आज:  २०७८ अषाढ ९, बुधबार | Wed, 23, Jun, 2021
FLASH NEWS

प्रधानमन्त्री ओलीले लिने विश्वासको मतलाई लिएर दलहरु आन्तरिक छलफलमा

एपी खबर २०७८ बैशाख २२, बुधबार (१ महिना अघि) ११३ पाठक संख्या

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएपछि विपक्षीहरु आ–आफ्नो रणनीति बनाउन लागेका छन् । प्रमुख प्रतिपक्ष दल कांग्रेस प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने योजनामा रहँदा माओवादी केन्द्र पनि ओलीलाई हटाउने रणनीतिमा छ ।

 

प्रधानमन्त्री ओलीलाई लिएर स्पष्ट दुई धारमा विभाजित जसपाको पनि एक पक्ष यही सरकार टिकाउने र अर्को पक्ष जसरी पनि ओलीलाई हटाउने योजनामा छन् । यती मात्र होइन् एमालेको खनाल–नेपाल पक्ष पनि प्रधानमन्त्री ओलीले लिने विश्वासको मतलाई लिएर तीव्र छलफलमा छ ।

 

विश्वासको मत लिए लगत्तै आफूहरूलाई कारबाही हुन सक्ने भन्दै एमालेको खनाल–नेपाल पक्षीय प्रत्यक्ष निर्वाचित सांसदले त्यसअघि नै पदबाट राजीनामा दिने तयारी गरेका छन् । नेपाल–खनाल पक्षमा रहेका ३५ सांसदमध्ये २२ जना प्रत्यक्ष निर्वाचित छन् । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले यसअघि नै किन कारबाही नगर्ने भनेर ३० जनालाई स्पष्टीकरण सोधिसकेका छन् ।

 

अर्को सरकार बन्ने ग्यारेन्टी नहुँदासम्म समर्थन फिर्ता नलिने बताउँदै आएको माओवादी पनि प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ । योसँगै कुनै बेला दुई तिहाइ बहुमतको सरकार अहिले अल्पमतमा परेको छ ।

 

बजेट अधिवेशनमा आफूले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नै पास हुन नदिने विपक्षीहरूको रणनीति बुझेपछि ओलीले २७ गते विश्वासको मत लिने मनासाय बनाएको ओली निकट नेताहरुले बताएका छन् । कांग्रेस र माओवादी केन्द्रले ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । तर ओलीले एमालेका सबैको र अन्य पार्टीका १३ सांसदको समर्थन जुटाउन सके बाँकी अवधि पनि यही सरकारले निरन्तरता पाउनेछ ।

प्रतिक्रिया दिनुहोस