आज:  २०७९ जेष्ठ ३, मंगलबार | Tue, 17, May, 2022
FLASH NEWS

जीतपुरसिमरामा आफ्नो अस्तित्व गुमाएर माओवादीलाई उकास्दै कांग्रेस

एपी खबर २०७९ बैशाख २५, आईतबार (१ हप्ता अघि) ३९८ पाठक संख्या

स्थानीय तह निर्वाचन २०७४ मा नेपाली कांग्रेसका नगर प्रमुख र उपप्रमुख पदका उम्मेदवारले पाएको मतपरिणाम हेर्ने हो भने जीतपुरसिमरा उपमहानगरपालिकामा कांग्रेस दोस्रो ठुलो शक्ति हो ।
नेकपा एमालेका उम्मेदवारले उक्त निर्वाचनमा प्रमुख र उपप्रमुख दुवै पद जित्दा कांग्रेसका उम्मेदवार दोस्रो भएका थिए भने नेकपा माओवादी केन्द्र फराकिलो मतान्तरले तेस्रो भएको थियो । दोस्रो ठुलो शक्तिका रुपमा स्थापित हुदाँ उपमहानगरपालिकामा कांग्रेस प्रतिस्पर्धी देखियो ।

 

२०७४ को मतपरिणामअनुसार एमालेले प्रमुख पदमा १४ हजार आठ सय ६४, कांग्रेसले ११ हजार नौ सय ९५ र माओवादीले ११ हजार दुई सय ५१ मत पाएका थिए । उक्त निर्वाचन सम्पन्न भएको करिब पाँच वर्षपछि आएको स्थानीय तह निर्वाचन २०७९ मा पुनः एमाले र कांग्रेसबीच तिव्र प्रतिस्पर्धा हुने अपेक्षा गरिएको थियो । तर सत्तागठबन्धनले गरेको निर्णयका कारण कांग्रेसले यो पटक जीतपुरसिमरामा नगर प्रमुख पदमा प्रतिस्पर्धा नै गर्न पाएन् । गठबन्धन भए प्रमुख पद आफूले पाउनुपर्ने दावीसहित केन्द्रीय कार्यालयमा खबरदारी गरेको कांग्रेससंग अन्ततः माओवादीको नेतृत्वमा चुनावी मैदानमा होमिनुको विकल्प रहेन् ।

 

त्यसो त नगर समितिका पदाधिकारीले गठबन्धननै नस्विकार्ने समेत निर्णय गरेका थिए । तर केन्द्रबाट मात्रै आधिकारिक टिकट प्राप्त हुने भएपछि कांग्रेस प्रमुख पदमा उम्मेदवारी दिनबाट बञ्चित हुन पुग्यो । उपप्रमुख पदमा मेघा शाहीलाई चुनावी मैदानमा उतारेको कांग्रेस अहिले आफ्नो उम्मेदवार जिताउने मात्र नभई माओवादी केन्द्रलाई उपमहानगरपालिकामा पहिलो शक्ति बनाउन अग्रसर देखिएको छ । गठबन्धनका कारण नगर प्रमुख पदमा माओवादी केन्द्रका उम्मेदवार राजन पौडेलको चुनावी प्रचारमा व्यस्त रहेको कांग्रेस वडातहमा भने माओवादीसंगै प्रतिस्पर्धामा छ ।

 

उपमहानगरपालिकाको अधिकांश वडामा माओवादी र कांग्रेस एकआपसका प्रतिस्पर्धी छन् । केन्द्रबाटै प्रमुख पद पाएपछि वडातह मिलाउन नचाहेको माओवादीले कांग्रेसलाई वडातहमा भने प्रतिस्पर्धी बनायो । कांग्रेसलाई हराएर वडातहमा आफ्नो उम्मेदवारलाई जिताउन अग्रसर देखिएको माओवादी नगर प्रमुख पदमा भने त्यही कांग्रेस कार्यकर्ताको मत लिएर जित्ने दाउमा छ ।

 

केन्द्रबाट भागबण्डा भएसंगै कांग्रेसलाई वडातहमा मिलाउन छाडेर नगरको पाँच दलीय बैठकमा आफै १३ वटा वडा माओवादीले दावी गरेपछि कांग्रेससहित अन्य तीन दल जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चा असन्तुष्ट भएका थिए । प्रमुख पद दावी गर्दै आएको कांग्रेसलाई उपप्रमुखमा खुम्चाउदै प्रमुख पदको टिकट उम्काउन सफल माओवादीले अन्तिम समयमा रणनितिक रुपमा कांग्रेसलाई समेत पाखा लगाएको हो ।

 

अघिल्लो स्थानीय तहमा उपप्रमुख पदमा पनि आकर्षक मत प्राप्त गरेको कांग्रेसले यसपटक प्रमुख पदको मुख्य दावेदारका रुपमा आफूलाई उभ्याएको थियो । तर केन्द्रीय निर्णयका कारण आफ्नो अस्तित्व गुमाएर माओवादीलाई उकास्न तत्पर देखिएकोे कांग्रेस अब मतका आधारमा उपमहानगरपालिकामा चौथो शक्ति हुने देखिएको छ ।

 

बैशाख ३० गते हुने निर्वाचनमा नेकपा एमाले गठबन्धनको मुख्य प्रतिस्पर्धाी देखिएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी अर्को शक्तिको रुपमा अगाडी आएको छ । एमालेबाट सरस्वती देवी चौधरी उम्मेदवार छिन् भने लोसपाबाट संजय साह प्रमुख पदका उम्मेदवार छन् । चौधरी निवर्तमान उपप्रमुख र साह जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष हुन् ।

 

उपमहानगरको नेतृत्व लिनका लागि एमाले, माओवादी र लोसपाबीच त्रिपक्षीय प्रतिस्पर्धामा चलिरहदा कांग्रेस माओवादीलाई जिताउने सहयोगीको भूमिकामा देखिएको छ । माओवादी जिताउने अभियानमा सक्रिय कांग्रेस स्थानीय तह निर्वाचनपछि उपमहानगरपालिकाभित्र निकै कमजोर हुने आकलन गर्न थालिएको छ ।

 

प्रतिक्रिया दिनुहोस