आज:  २०८१ चैत्र ३, सोमबार | Mon, 17, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

शेयर बजार ६ प्रतिशतले बढ्यो, कारोबार बन्द

एपी खबर २०८० मंसिर २४, आईतबार ( १ साल अघि) १६९ पाठक संख्या

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आइतबारको कारोबार बन्द भएको छ। परिसूचक १११.२० अंकले बढेर एक हजार ९६३.९८ कायम भएको नेप्सेले जनाएको छ। बिहान ११: ०५ मा नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धि अर्थात् पहिलो सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि कारोबार रोकिएको थियो। ११. २५ मा कारोबार खुलेको दुई मिनेटमै दोस्रोपटक सकारात्मक सर्किट लागेको थियो।

 

परिसूचकमा पाँच प्रतिशतको वृद्धि देखिएपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो। त्यस्तै, नेप्से परिसूचकमा १२. ०७ मिनेटमा छ प्रतिशतको वृद्धि अर्थात् तेस्रोपटक सकारात्मक सर्किट लागेपछि दिनभरिको कारोबार स्थगित गरिएको हो।हाल कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’सम्बन्धी व्यवस्थाअनुसार कारोबार शुरू भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ।

 

त्यस्तै, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगन हुने व्यवस्था छ। सो व्यवस्थाअनुसार आजको कारोबारमा छ प्रतिशतको वृद्धि देखिएसँगै दिनभरिका लागि कारोबार स्थगन गरिएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए। आइतबार २४४ कम्पनीको १३ लाख ६७ हजार ६१५ कित्ता शेयर सात हजार १४ पटक खरिदबिक्री हुँदा ४८ करोड २४ लाख ८२ हजार २३९ बराबरको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस