भाद्र , २१ : एपेन्डिसाइटिसको समयमा अपरेशन भएन भने बिरामीको मृत्युसम्म हुन सक्ने सम्भावना हुन्छ । साथै मुटु, मिर्गौलालगायतका रोगको समस्या भएका बिरामीको हकमा यो रोग निकै जटिल मानिन्छ ।चिकित्सकहरुका अनुसार यस्तो बिरामीको अपरेशन गर्न मिल्दैन । यस्तो बिरामीलाई एपेन्डिसाइटिसको समस्या भएको अवस्थामा केही कुरामा ध्यान दिने हो भने पनि अन्य थप समस्याबाट पनि जोगिन सकिन्छ ।एपेन्डिसाइटिस भनेको के हो ? यसको लक्षण, उपचार विधि र बच्ने उपाय लगायतका विषयमा सर्जन डा. अनिरा वैद्यले जानकारी गराएकी छिन् । १२ वर्षदेखि वीर अस्पतालमा कार्यरत उनले सर्जन विषयमा एमबीबीएस. एसएमएस र पीएचडी गरेकी छिन् ।
एपेन्डिसाइटिस कस्तो रोग हो ?
एपेन्डिक्स भनेको एउटा अग्र्यान हो । त्यो अग्र्यान बिनानै मान्छे बाँच्न सक्छ । एपेन्डिक्स ठूलो आन्द्रा र सानो आन्द्राको बीचमा ४ इन्च जति लामो हुन्छ । त्यो कुनै कारणबस पाक्न गयो, कुनै कुरा अड्कियो भने पनि एपेन्डिक्सबाट एपेन्डिसाइटिस हुन्छ ।
मानव शरीरमा एपेन्डिक्सको मुख्य काम के हो ?
मानव शरीरमा भएको कुनै पनि अङ्ग एक्स्ट्रा (अतिरिक्त) हुँदैन । विभिन्न अध्ययन र अनुसन्धानले पनि मानव अङ्ग मध्ये एपेन्डिक्सले पनि काम गर्छ भन्ने कुराहरु गरिँदै आएको छ । शरीरमा लाग्ने रोगसँग लड्नको लागि एपेन्डिक्सले काम गर्छ ।कतिपय अनुसन्धान रिर्पाेटहरुमा एपेन्डिक्सले मानिसको इम्युन सिस्टम (प्रतिरक्षा प्रणाली) लाई बलियो बनाउन मद्यत गर्छ भन्ने कुरा उल्लेख भएको पढ्न पाइन्छ । वास्तविकता के हो ?टन्सील र एपेन्डिक्स भन्ने अग्र्यान प्रतिरोधात्मक क्षमता भएको अङ्ग हो । एपेन्डिक्सले बाहिरबाट लाग्न सक्ने विभिन्न रोगहरुलाई लाग्न नदिने र आन्द्रामा आउने ब्याक्टेरियल समस्या लाग्नबाट जोगाउने अर्थात प्रतिरक्षा प्रणालीको काम गर्छ ।
मानव शरीरमा देखिने एपेन्डिसाइटिसको समस्या जसलाई पनि, जतिखेर पनि र जहाँ पनि हुन सक्ने समस्या हो । एपेन्डिसाइटिस हुनुको खास कारण अहिलेसम्म पनि पत्ता लगाउन सकिएको छैन । तर पनि एपेन्डिक्स भएको ठाउँमा जस्तैः दिसा गएर अड्कियो भने वा रगत संचार कम हुँदा एपेन्डिक्स सुन्निन थाल्छ । सुन्निएपछि एपेन्डिसाइटिसको समस्या आउने हो । यस्तै कुनै खानेकुरामा बियाँहरु पनि एपेन्डिक्समा गएर अड्कियो भने वा सोही ठाउँमा मासुहरु पलायो भने पनि एपेन्डिसाइटिस हुन सक्छ ।एपेन्डिसाइटिस उमेरको आधारमा हुँदैन । बालबालिकादेखि बृद्धबृद्धालाई पनि एपेन्डिसाइटिस भएको पाइन्छ । विभिन्न अनुसन्धानले देखाएको कुरा पनि यहि हो ।
एपेन्डिसाइटिस भएको कसरी थाहा पाउने ? यसका लक्षणहरु के–के हुन्छन् ?
एपेन्डिसाइटिसको पहिलो लक्षण भनेको पेट दुखाइ नै हो । माथिल्लो पेट अथवा नाइटो (नाभी) को वरिपरि दुख्न थाल्छ । विस्तारै यसको दुखाइ बढ्दै जान्छ । यो दुखाईको प्रक्रिया सर्दासर्दै तल्लो पेटको दाहिने भागसम्म हुन्छ । दुखाइ जहाँ पनि हुन सक्छ तर सर्दासर्दै नाईटोतिर आउने र पेटको दाहिने भागबाट तल्लो पेटमा धेरै दुख्न थाल्यो भने एपेन्डिसाइटिस भएको होकि भनेर अनुमान लगाउन सकिन्छ । त्यो बाहेक वाक—वाक लाग्ने, खान मन नलाग्ने, बान्ता हुने, ज्वरो आउाने जस्ता लक्षण देखियो भने पनि एपेन्डिसाइटिस होकि भन्ने अनुमान लगाउन सकिन्छ । एपेन्डिसाइटिस एक्कासी आउने समस्या भएको हुँदा मुख्य लक्षणहरु यही हुन् ।
नेपालमा अझैसम्म पनि सबै स्वास्थ्य सेवा नागरिकसमक्ष पुग्न सकेको छैन । यसलाई दूर्भाग्य मान्नु पर्छ । नेपालमा यति धेरै सर्जनहरु छन् र पनि सेवा नपुग्दा नमज्जा लाग्छ । सबै नेपाली नागरिकमा स्वास्थ्य समस्या देखिएको खण्डमा तत्काल काठमाडौँ आउन सक्ने र ठूला—ठूला सहर जान सक्ने अवस्था पनि छैन । त्यो कारणले गर्दा स्वास्थ्य उपचारको भयावहको अवस्थानै छ भन्नु पर्छ ।
एपेन्डिसाइटिस भएपछि के गर्ने भन्दा पनि अपरेशन नै हो । यदि तपाईँको पेट दुख्यो तर पेट दुख्नुको पनि धेरै कारणहरु हुन्छन् । पेट दुखेको खण्डमा केही पनि नखानुस । खाना, पानी, कुनै पनि एन्टिबायोटिक र दुखेको ठाउँमा सेकाउने कामहरु पनि नगर्नुस् । यस्तो नगरेको खण्डमा कतिपय एपेन्डिसाइटिस आफै पनि निको भएको अवस्था छ र निको हुन सक्छ । यदि निरन्तर पेट दुखिराखेको छ भने अनिवार्य रुपमा चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ ।
अपरेशननै नगरे पनि सुईबाट औषधि लगाएर केही समय निको गर्न सक्ने अवस्थामा पु¥याउन पनि सक्छौँ । तर मैले भनेको लक्षण अनुसार पेट दुख्न थालेको छ भने जथाभावि औषधि नखाने, खाना पानी नखाने र दुखेको ठाउँमा सेक्ने काम नगर्दा एपेन्डिसाइटिस भएपछि आउने जोखिम कम गर्न सकिन्छ ।
एपेन्डिसाइटिस हुन नदिने के गर्न सकिन्छ र एक पटकको शल्यक्रिया पछि फेरि यो समस्या दोहोरिन्छ कि दोहोरिँदैन ?
एपेन्डिसाइटिस हुन नदिनको लागि अहिलेसम्म त्यस्तो कुनै पनि अध्ययन अनुसन्धान भएको छैन । तर एक पटक एपेन्डिसाइटिसको अपरेशन गरे पछि फेरि दोहोरिने समस्या भने हुँदैन । मानव शरीरमा अन्य अग्र्यानहरु पलाउने सम्भावना हुन्छ तर एपेन्डिक्स चाहिँ पलाउँदैन । समस्या आउनु भन्दा पहिलानै एपेन्डिक्स निकाल्ने भन्ने चलन चाहिँ ३० वर्ष पहिला यूरोपतिर थियो । तर रोगसँग लड्ने क्षमता एपेन्डिक्समा भएको हुँदा अहिले फाल्नु हुँर्दैन भन्ने वहसले गर्दा अहिले फाल्ने चलन छैन । अहिलेसम्म समस्या आउनु भन्दा पहिलानै फाल्न मिल्ने भन्ने कुरा चाहिँ भएको छैन ।
रातोपाटि ;
प्रतिक्रिया दिनुहोस