आज:  २०७७ आश्विन ५, सोमबार | Mon, 21, Sep, 2020
FLASH NEWS

निधिको मुद्दाप्रति देउवाको बेवस्ता

२०७७ भाद्र २५, बिहिबार (१ हप्ता अघि) २१ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसमा १४ औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको बहस जारी छ ।उपसभापति विमलेन्द्र निधिले सभापतिमा आफ्नो पनि दाबेदारी प्रस्तुत गर्दै १४ औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको वकालत गर्न थालेका छन् ।

सर्वसम्मत नेतृत्वको चयनका लागि वरिष्ठ नेता रामचन्द्र्र पौडेल, महामन्त्री शशांक कोइराल, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलासँगको छलफलपछि निधिले पहिलो पटक साउन अन्तिम साता देउवालाई भेटेर आफू सभापतिका उम्मेदवार हुन चाहेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए ।

तर आफै सभापति लड्ने तयारी गरिरहेका देउवाले त्यसमा सहमति जनाएनन् । तर निधिको दाबीले काँग्रेसभित्र कम्पन ल्यायो । त्यसको बहस र चर्चा अहिले पनि जारी छ । निधिले पार्टीका शीर्ष नेतासामु सर्वसम्मत रुपमा नेतृत्व चयनको अस्त्र तेस्र्याउँदै आएको पाइन्छ । तर कसका नाममा भन्ने विषयमा उनी खुलेर आउन सकेको अवस्था छैन ।

यसका पछाडि आफूमाथि अडा भएको चुनौतिबारे उनी जानकार नै देखिन्छन् । किन भने उनले देउवालाई रोकेर संस्थापन पक्षको सभापतिको उम्मेदवार हुनसक्नुपर्छ, या त त्यहाँबाट बिद्रोह गर्नुपर्छ । निधिका लागि दुबै विकल्प फलामको च्युरा चपाउन सरह छ ।

त्यसैले निधिले सभापतिमा आफ्नो दाबीलाई भन्न छाडेर सर्वसम्मत नेतृत्व चयनको नारा दिएको बुझ्न कठिन छैन । निधिले पछिल्लो समय हरेक जसो भर्चुअल कार्यक्रममा सर्वसम्मत नेतृत्व चयनको रटान लगाउँदै आएका छन् ।

बुधबार १०७ औं बीपी जयन्तीको अवसरमा कांग्रेस केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल कार्यक्रममा पनि उपसभापति निधिले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । फेरि कम्युनिस्ट पार्टी सत्तामा आयो भने संविधानको रक्षा गर्न नसक्ने भन्दै उनले भने, ‘यो संविधानको रक्षा गर्न १४ औं महाधिवेशनमा एकता वैचारिक आधारमा गरौं ।’

सर्वसम्मत रुपमा पार्टीको नेतृत्व चयन गर्न सकियो भने कार्यकर्ता, मतदाता र जनताको विश्वास जित्न सक्ने भन्दै उनले वैचारिक एकताका लागि नौ सुत्र अघि सारेका छन् ।

राष्ट्रिय, लोकतन्त्र, समाजवाद गणतन्त्र, संघीयता, मिश्रित निर्वाचन प्रणाली, समावेशीता, धर्म निरपेक्षता, अहिंसा र शान्तिलाई वैचारिक एकताको सुत्र बनाउनुपर्ने उपभापति निधिले बताएका छन् । वैचारिक र नेतृत्व चयनमा एकता हुन सके आगामी संसदीय निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने उनको दाबी छ ।

‘नेतृत्व चयनमा सर्वसम्मति गर्न सक्यौं भने आमनागरिक, मतदाता र पार्टी सदस्यमा विश्वास र ऊर्जा भर्न सक्छौं, अन्तर्राष्ट्रिय शुभेच्छुकहरूले पनि विश्वास गर्न सक्छन्,’ उनले भने, ‘नेतृत्व र वैचारिक एकता भएको कांग्रेसले मात्रै आगामी निर्वाचनमा बहुमत ल्याउन सक्छ ।’

निधिपछि बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले निधिको सर्वसम्मत नेतृत्व चयनमा सहमति जनाएका थिए । तर सभापति शेरबहादुर देउवाले यो मुद्दालाई वास्तै गरेनन् ।

वरिष्ठ नेता पौडेलले आफू एकतवादी भएको बताए । उनले भने, ‘एकता चाहिन्छ तर निष्पक्ष र पारदर्शी मूल्यांकनका आधारमा एकता गरौं । सबै ढाकछोप गरेर चल्दैन ।’

संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवारमा दाबी गर्दै आएका पौडेलले उपभापति निधिको नाम नलिई भनेका छन्, ‘कहाँ, कसको नेतृत्वमा, कसरी हुन्छ एकएक तर्क अगाडि सारेर सर्वसम्मत गरौं । म त्यसका लागि तयार छु ।’

पौडेलले सर्वसम्मत नेतृत्व चयनका लागि आफू सहमत रहेको भन्दै सार्वजनिक रुपमा पहिलो पटक मुख खेलेका हुन् । पार्टी संचालनमा असफल सिद्ध भएको आरोप खेपि रहेका देउवाले यस विषयमा प्रवेशै गर्न चाहेको देखिएन ।

सभापति शेरबहादुर देउवाले निधिको प्रस्तावप्रति केही नबोली पार्टीभित्रको झगडा पहिल्यैदेखि भएको बताए । ‘झगडाकै कारण गणेशमान र कृष्णप्रसाद भट्टराईले पार्टी छाड्नुभएकै हो,’ उनले भने, ‘यो पार्टीबाट कुनै पनि साथीले छाड्न नपरोस् भनेर मैले काम गरिरहेको छु ।’

देउवा आफ्नो नामा सर्वसम्मत हुने अवस्था नबन्नेमा जानकार छन् र उनमा १४ औं महाधिवेशनमा फेरि नेतृत्वका पुग्ने अभिलासा उत्कट छ । अन्य नेताहरुले भने यसअघि नै सर्वसम्मत नेतृत्व चयनका लागि सकारात्मक भएको सन्देश दिएका थिए ।

प्रतिक्रिया दिनुहोस