आज:  २०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021
FLASH NEWS

सभामुख अग्निप्रसाद सापकोटालाई कुर्सीमा बस्ने कुनै अधिकार छैनः कोमल वली

एपी खबर २०७८ भाद्र २८, सोमबार (१ हप्ता अघि) ३६ पाठक संख्या

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाका विषययमा एमाले सांसद कोमल वलीले राष्ट्रियसभामा प्रश्न उठाएकी छन् ।

प्रतिनिधिसभामै एमालेले अवरोध जारी राखेको छ । सभामुखप्रति गम्भीर असहमति राख्दै आएपनि एमालेले प्रतिनिधिसभामा अहिलेसम्म सभामुखको राजीनामा मागेको छैन । तर, राष्ट्रियसभा सदस्य कोमल वलीले भने सभामुखलाई कुर्सीमा बस्ने कुनै अधिकार नभएको बताएकी छन् ।

“संवैधानिक व्यवस्था अनुसार विधि र प्रक्रिया विपरित गएर संसदीय मर्यादाको उलंघन गर्न सांसदहरूलाई पार्टीले निकाल्ने प्रावधान हुँदाहुँदै सभामुखबाट कुनै स्वार्थका निम्ति कसैको विलासका निम्ति सभामुखजस्तो गरिमामय पदमा रहेको व्यक्तिले आफ्नै कुर्सीलाई अपमान गर्न मिल्छ ?,” वलीले भनिन्, “जसले कुर्सीको महत्व बुझ्दैन त्यस्तो व्यक्तिलाई कुर्सीमा बस्ने अधिकार हुँदैन ।”

उनले हिजो रामबहादुर थापा, लेखकराज भट्ट, टोपबहादुर रायमाझी र प्रभुसाह लगायतलाई एमालेको विश्वास छ भन्दापनि सांसद पद गएको भन्दै पार्टीको ह्विप उलंघन गरेका माधव नेपालसहितलाई कारबाही नभएको बताइन् ।

“जसले पार्टीको ह्विप जसले मानेन उहाँहरूले पार्टी विखण्डन गर्दा उहाँहरूको पद रहिरहन मिल्छ ? एउटै दिमागभित्र दुईवटा चिन्तन एउटै जिब्रोभित्र दुईवटा बोली यो प्रवृत्तिले स्थायीत्व प्राप्त गर्न सक्छ ?,” प्रश्न गर्दै वलीले भनिन्, “यस्ता व्यक्तिहरूलाई संसदीय व्यवस्थाका कुनैपनि जिम्मेवारी दिनु हुँदैन ।”

वलीले सभामुखविरुद्ध भाषणा गरिरहँदा राष्ट्रियसभाका अध्यक्षले रोक्न रुलिङ गरेनन् । उनले बरु उनले आफ्नो भनाइ राखेपछि उनका भनाइमा सहमति जनाउनेगरी प्रस्तुत भए ।

“माननीयज्यू, यहाँहरूको धारणा र विचारप्रति ध्यानाकर्षण भएकै छ,” अध्यक्ष गणेश तिमिल्सिनाले भने, “मैले बारम्बार भन्ने गरेकै छुु, प्रतिनिधिसभामा जे विषय उठेको छ, राष्ट्रियसभामा त्यसलाई नउठाउँ यसको गरिमा र औचित्यता स्थापित गर्नका लागि सदन संचालन गरौँ ।”

उनले त्यसो भनेर एमाले सांसदलाई बस्न आग्रह गरेपनि एमाले सांसदहरूले उठेर अवरोध जारी राखेपछि बैठक भने अवरोधमै सञ्चालन गरे । राष्ट्रियसभा बैठकले अवरोधकैबीच लोकसेवा आयोग विधेयक बहुमतबाट पारित गरेको छ ।

प्रनिधिसभा कार्य सञ्चालन नियमावलीको नियम २१ अनुसार सभामुखको भूमिकाका विषयमा सम्बन्धित सदनमासमेत प्रश्न उठाउन प्रतिबन्ध छ । प्रतिनिधिसभा नियमावलीको दफा २१ (ख)मा “सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने” व्यवस्था गरेको छ । यो दफा अनुसार एमालेले सभामुखले आचारण विपरीत काम गरेको भन्दै प्रस्ताव पेस गरेको र त्यो प्रस्तावमाथिको छलफल सुरु भएको भएपनि त्यसका विषयका छलफल प्रतिनिधिसभामा मात्र हुनसक्छ ।

तर, सभामुखको भूमिकाका कारण एमाले फुटेको भन्दै एमालेले ‘संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर’ भनेर प्रतिनिधिसभामा नाराबाजी गर्दै आएको छ । तर, उसले सभामुखको राजीनामा मागिसकेको छैन । अर्को सदन राष्ट्रियसभामा भने सभामुखको राजीनामा माग भइरहेको छ ।

रोचक त के छ भने राष्ट्रियसभामा कानुनी क्षेत्रमै विद्वान भनेर कहलिएका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीदेखि रामनारायण बिडारीसमम्म सदस्य छन् । उनीहरू वलीले त्यस्तो विषयमा उत्साहित हुँदै धारणा राखिरहँदा सदनमै भएर पनि मौन बसे । त्यस्तो मौनता केका लागि साँधियो त ? किन ओलीले त्यस्तो भाष्णा गर्दासमेत नियमापत्ति भएन ? नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका विडारी पार्टीको नीति नै त्यस्तो हुँदा चुप बस्नुपरेको बताउँछन् ।

“आज मात्र होइन, पटकपटक उहाँहरूले नियमको धज्जी उठाइराख्नुभएको छ, संसदीय मर्यादाको नाम लिएर संसदीय मर्यादालाई नै कुल्चिने काम गरिरहनु भएको छ, त्यस्ता नियमापत्ति गर्नुपर्ने थुप्रै कुरा उहाँहरूले गरिरहनुभएको छ,” संसद्को विधायन व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिसमेत रहेका बिडारीले बाह्रखरीसँग भने, “नियमापत्ति गर्न पनि रोकिएको छ, दलबाट नियमापत्ति नगर्नु द्वन्द्व नबढाउनु भनिएको छ ।” उनले विशेष अवस्था भएका कारण आफूहरू चुप बस्न बाध्य भएको बताए ।

“एउटा त सम्बन्धित सदनमा पनि अध्यक्ष वा सभामुखका विषयमा प्रश्न उठाउन पाइँदैन । हाम्रो नियमावलीले त्यो कुरामा निषेध गरेको छ,” बिडारीले भने, “अब प्रतिनिधिसभाका सभामुखका विषयमा राष्ट्रियसभामा कुरा उठाउँदै क्षेत्राधिकार मिच्दै जाने हो भने भोलि प्रदेसभाका सभामुखको राजीनामा पनि उहाँहरूले माग्नुहोला, गाउँपालिका÷नगरपालिकाका अध्यक्ष राजीनामा पनि उहाँहरूले माग्दै जानुहोला ।”

उनले सभामुखको कदमकाविरुद्ध एमाले अध्यक्ष ओलीले नै सर्वोच्चमा दायर गरेका रिट विचाराधीन रहेको भन्दै संविधानको धारा १०५ अनुसार त्यो विषयको बहस बर्जित रहेको बताए ।

 

 

 

 

 

 

बाह्रखरीबाट साभार गरीएको ।

प्रतिक्रिया दिनुहोस