आज:  २०७७ कार्तिक १५, शनिबार | Sat, 31, Oct, 2020
FLASH NEWS

आजदेखि शुक्रबारसम्म देशका धेरैजसो ठाउँमा पानी पर्ने

२०७७ आश्विन ५, सोमबार (१ महिना अघि) ४० पाठक संख्या

काठमाण्डाै – आजदेखि पाँच दिनसम्म देशका धेरैजसो ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । देशका केही ठाउँहरुमा भने हावाहुरीसहित ठूलो पानी पर्ने सम्भावना छ ।

अहिले उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र पश्चिम, उत्तर-पश्चिमतर्फ सर्ने क्रममा रहेकाले नेपालका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज दिउँसो देशभर सामान्यतया बद्ली भएर केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

प्रदेश नम्बर १ र २ का केही ठाउँहरुमा हावाहुरीको समेत सम्भावना छ । राति प्रदेश १, २ र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । प्रदेश १, २ वाग्मती, गण्डकी र प्रदेश ५ का केही ठाउँमा हावाहुरीसमेत आउने सम्भावना छ ।

यस्तै भोलिदेखि आउने शुक्रबारसम्म नै प्रदेश १, २, वाग्मती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् कँडेलले बताउनुभयो ।

अरु ठाउँहरुमा पनि ठूलो पानी पर्ने सम्भावना छ । अबको केही दिन नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस