आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा सुरु भयो मेसीनबाट उखु रोपाइँ, ५६ प्रतिशत खर्च बचत

AuthorAP Khabar२०७५ चैत्र ३, आईतबार (५ साल अघि) २०२ पाठक संख्या

 चैत ३  जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ खेस्रोलका जीतु झाको खेतमा उखु रोप्ने मेशिन देखेपछि गाउँलेको शनिवार घुइँचो लाग्यो ।

“मेशिनले उखु रोप्ने सुनेको मात्र थियौं । तर देखेपछि सुनेको कुरा सत्य रहेछ भन्ने लाग्यो,” गाउँलेहरूले भने । किसान जीतुले खेतमा काम गर्ने ज्यामी नपाएर मेशिनको सहारा लिन लागेको बताए  । यसपटक उनले  मेशिनबाट ८ बिघामा उखु लगाउन लागेको बताए । “दिन प्रतिदिन खेतमा काम गर्ने मानिस पाउन गा¥हो छ, उखु रोप्ने मेशिनको सुविधा आइसकेपछि यस वर्षदेखि मेशिनबाटै उखु रोपिरहेको छु,” उनले वीरगंजबाट स्थलगत अनुगमनमा गएको टोलीसँग भने ।

कृषि औजार अनुसन्धान केन्द्र रानीघाटबाट निश्शुल्क प्राविधिक सहयोग र मेशिन उपलब्ध भएपछि किसानको आकर्षण यसतर्फ बढेको हो । केन्द्र प्रमुख सचिन मिश्राका अनुसार भारतमा निर्मित रु १० लाख पर्ने मेशिन ट्याक्टरमा जोडेर चलाउन सकिन्छ । उक्त मेशिनले एकपटकमा ८ वटा काम गरी उखुबालीको खर्च लागत घटाउने मिश्राले बताए ।

परम्परागत उखुखेतीभन्दा मेशिनबाट लगाइएको उखुबालीको उत्पादन पनि बढ्ने र ५६ प्रतिशत जति खर्च लागत कम हुने अनुसन्धानबाट पुष्टि भइसकेको उनको भनाई छ । ट्याक्टरको पछाडि मेशिन जोडेपछि तीनजनाले उखु एक/एक वटा उखु मेशिनको तीनवटा प्वालमा राखिदिनुपर्छ । मेशिनले ७५ सेन्टिमिटरको दूरीमा तीनवटा नाला खन्ने र उखु रोप्ने काम एकैपटक गर्छ । मेशिनले नाला चिर्ने, उखुलाई ४० सेन्टिमिटरको लम्बाईमा टुक्रा गर्ने, कीटनाशक औषधि छर्ने, माटोको उपचारका लागि विषादी छर्ने, मल छर्ने, पानी हाल्ने र नाला पुर्ने काम गर्ने प्राविधिक अधिकृत द्वारिका चौधरीले बताए ।

परम्परागत तरीकाले रोप्दा प्रतिकट्ठा ३० क्वीन्टल उखु उत्पादन हुने गरेकोमा मेशिनबाट रोपिएको उखु प्रतिकट्ठा ७० देखि ८० क्वीन्टल उत्पादन हुने चौधरीको दाबी छ ।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका क्षेत्रीय निर्देशक तुफैल अख्तर कृषिमा यान्त्रीकरणको उपयोग बढ्नु खुशीको कुरा भएको बताउँछन् । उनले अब कृषि उत्पादन बढाउन र लागत कम गर्न मेशिनको प्रयोग बढाउँदै लग्नुपर्नेमा जोड दिंदै कृषि औजार अनुसन्धान केन्द्रको विगतको अनुसन्धान तथा आजको युगको लागि चाहिने औजार तथा उपकरणको लागि गरेको प्रयास सराहनीय रहेको बताए ।

प्रतिक्रिया दिनुहोस