भाद्र , २४ : अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानमा १८ वर्षदेखि जारी युद्ध समाप्त गर्ने उद्देश्यसहित तालिबानसँग जुन कुराकानी भइरहेको थियो त्यो ‘मरिसकेको’ बताएका छन् ।ट्रम्पले ह्वाइट हाउसमा पत्रकारसँग भने, ‘जहाँसम्म मेरो कुरा छ, त्यो कुराकानी मरिसकेको छ ।’अमेरिकी राष्ट्रपतिले आइतबार क्याम्प डेभिडमा तालिबानका एक प्रतिनिधिमण्डलसँग कुरा गर्ने कार्यक्रम थियो तर त्यसको एक दिन अघि ट्रम्पले बैठक रद्द गरे ।दुबै पक्ष एक सम्झौताको निकै नजिक पुगिसकेका थिए ।तालिबानले अफगान शान्ति वार्ताबाट पछि हट्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको आलोचना गर्दै यसले अमेरिकालाई नै हानी गर्ने बताएका थिए ।
अमेरिकी राष्ट्रपतिले अफगानिस्तानबाट अमेरिकी फौज फिर्तालाई आफ्नो विदेश नीतिलाई एउटा महत्वपूर्ण लक्ष्य बनाएको छ तर त्यहाँ भएका १४ हजार अमेरिकी सैनिकबारे सोध्दा उनले भने, ‘हामी त्यहाँबाट निस्कन चाहन्छौं तर हामी सही समयमा त्यहाँबाट बाहिर निस्कनेछौं ।’अफगानिस्तान सरकारले कुराकानी समाप्त गर्ने अमेरिकाको निर्णयको स्वागत गदै यसलाई सही समयमा उठाएको सही कदम बताएको छ ।
याे पनि:
अमेरिकी सैनिकसहित १२ जनाको हत्यापछि ट्रम्पले तालिबानसँगको सम्झौता भंग गरे
के अफगानिस्तानको १८ वर्ष पुरानो युद्ध समाप्त होला ?
के भने ट्रम्पले ?ट्रम्पले अन्तिम पलमा भेटघाट रद्द गर्ने गर्नुको पछाडि काबुलमा भएको बम बिस्फोटलाई जिम्मेवार बताएका थिए जसमा एक अमेरिकी सैनिकसमेत १२ जनाको मृत्यु भएको थियो । तालिबानले यो हमलाको जिम्मेवारी लिएको थियो ।
पत्रकारसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले भने, ‘उनीहरुलाई लाग्यो कि हत्या गरेपछि उनीहरु कुराकानीको क्रमम उत्कृष्ट सम्झौता गर्ने स्थितीमा हुनेछन्… तर यो एउटा ठूलो गल्ती थियो ।’ट्रम्पले थपे, ‘हाम्रो भेट निश्चित थियो । यो मेरो निर्णय थियो र त्यसलाई समाप्त गर्ने पनि मेरै निर्णय हो । मैले अरु कोहीसँग यसबारे छलफल गरेको छैन ।’‘मैले क्याम्प डेविड वार्ता रद्द गरेँ किनभने उनीहरुले यस्तो काम गरे जुन उनीहरु गर्नै हुँदैनथ्यो ।’
रातोपाटी ;
प्रतिक्रिया दिनुहोस