आज:  २०७७ आश्विन ६, मंगलबार | Tue, 22, Sep, 2020
FLASH NEWS

मौलापुर नगरपालिका द्वारा कोरोना संक्रमण तथा नियन्त्रणका लागि गरेको खर्च विवरण सार्वजनिक

२०७७ भाद्र २८, आईतबार (१ हप्ता अघि) ३२ पाठक संख्या

रौतहटको मौलापुर नगरपालिकाले कोरोना संक्रमण तथा नियन्त्रणका लागि गरेको खर्च विवरण सार्वजनिक गरेको छ ।

नगरपालिकाले एक सुचना मार्फÞत आर्थिक वर्ष २०७६÷७७ मा भएका सम्पूर्ण खर्चको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको सुचना अनुसार क्वारेन्टाइन निर्माण, व्यवस्थापन एवं संचालन, राहत वितरण, औषधि तथा सुरक्षा सामाग्री खरिद र एम्बुलेन्स, बस भाडा लगायतका शीर्षकमा गरी जम्मा १ करोड ८ लाख ३१ हजार ७ सय ९८ रुपैयाँ खर्च भएको हो । कुल खर्चमा प्रदेश २ सरकारबाट प्राप्त १५ लाख अनुदान रकम समेत रहेको छ ।

मौलापुरका विपन्न, ज्यालादारीमा आश्रीत सहित सम्पूर्ण नगरवासीलाई दुई चरणमा राहत वितरण गरिएको थियो । पहिलो चरणमा १ हजार ३ सय २६ घरपरिवारलाई राहत वितरण गर्दा १४ लाख ४० हजार खर्च भएको थियो भने दोस्रो चरणमा ४१ सय घर परिवारलाई राहत वितरण हुँदा ४५ लाख १२ हजार ४ सय खर्च भएको बताइएको छ ।

क्वारेन्टाइन संचालन तथा व्यवस्थापनमा २५ लाख ३९ हजार ५ सय २४ रुपैया खर्च भएको हो भने कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक औषधि र सुरक्षा सामाग्री किन्न २० लाख १७ हजार ६ सय १९ रुपैयाँ खर्च नगरपालिकाले जनाएको छ । त्यस्तै एम्बुलेन्स भाडा, बस भाडा, जन चेतना अभिवृद्धि एवं प्रचारप्रसारलगायत अन्य विभिन्न कार्यका लागि ३ लाख २२ हजार २ सय ५५ रुपैयाँ खर्च भएको हो ।

मौलापुर नगरपालिकाले सार्वजनिक गरेको खर्च अन्य स्थानीय तहको तुलनामा निकै कम देखिएको छ । रौतहटकै विभिन्न स्थानीय तहले २ करोडभन्दा बढी खर्च देखाएको बेला मौलापुरको खर्च भने मितव्ययी र नियन्त्रित देखिन्छ ।

नगरपालिकाले आफ्नो भुमिका निर्वाह गरी संक्रमणलाई शुन्यमा झारेको र नगर क्षेत्रलाई त्यसको प्रभावबाट टाढै राखेको नगरप्रमुख रीनाकुमारी साहले बताइन् । उनले नगरवासीलाई राहत दिएर भोकबाट जोगाएको र सबैको साथमा सधै नगरपालिका रहेको अनुभुति हुने हिसाबले मितव्ययी भई खर्च गरिएको बताइन् ।

विश्वस्तरमै फैलिएको कोभीड–१९ भाइरसबाट नेपाल पनि जुधिरहेको छ । संघीय सरकारले भाइरसको महामारी नियन्त्रण गर्न स्थानीय सरकारलाई अग्रपंक्तिमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस