आज:  २०७८ मंसिर १६, बिहिबार | Thu, 02, Dec, 2021
FLASH NEWS

राष्ट्रिय जनगणना भोलीदेखि शुरू, लिपुलेक-कालापानी क्षेत्रमा पनि जनगणना गरिने

एपी खबर २०७८ कार्तिक २४, बुधबार (३ हप्ता अघि) ८८ पाठक संख्या

राष्ट्रिय जनगणना बिहीबार ( कार्तिक २५ गते ) भोलीदेखि शुरू हुँदैछ । यो पटक लिपुलेक-कालापानी क्षेत्रमा पनि जनगणना गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

केन्द्रीय तथ्यांक विभागले बुधबार पत्रकार सम्मेलन गर्दै यसपालीदेखि लिपुलेक, लिम्पियाधुरा र आसपासमा रहेका नेपाली भूमि र वस्तीहरूमा पनि जनगणना गरिने विभागले जनाएको छ ।

केन्द्रीय तथ्यांक विभागका अनुसार बिहीबारदेखि शुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिने भएका छन् । राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने छ ।

यसका लागि गणकहरु बिहान ९ः३० बजे राष्ट्रपति कार्यालय पुग्ने छन् । त्यसपछि गणकहरु बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाकोमा र दिउँसो १ बजे उपराष्ट्रपति कहाँ पुग्ने भएका छन् ।

उनीहरुले हरेक घर, परिवारसम्म पुगेर कुल ८० वटा प्रश्न हाराहारी सोधिने भएको छ । एक परिवारमा औसतस् एक जना गणकले २० मिनेट लगाउने उनले जानकारी दिए । जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर ८५०० जना सुपरीवेक्षक खटिएका छन् ।

उनीहरुलाइ दिने सबै प्रकारको तालिम पूरा भएको छ । यसपटक जनगणनाका लागि काठमाडौं जिल्लामा ट्याबलेट कम्प्युटरको प्रयोग भएको छ । कुल २२५० वटा ट्यावलेट प्रयोग हुने तथ्यांक विभागले जनाएको छ ।

विभागका अनुसार एक जना गणकले औसतमा १५ दिनमा १७५ परिवारको गणना गर्नुपर्ने छ । जनगणनाको तथ्यांक संकलन १५ दिनभित्रै सक्नुपर्ने छ ।

अहिले संकलन गरिएको तथ्यांक प्रशोधन गरेर नतिजा प्रकाशन गर्न ६ देखि ८ महिना लाग्ने छ । संकलित तथ्यांक मङ्सिर मशान्तसम्म केन्द्रमा आउने र प्रारम्भिक नतिजा ३ महिनाभित्र दिने विभागको तयारी छ ।

 

 

 

नेपालबहसबाट साभार गरीएको ।

प्रतिक्रिया दिनुहोस