इन्टरनेटका म्यासेजीङ्ग एप मार्फत प्रलोभन देखाएर पैसा ठगि गर्ने एक व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेको छ ।ईन्टरनेटका एपहरुलाई प्रयोग गर्दै लाखौँको चिट्ठा परेको झुठो प्रलोभन देखाएर पैसा ठग्ने बारा जिल्लाको पर्सौनी गाउँपालिका वडा नम्बर ४ बञ्जरिया निवासी २७ वर्षिय भोला महतोलाई बारा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी अनुसार महतोले इन्टरनेटमा म्यासेजका लागि प्रयोग गरिने ईमो, वाह्टसजस्ता एपलाई प्रयोग गर्दै विभिन्न व्यक्तिलाई लाखौँ रकमको चिट्ठा परेको सन्देश पठाउँने गरेका थिए । त्यसपछि उनले रकम प्राप्त गर्न केहि पैसा अग्रिम भुक्तानी गर्नुपर्छ भनेर चिट्ठा परेको भनिएका व्यक्तिहरुसँग पैसा लिने गरेका थिए ।
यसैक्रममा महतोले बारा जिल्लाको महागढीमाई नगरपालिकाको वडा नम्बर ३ निवासी दिपेन्द्र प्रसाद जयसवाललाई २५ लाखको चिठ्ठा परेको सन्देश पठाए । त्यसपछि महतोले रकम राप्त गर्न जयसवालसँग अग्रिम १ लाख ७५ हजार बुझे । रकम बुझेर महतो फरार भएका थिए ।
रकम ठगिएको भनेर जयसवालले प्रहरीमा उजुरी गरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा महतोले जयसवालसँग पैसा ठगेको पाएपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनलाई ७ दिन थुनामा राख्न बारा जिल्ला अदालते आदेश दिएको छ ।
प्रतिक्रिया दिनुहोस