाज कार्यालयको नेतृत्व इन्जिनियरिङ सेवाअन्तर्गतको सहसचिव (ऋषिराज कोइराला) व्यक्तिले गरिरहेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत स्थापना भएको पानीजहाज कार्यालयमा कार्यालय प्रमुख (रजिस्ट्रार) सहित १६ जना कर्मचारी रहेका छन् ।

जल यातायात ‘टाइम लाइन’
१५ जेठ : अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आवको बजेट भाषण गर्दै कोसी, नारायणी र कर्णाली नदीमा जलमार्ग सञ्चालनसम्बन्धी अध्ययन गरिने घोषणा गरे ।

२० जेठ : जलमार्ग निर्माण तथा सञ्चालनसम्बन्धी अध्ययन गर्न ऊर्जा आयोगका सहसचिव माधव बेल्वासेको नेतृत्वमा समिति गठन । समितिमा ऊर्जा तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका प्रतिनिधि छन् ।

१५ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै यसै वर्षको पुसदेखि पानीजहाज सञ्चालन गर्ने घोषणा गरे । पानीजहाज चढेर कोलकाता जान सांसदहरूलाई निम्तोसमेत दिए ।

३१ असार : नेपाल र भारतबीच इनल्यान्ड वाटर–वेसम्बन्धी पहिलो प्राविधिक छलफल भयो । भारतको स्थलगत जलमार्ग प्राधिकरणका उपाध्यक्ष प्रबिर पाण्डेको नेतृत्वमा भारतीय टोली आएको थियो ।

१ असोज : नेपालमा पानीजहाज सञ्चालनका लागि अध्ययन गर्न बनेको इनल्यान्ड वाटर–वे अध्ययन समितिका प्रतिनिधिले १ देखि १४ असोजसम्म बनारस गएर जलमार्गसम्बन्धी अवलोकन अध्ययन गरे ।

२६ कात्तिक : भारतको उत्तरप्रदेश राज्यस्थित वाराणसीमा स्थलगत जलमार्गको पहिलो मल्टिमोडल टर्मिनल सञ्चालनमा आयो । यससँगै कोलकाता÷हल्दिया–वाराणसीमा स्थलगत पानीजहाज औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

२८ माघ : भारतको केन्द्रीय सरकारले गंगा नदीदेखि गण्डक नदीसम्म जलमार्ग निर्माण सुरु गरेको हो । भारत सरकारका केन्द्रीय जलमार्गमन्त्री नितिन गडकरीले बिहारको हाजिपुर (गंगा र गण्डकको संगम)देखि बघा (नेपालको सिमानानजिक) सम्म निर्माण हुने जलमार्गको शिलान्यास गरेका हुन् । करिब ३ सय किलोमिटर लामो उक्त जलमार्गमा चारवटा टर्मिनल हुनेछन् । जलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ ।

२ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज कार्यालय उद्घाटन गरे । ललितपुरको एकान्तकुनामा रहेको पानीजहाज कार्यालयको नेतृत्व इन्जिनियरिङ सेवाअन्तर्गतको राजपत्रांकित तृतीय श्रेणीका व्यक्तिले गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत स्थापना भएको पानीजहाज कार्यालयमा कार्यालय प्रमुख (रजिस्ट्रार) सहित १६ जना कर्मचारी रहेका छन् ।

नेपाल–भारतबीच काठमाडौंमा वार्ता जारी 
गण्डक र कोसीको स्थलगत अध्ययन गरेर फर्केको संयुक्त टोलीको बिहीबारदेखि काठमाडौंमा बैठक सुरु भएको छ । बैठकका एजेन्डा सार्वजनिक नगरिए पनि नेपाली पक्षले पानीजहाज रुट प्रस्ताव गर्ने र भारतीय पक्षले स्वीकार गरेमा छलफल अघि बढाइनेछ । त्यस्तै, गंगा नदीबाट पानीजहाज ल्याउने रुटको थप प्राविधिक अध्ययनबारे बैठकमा छलफलको विषय रहेको बुझिएको छ । नेपाल र भारतीय प्राविधिक टोलीबीच शुक्रबार पनि बैठक बस्ने कार्यक्रम तय भएको छ । शुक्रबार हुने छलफलपछि मात्र बैठकका निर्णय सार्वजनिक गरिने तयारी छ ।

नेपाली पक्षको तर्फबाट नेपालमा जल परिवहन सञ्चालनको सम्भावना खोज्न गठित जलमार्ग अध्ययन समितिका संयोजक माधव बेल्बासेले गरिरहेका छन् । त्यस्तै, भारतको तर्फबाट ‘इन्ल्यान्ड वाटर–वे अथोरेटी अफ इन्डिया’का उपाध्यक्ष प्रबिर पाण्डेले गरिरहेका छन् । नेपाली टोलीमा सरोकारवाला सबै मन्त्रालयका गरी १७ जनाको सहभागिता छ । भारतीय टोलीमा भने ९ जना छन् । यसअघि दुवै देशका संयुक्त टोलीले मंगलबार र बुधबार कोसी नदीमा तथा सोमबार नारायणी नदीमा स्थलगत सम्भाव्यता अध्ययन गरेको थियो । स्थलगत सम्भाव्यता अध्ययनका क्रममा संयुक्त टोलीले टर्मिनल (पानीजहाज रोकिने स्थान) को सम्भावित स्थान पहिचान गरेको जानकारी दिएको छ ।

naya patrika

प्रतिक्रिया दिनुहोस