बारा : प्रदेश २ सरकारले कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नभएका जिल्लामा ती कार्यालयहरु स्थापना गर्ने भएको छ ।
भुमि ब्यवस्था ,कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले सिरहा र महोतरी जिल्लामा कृषि ज्ञान केन्द्र तथा बारा र सप्तरीमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संचालनमा ल्याउने निर्णय गर्नु भएको हो । मंगलबार भएको उक्त निर्णय बारेको जानकारी बुधबार मात्रै मन्त्री साहले सामाजीक संजाल फेसबुकबाट गराउनु भएको छ ।
यससँगै अब प्रदेश नं. २ का ८ वटै जिल्लामा कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संचालनमा आउने भएका हुन् । त्यस्तै जिल्लागत रुपमा सहकारी कार्यालयहरु समेत छिटै स्थापना गरी संचालनमा ल्याईने मन्त्री साहले जानकारी दिनु भएको छ ।
नेपालको संविधान २०७२ जारी भई कार्यान्वयका क्रममा राज्य पुर्नसंरचना हुँदा तत्कालिन कृषि विकास कार्यालय, भेटनरी अस्पताल , डिभिजन सहकारी कार्यालय लगायतका दर्जनौं सरकारी कार्यालयहरु खारेजीमा परेका थिए ।
किसानको प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालय नहुँदा समस्या हुँदै आएको थियो । खारेजीमा परेका कार्यालयको सेवा स्थानिय तहहरुबाट प्रादान हुँदै आएपनी प्रभावकारी नभएको र छुट्टै कार्यालयको माग सहित जनगुनासो बढि रहेको थियो ।
नयाँ स्थापना हुने कार्यालयहरु खारेजीमा परेका साविकका कृषि विकास कार्यालय तथा जिल्ला पशु सेवा कार्यालय भवनमा संचालन हुने जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस