भाद्र , १९ : खाद्य संस्थानले उत्तरी गोरखाको सिर्दीवास डिपोमा यस वर्ष चामलको कोटा बढाएको छ । अघिल्लो वर्ष दुई हजार क्विटल चालम पठाएकोमा निर्धारित समयअघि नै सकिएपछि यस वर्ष दुई सय क्विन्टल थपेको हो ।नेपाल खाद्य संस्थान गोरखाका अनुसार आर्थिक वर्ष ०७५/७६ मा सिर्दीवास डिपोमा दुई हजार क्विन्टल चामल पठाइएको थियो भने चालू आर्थिक वर्षमा दुई सय क्विटल थप गरिएको हो । संस्थानका गोरखा शाखा प्रमुख नवीन बस्नेतका अनुसार सडक सञ्जालले जोडिएको माछाखोला डिपोमा भने यस वर्ष सात सय क्विन्टल चामल घटाइएको छ ।
बजारमा चामल सहज उपलब्ध हुन थालेपछि संस्थानको चामल बिक्री कम हुने ठनेर कोटा घटाएको बस्नेतले बताए । माछाखोलाका लागि संस्थानले गत आव ०७५/७६ मा २५ सय क्विन्टल चाल पठाएको थियो । चालू आर्थिक वर्ष ०७६/७७ भने मा १८ सय क्विटल मात्र तोकेको छ ।यस्तै, सिर्दीवास डिपोमा एक हजार ४८ क्विन्टल र माछाखोलामा डिपोमा ९ सय ८८ क्विन्टल चामल स्टक रहेको उनले बताए । संस्थानले ढुवानी गरेको सोना मन्सुली चामल सिर्दीवास डिपोबाट प्रतिकेजी ५० र माछाखोला डिपोबाट ४७ रुपैयाँमा बिक्री गर्दै आएको कार्यालयले जनाएको छ ।
संस्थानको चामल हिउँदमा भन्दा वर्षामा बढी बिक्री हुन्छ । दुवै डिपोमा एक–एकजना कर्मचारी राखेर डिपोले चामल बिक्री गर्दै आएको छ । चालू आवमा चामल ढुवानीमा लागि ठेक्का आह्वान भइरहेको कार्यालयले जनाएको छ । केन्द्रबाट ठेक्का सम्झौता स्वीकृत भएर आएसँगै ढुवानीको प्रक्रिया अगाडि बढ्ने उनले बताए ।उत्तरी गोरखाका स्थानीयलाई सहुलियत दरमा चामल उपलब्ध गराउने उद्देश्यसाथ खाद्य संस्थानले ०३१ सालदेखि गोरखाको धार्चे गाउँपालिकाको माछाखोला र चुमनुब्री गाउँपालिकाको सिर्दीवास डिपोमा खाद्यान्न ढुवानी गर्दै आएको छ ।
नयापत्रिका ;
प्रतिक्रिया दिनुहोस