केहि बर्षदेखी कोरोना महामारीका कारण बिथोलीएको सुनचादीँ ब्यवसाय यस बर्ष उत्साहजनक बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दशैँ र तिहारको बेलामा प्रतिदिन सुनको व्यापार ४० किलो र चाँदीको व्यापार १ हजार किलोसम्म भएको छ ।
महासंघका अध्यक्ष माणिकरत्न शाक्यले यस वर्षको चाडवाडमा अपेक्षा अनुसारकै व्यापार भएको बताउनुभयो । अध्यक्ष शाक्यले चाडवाड पछिका केही दिन बजार सुस्त भएपनि सरकारले प्रतिदिन तोकेको २० किलो सुनको आयात भइरहने हुनाले चाडवाडमा बिक्री भएर सकिएको ठाउँको परिपूर्ति हुने बताउनुभयो ।
कोरोना बिरुद्धको भ्याक्सिन लगाइसकेपछि सुनचाँदीको व्यापारले पनि राम्रो लय समातेकाले मंसिर महिनाबाट विवाहको लगन सुरु हुदा त्यो बेलामा पनि राम्रो व्यापार हुने कुरामा महासंघ आशावादी रहेको छ ।
अध्यक्ष शाक्यले सरकारले सुनचाँदी सप्लाइ (वितरण) को नियमलाई वैज्ञानिक र पारदर्शी बनाउन आवश्यक रहेको बताउनुभयो । उहाले सुनचाँदीलाई पर्याप्त रुपमा आपूर्तिको व्यवस्थापन गर्नुपर्ने बताउँदै देश संघीयताको राज्य पुनः संरचनामा गइसकेकाले सुनको सप्लाइ (वितरण)लाई पनि काठमाडौँमा केन्द्रित नगरी सातै प्रदेशको राजधानी मार्फत् वितरण हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष शाक्यले आपूर्तिको २० किलो कोटालाई प्रतिदिन ३० किलो बनाएर जानुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस