आज:  २०८१ चैत्र ४, मंगलबार | Tue, 18, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

१८ वर्षको विदेश बसाइपछि गाउँमै बाख्रापालन, वार्षिक १० लाख आम्दानी

एपी खबर २०८० अषाढ २३, शनिबार ( १ साल अघि) १५५ पाठक संख्या

करिब दुई दशक विदेशमा पसिना बगाएका मंगला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले बाख्रापालन गरेर वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्न थालेका छन्।

 

नौ वर्ष यूएई, छ वर्ष कुवेत र तीन वर्ष मलेसियामा गरी १८ वर्ष वैदेशिक रोजगारीमा बिताएका बुढाथोकीले पाँच वर्षअघि गाउँ फर्केर बाख्रापालन शुरु गरेका थिए। शुरुमा उनले १७ वटा स्थानीय र चार अष्ट्रेलियाली उन्नत जातको बोयर बाख्राबाट व्यवसाय सञ्चालन गरे । उनले अहिले ७० ओटा उन्नत जातका बोयर र स्थानीय जातका गरी १२० वटा बाख्रा पालेका छन् ।

 

तीन वर्षयता बाख्रा र बोका बिक्री गरेर वार्षिक १० लाख कमाइ गर्दै आएको उनले बताए। ‘विदेशबाट फर्किएपछि करिब ६ लाखको लगानीमा बुढाथोकी कृषि तथा पशुपन्छी फार्म सुरू गरेँ’ उनले भने, ‘पहिलो वर्ष विषालु घाँस खाएर खोर रित्तिए पनि बाख्रापालनलाई निरन्तरता दिएपछि समुदायले समेत विश्वास गरे र अहिले सफल भएँ ।’

 

बाख्रापालन मात्रै होइन बुढाथोकीले अहिले टनेलमा व्यावसायिक तरकारी खेती गरेका छन्। यस्तै सुन्तलाका ३०० बिरुवासमेत लगाएका छन्। बाख्रापालन र तरकारी खेतीबाट वार्षिक १५ लाख आम्दानी गर्ने लक्ष्यसहित योजना बनाएको बताए ।

 

‘विदेशका धेरै वर्ष बिताएँ। त्यहाँ सिकेको सीप र जागँरलाई गाउँमै प्रयोग गर्ने उद्देश्यले गाउँमा फर्किएर गरेको बाख्रापालन व्यवसाय र कृषि उद्यमले खुशी छु’ ४८ वर्षीय बुढाथोकीले भने ‘मेरै बाटो पछ्याएर गाउँका सबैले बाख्रापालन गरेका छन्। तरकारी खेती र बाख्रापालनले गाउँको परिचय फेरिएको छ।’

 

बुढाथोकीले मात्रै होइन २६ घर रहेको खानी गाउँमा १७ जनाले व्यवासायिक रूपमा र नौ जनाले रहरले बाख्रा पालन गरेपछि गाउँको नाम नै खानी गाउँबाट ‘बाख्रा गाउँ’मा परिवर्तन भएको छ। खानीगाउँमा दुईचार वटा बाख्रा रहेका हरेक घरमा समेत अहिले बाख्राको व्यवस्थित खोर छ। बुढाथोकीको सिको गरी गाउँका सबैले बाख्रा पालन गरेपछि गुप्तेश्वर कृषक समूह नै गठन गरेर समुदाय नै बाख्रापालन व्यवसायमा लागेको छ।

 

 

‘बुढाथोकी दाइबाट प्रेरणा पाएर समुदायले नै बाख्रापालन सुरू गरेका छौँ। चरनको समस्या छैन। बाख्रा पालेर पैसा कमाउनुपर्छ भन्ने ज्ञान सबैमा छ’ स्थानीय कृषक राजन राम्जालीले भने। उनले बुढाथोकीको प्रेरणाबाट सिंगो गाउँ व्यावसायिक बाख्रापालनमा लागेको बताए। विदेशबाट फर्किएका युवाको सक्रियतामा अनुदान सहितका कार्यक्रममा समेत सिंगो गाउँमा वितरण गर्ने, समुह बनाएर सीप हस्तान्तरण सहितका रचनात्मक कार्यबाट खानीगाउँमा बाख्रापालन, तरकारी खेती तथा मौरीपालन समेत गरिएको उनले जानकारी दिए।

 

आफूले सिकेको सीप समुदायमा हस्तान्तरण गर्दा गाउँमा छिटो परिवर्तन आउने अनुभव पाएको बुढाथोकी बताउँछन्। खोरमा दाना खुवाउन, पाठापाठी, बोका राख्न र सुत्केरी माउ राख्न छुट्टाछुट्टै ठाउँ बनाइएकाले समेत सहज भएको उनको भनाइ छ। ‘बाख्रापालनमा खानीगाउँलाई नमुना गाउँ बनाउने योजना छ,’ उनले भने ‘अब हामीले बाख्रा अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने तयारी भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस