आज:  २०७८ मंसिर १६, बिहिबार | Thu, 02, Dec, 2021
FLASH NEWS

तिहारमा २१ लाख भन्दा बढी माला बिक्री

एपी खबर २०७८ कार्तिक २२, सोमबार (३ हप्ता अघि) ५९ पाठक संख्या

यो वर्षको तिहारमा २१ लाख ३५ हजारभन्दा बढी माला बिक्री भएको फ्लोरिकल्चर एसोसिएशन नेपालले जनाएको छ। जसमा सयपत्री, मखमली र गोदावरी फूलका माला छन्। यसबाट रु.१५ करोड २० लाख ७५ हजारको कारोबार भएको छ।

गत वर्षको तिहारमा कोभिड-१९ को महामारीका कारण फूलको व्यापार घटेको थियो। गत वर्ष करीब १६ लाख माला मात्रै बिक्री भएको एसोसिएशनका अध्यक्ष मीनबहादुर तामाङले बताए। “कोरोना महामारीअघि तिहारमा २२ लाखसम्म माला खपत हुन्थ्यो, गत वर्ष १६ लाखमा झर्‍यो,” उनले भने।

यो वर्ष सबैभन्दा बढी सयपत्रीका माला बिक्री भएका छन्। एसोसिएशनका अनुसार, सयपत्रीका १८ लाख १५ हजार, मखमलीका तीन लाख पाँच हजार, गोदावरीका १५ हजार माला बिक्री भएका छन्।

 

कोरोना महामारी कम भएसँगै फूलको व्यापार पनि लयमा फर्किन लागेको एसोसिएशनले जनाएको छ। जसले गर्दा व्यवसायी पनि लगानी गर्न उत्साहित भएको फ्लोरिकल्चर एसोसिएशनका सचिव हीरामणि शर्माले बताए। तर, भारतबाट हुने आयातले अप्ठ्यारो परिरहेको उनको भनाइ छ।

एसोसिएशनका अनुसार, भारतबाट फूल आयात हुँदा नेपालमै उत्पादित करीब १५ प्रतिशत माला खेर गएको छ। “आयातीत फूलका कारण नेपाली उत्पादनले बजार नपाउँदा पुष्प व्यवसायी चिन्तामा छन्,” उनले भने।

कोरोना कहर र मौसम प्रतिकूल हुँदा पनि यति धेरै कारोबार भएकोमा भने पुष्प व्यवसायी उत्साहित छन्। यस वर्ष मखमली फूलका एक लाख माला निर्यात पनि भएको छ। त्यसबाट ३० लाखको कारोबार भएको अध्यक्ष तामाङले जानकारी दिए।

अहिले सातै प्रदेशमा व्यावसायिक फूल खेती भइरहेको छ। ३२ जिल्लामा सयपत्री फूलको उत्पादन भइरहेको एसोसिएशनले जनाएको छ। यसलाई अन्य जिल्लामा पनि विस्तार गर्न र आयातीत फूलसँग प्रतिस्पर्धा गर्न सरकारले अनुदान दिनुपर्ने अध्यक्ष तामाङ बताउँछन्।

 

 

 

हिमालखबरबाट साभार गरीएको ।

प्रतिक्रिया दिनुहोस