आज:  २०७८ मंसिर १६, बिहिबार | Thu, 02, Dec, 2021
FLASH NEWS

यस्तो छ छठ पर्वको महत्व र विधि

एपी खबर २०७८ कार्तिक २४, बुधबार (३ हप्ता अघि) ६७ पाठक संख्या

यमपञ्चकलगतै यतिबेला छठ पर्वको रौनक सुरु भएको छ । नेपालको तराई मधेसमा मात्र नभई मध्यपहाडी जिल्लासहित छिमेकी राष्ट्र भारतका अधिकांश स्थानमा छठ पर्व मनाइँदै छ ।

कात्तिक शुक्ल चतुर्थी सोमबारदेखि सुरु भई पञ्चमी तिथिका दिन खरनासमेत सम्पन्न भइसकेको छ । षष्ठी तिथिका दिन उस्ताउँदो र सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घदान गरी पारणसँगै छठ पर्व सम्पन्न हुनेछ । कृषिमा आधारित मिथिला संस्कृतिको महत्त्वपूर्ण पर्व छठ र यसमा व्रतको धार्मिक महत्त्वमात्र नभई सामाजिक, सांस्कृतिक, आर्थिक र वैज्ञानिक महत्त्व समेत छ । गरिब, धनी, उच्च जाति, तल्लो जाति दलितलगायत सबै वर्ग समुदायले एकै ठाउँमा बसेर भाइचारको सन्देश दिने गरेको ठूलो समाजिक महत्त्व रहेको संस्कृतिविदहरूको भनाइ छ ।

उनीहरूका अनुसार प्रजातन्त्रको असल उदाहरण छठ पर्व नै हो । किनकी यसपर्वमा सबै एक समान हुन्छन् । धनी, गरीब, ब्राम्हण दलित सबै एक ठाउँमा भेला हुने, सबैले आ आफ्नो टाउकोमा अर्घ बोकेर जलाशयको घाटसम्म जाने गर्छन् ।

संस्कृतिविद् डा. राजेन्द्र विमलका अनुसार यो पर्वले समाजमा व्याप्त उच–नीच र छुवाछुतको भेदभाव मेटाउने गरेका कारण यसको ठूलो सामाजिक महत्त्व बोकेको छ । ‘यस पर्वमा जलाशयको एउटै डिलमा गरिब, धनी, ब्राह्मण र दलित वर्ग सबै मिलेर छठ पर्व मनाउँछन् यसमा को ठूला हुन् ? को साना ? देखिँदैन सबै एउटै रंगमा रंगिएका हुन्छन् छठ पर्वको यो नै महत्त्वपूर्ण पक्ष हो,’ उनले भने ।

छठ पर्वमा सामाजिक र सांस्कृतिक महत्त्वका साथै आर्थिक पक्षको स्थान रहेको छ । यो पर्वले कृषि सामग्रीका साथै लोप हुँदै गएको माटो तथा बाँसबाट निर्मित भाँडाकोसमेत बिक्री वितरण बढाउँछ ।

यस पर्वमा उखु, केरा, नारिवल, भोगटे, स्याउ, सुन्तलालगायत फलफूल र प्रसादका रूपमा सख्खर चढाइने भएकाले साधारण अवस्थामा ३, ४ महिना बिक्री हुने सामग्री छठ पर्वको दुई दिनमा नै बिक्ने गरेको जनकपुर फलफूल मण्डीका व्यवसायी लक्ष्मण साहले बताए ।

लोप हुँदै गएको माटो र बाँसबाट निर्मित भाँडो पनि छठ पर्वका अवसरमा उतिकै बढी मात्रामा बिक्छन् । छठ पूजाको प्रसाद सामग्री माटो र बाँस निर्मित भाँडोमै राख्ने परम्परा रहेको हुनाले छठको बेलामा यी सामग्रीको बिक्री बढेको व्यवसायीहरूको भनाइ छ ।

छठ पर्वको परम्परा वैज्ञानिक र ज्योतिष दृष्टिटकोणबाट पनि महत्त्पूर्ण रहेको छ । छठ व्रतमा सूर्य स्नानले चर्मरोग र बाँझोपनबाट उन्मुक्ति पाउने वैधानिक कारण रहेको छ । डा. विमल भन्छन् बिहान र साँझ पखको स्नानको क्रममा सूर्यबाट पर्ने परावैगनी किरणले गर्दा चर्मरोगबाट निको हुने भन्ने कुरा चिकित्सकहरूले पुष्टि गरिसकेका छन् ।

छठ पर्वको पूजाको विधान

छत्तीस घण्टाको उपवासमा मनाइने छठ पर्वको महत्त्व कात्तिक शुक्ल षष्ठी र सप्तमी तिथि दुई दिनमात्र भए पनि यो पर्व चार दिनसम्म मनाउने गरिन्छ । पहिलो दिन नहाय खाय र अरबा अरबाइन गरिन्छ । यस दिन व्रतालुहरूले आ आफ्नो घर आँगन गाइको गोबरले लिपपोत गरी शुद्ध पार्छन् । त्यसपछि, स्नान गरी अरुवा अरुवाइन खाने गर्छन् । यसलाई ‘नहाय खाय’ भनिन्छ ।

दोश्रो दिन पञ्चमी तिथिका दिन ‘खरना’ गरिन्छ । सो दिन बर्तालु दिनभर निराहार उपवासमा बसेर बेलुकी नयाँ माटोको चुल्होमा खीर पकाउने गर्छन् । घर–घरमा देवीदेवताको पूजापाठको क्रममा सो खीर प्रसादको रूपमा चढाइन्छ । परिवारका सदस्यलाई प्रसादको रूपमा वितरण गरेपछि वर्तालुले पनि सो खीर प्रसादको रूपमा ग्रहण गरेर पुनः उपवासलाई निरन्तरता दिइने गरिन्छ ।

तेश्रो दिन षष्ठी तिथिका दिन अस्ताउँदो सूर्य र सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई कृषिमा आधारित पूजा सामग्रीले व्रतालुहरूले पोखरी, नदी र तलाउसहितका जलाशयको डिलमा अर्घ दिन्छन् । यस दिन छठमा चढाइने सम्पूर्ण सामग्री जलाशयको डिलमा राखिन्छ । जलाशयसम्म घरबाट प्रसाद लैजाँदा बाँसको टोकरीमा टाउकोमा राखेर जानुपर्ने परम्परा छ ।

यो पर्वमा पुरुषले पनि पूजा गर्छन् तर विशेष गरी अर्घ दिने व्रतालु महिलाहरू नै हुन्छन् । भाकल भएकाहरूले पनि व्रतालुजस्तै ३६ घण्टाको उपवाससहित सबै प्रक्रिया पुरा गरी हातमा नारिवल वा फलफूल लिई पानीमा अर्घदान हुञ्जलेसम्म उभ्ने गर्छन् । अर्घ दिन व्रतालु महिलाले पनि जलाशयमा सूर्य अस्त हुनु एक, डेढ घण्टा अगावैदेखि हातमा फलफूल लिई उभ्ने गर्छन् । जलाशयमा उभिनुअघि हातमा चामलको पिसिएको लेप (पिठार), सिन्दुर लगाई पान र सुपारी लिई सूर्यतर्फ हेर्दै उभिनुपर्छ । सूर्य अस्त हुन लाग्दा अर्घदानमात्रै गरिन्छ ।

षष्ठी र सप्तमी तिथिका दिन पानीमा उभ्नु र अर्घदानअघि व्रतालुहरूले यी मन्त्रको उच्चारण गरी संकल्प लिने गर्छन् । छठ मनाइने जलाशयको डिलमा षष्ठी देवीको कथासमेत व्रतालु महिलाले सुन्नुपर्छ । षष्ठी र सप्तमी दुवै तिथिका दिन व्रतालु महिला र पुरुषले कथा सुन्ने गर्छन् । सप्तमी तिथिका दिन कथा सुन्ने र पारण गरेसँगै पर्वको समापन गरिन्छ ।

कृषिमा आधारित पर्व

कात्तिक महिनामा हुने यस पर्वलाई कृषिमा आधारित पर्वका रूपमा लिइन्छ । किसानको आफ्नै खेतबारीमा पाइने भण्टा, मुलासहितको बोट, हल्दीसहितको बोट, उखु, केरा, अलुवा, जुटा, नरिवल, सुथनी, फलपूmल, पान र सुपारीका साथै नयाँ बाँसको टोकरी, पंखा, माटोको भाँडो, माटोको कलात्मक हात्तीलाई पूजा सामग्रीको रूपमा अर्घमा राखेर छठी मातालाई चढाइन्छ ।

विभिन्न प्रकारका मिठाइ प्रसाद चढाइए पनि गहुँ पिठोले बनेको ठेकुवा र चामल पिठोले भुसुवा (लड्डु) बढी महत्त्वपूर्ण हुन्छ । यो पर्व ठेकुवा भुसुवा प्रसाद सामग्रीले प्रचलित छन् । डुमले बनाएका बाँसका सामान, कुमालले बनाएका माटोका सामग्री र कृषकले उत्पादन गरेका कृषिका सामग्री यो पूजामा राखिने गरिएको साहित्यकार नित्यानन्द मण्डल बताउँछन् । विभिन्न समुदायका मानिसहरू जलाशयको डिलमा सौहार्दपूर्ण वातावरणमा यो पर्व मनाउने भएकाले यस पर्वलाई विभेदरहित, समावेशी एवम् साझा पर्वको रूपमा लिने गरिएको छ ।

 

 

ईकागजबाट साभार गरीएको ।

प्रतिक्रिया दिनुहोस