सिमरा- बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख राजन पौडेलले न्याय सम्पादनको काम हुने न्यायिक ईजलास कक्ष भत्काएर आफ्नो कार्यकक्ष बनाएका छन् । उपमहानगरपालिकाको दोस्रो तल्लामा रहेको न्यायिक समितिको ईजलास कक्ष भत्काएर पौडेलले आफ्नो कार्यकक्ष बनाएका हुन् ।
उपमहानगरपालिकामा रहेको नगर प्रमुखको कार्यकक्ष हुदाहुदै पौडेलले उक्त कक्षमा नबसेर ईजलास कक्ष हटाउदै उक्त कोठालाई आफ्नो कार्यकक्ष बनाएका हुन् । ईजलास भत्काएर तयार गरिएको कार्यकक्षमा सोमबार विहान पौडेलले पदभार ग्रहण गरेका थिए ।नगर प्रमुख पौडेलले न्यायिक कक्षलाई आफ्नो कार्यकक्ष बनाएपछि ईजलासका फर्निचर चौथो तल्लामा रहेको सभाहलमा अलपत्र अवस्थामा राखिएको छ ।
नगर प्रमुख पौडेलले ईजलास हटाउने विषयमा सामान्य छलफल समेत नगरेको नवनिर्वाचित उपप्रमुख अधिकारीले बताएका छन् ।
यता नगर प्रमुख पौडेलले भने निवर्तमान नगर प्रमुखको कोठामा घाम लाग्ने भएको कारण ईजलास कक्षलाई आफूले रोजेको प्रतिक्रिया दिएका छन् । नवनिर्वाचित नगर प्रमुख पौडेलले घाम लाग्छ भनेको उक्त कोठामा निवर्तमान नगर प्रमुख डा. कृष्ण पौडेलले पहिलो कार्यकाल विताएका थिए ।
प्रतिक्रिया दिनुहोस