काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली पूर्णरुपमा कार्यान्वयनमा ल्याएको छ । आज बसेको निगम सञ्चालक समितिको बैठकले आजै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।
निगमले हाल तिर्नुपर्ने ऋण तथा अन्य दायित्व बापतको रकम भुक्तानी गर्न तथा निगमको पूर्वाधार विकास, डिपो तथा अग्नि सुरक्षा संरचनाको मर्मत, आधुनिकीकरण लगायतका अत्यावश्यक कार्यहरूका लागि आवश्यक पर्ने पुँजी सङ्कलनका लागि लागत मूल्यको आधारमा डिजेलमा २ प्रतिशत, पेट्रोलमा २.५ प्रतिशत मात्र नाफा राख्ने जनाएको छ ।
आम उपभोक्ता र विशेष गरी गृहिणीहरूको हितलाई ध्यानमा राखि खाना पकाउने एलपी ग्यासमा निगमले कनै मुनाफा नलिई लागत मूल्य बमोजिम नै खुद्रा मूल्य राख्ने जनाएको छ ।जसबाट पेट्रोलियम पदार्थका आम उपभोक्ताहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने निगमको विश्वास छ । हवाई इन्धनको हकमा भने मूल्य समायोजन गर्ने अधिकार निगम संचालक समितिमा रहने निगमले स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस