आज:  २०७७ कार्तिक १०, सोमबार | Mon, 26, Oct, 2020
FLASH NEWS

सर्लाहीका उखु किसानले सरकारी अनुदान बापतको असोज भित्र रकम पाउने

२०७७ आश्विन २२, बिहिबार (२ हप्ता अघि) ३१ पाठक संख्या

सर्लाहीका उखु किसानले सरकारी अनुदान बापतको असोज भित्र रकम पाउने भएका छन् । गत वर्षको बाँकी अनुदान रकम असोज महिना भित्रै उपलब्ध गराउने निर्णय जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला भुक्तानी समितिसहित सरोकारवालाहरूको बैठकले गरेको हो ।

 

अनुदान रकम वितरणको लागि लागि २१ करोड ३४ लाख ९५ हजार रुपैयाँ निकासा भएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मलंगवाका प्रमुख जगतप्रसाद थपलियाले जानकारी दिए । सरकारले केहि दिनअघि कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मलंगवालाई उखु किसानहरूको अनुदान रकम निकासा गरेको थियो ।

 

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको समन्वय तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राम प्रमोद यादव संयोजकत्वको जिल्ला भुक्तानी समितिको बैठकले असोज मसान्तभित्र आएको रकम किसानलाई भुक्तानी गर्ने र बाँकी रकम निकासाका लागि माग भएपनि प्राप्त नभएकाले निकासाका लागि सरोकारवाला सबैले प्रयत्न गर्ने निर्णय गरेको छ ।

 

क्रसिङ सिजन २०७६।०७७ को उखु अनुदान रकम प्रति क्वीन्टल ६५.८ रुपैयाँका दरले कृषकलाई अनुदान भुक्तानी गर्न २१ करोड ७९ लाख ३८ हजार ६५ रुपैयाँ ३१ पैसा आवश्यक रहेकोमा २१ करोड ३४ लाख ९५ हजार रुपैयाँमात्र प्राप्त हुन आएको छ ।

हाल प्राप्त रकमबाट सम्बन्धित चिनी मिलहरूको सहयोगमा सर्लाही जिल्लाका कृषकहरूलाई प्राथमिकतामा राखी कृषकको बैंक खातामार्फत भुक्तानी उपलब्ध गराउने निर्णय भएको प्रजिअ पौडेलले जानकारी बताए ।

 

अघिल्लो वर्षहरूमा चिनी उद्योगलाई निकासा गर्ने र उद्योगले किसानको बैंक खातामा जम्मा गरिदिने व्यवस्था भएपनि उखु कृषकलाई अनुदान दिनेसम्बन्धी कार्यविधि २०७५ (दोस्रो संशोधन २०७६) ले यस वर्ष भने कोलेनिकाले सोझै किसानको बैंक खातामा रकम हाल्ने व्यवस्था गरेको छ ।

 

केही वर्षयता सरकारले प्रतिक्वीन्टल उखुको मूल्य ५ सय ३६ रूपैयाँ ५६ पैसा तोक्ने क्रममा उद्योगीले ४७१ रुपैयाँ २८ पैसा तथा सरकारले प्रति क्वीन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान स्वरुप किसानलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस