आज:  २०८१ पौष २६, शुक्रबार | Fri, 10, Jan, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

पाँचपटक म्याद थप्दा पनि बागलुङ–पूर्वी रुकुम सडक अलपत्र

एपी खबर २०८१ कार्तिक २४, शनिबार ( २ महिना अघि) ७२ पाठक संख्या

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–पूर्वी रुकुम सडक खण्ड अहिलेसम्म सम्पन्न भएको छैन ।

निर्माण कम्पनीले लामो समयदेखि काम नगर्दा बागलुङको निसीखोला गाउँपालिका–६ पातीहाल्ने सिमानादेखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१ रुपगासम्मको १३ किलोमिटर सडक निर्माण सम्पन्न हुन नसकेको हो ।

२०७३ जेठमा उक्त सडक कालोपत्र गर्न सम्झौता भएको थियो । अहिलेसम्म ७० प्रतिशत मात्रै काम सकिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय दैलेखका इन्जिनियर नवीन खरालले जानकारी दिए । सम्झौताअनुसार २०७६ जेठसम्म काम सम्पन्न गर्नुपर्ने थियो ।

 

इन्जिनियर खरालका अनुसार निर्माण कम्पनीको हालसम्म पाँचपटक म्याद थप गरिएको छ । अन्तिम पटक २०७९ भदौमा २०८० असारसम्मका लागि म्याद थप भए पनि त्यस यता निर्माण कम्पनीले काम नगरेको उनको भनाइ छ ।

म्याद सकिएको १६ महिनासम्म निर्माण कम्पनी काम गर्न नआएको इन्जिनियर खरालले बताए । सडक कालोपत्र गर्न ४२ करोड ९९ लाख रुपैयाँमा सम्झौता भएको थियो ।

 

बागलुङ र लुकुम गाउँबीचको सडक कालोपत्र नहुँदा यात्रा गर्न समस्या हुने गरेको छ । सडक खाल्डाखुल्डी र साँघुरो हुँदा दुर्घटनाको जोखिम रहेको छ । सडक लामो समयसम्म कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले आजित भएको भूमे गाउँपालिका–१ का पृथमान गुरुङले बताए ।

‘यो सडक खुलेको धैरै वर्ष भयो, अहिलेसम्म कालोपत्र गर्न सकिएको छैन, धुलो र हिलोले वस्तुभाउ र मानिस बिरामी पर्ने गरेका छन्’, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस