आज:  २०८१ पौष ११, बिहिबार | Thu, 26, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एकताका लागि वनभोज

एपी खबर २०८१ कार्तिक २६, सोमबार ( १ महिना अघि) ५८ पाठक संख्या

नेपाली कांग्रेस पार्टीभित्र फरक मत र समूह भए पनि एकता सबल बनाउन वनभोज आयोजना गरिएको नेपाल विद्यार्थी सङ्घ सिराहाले जनाएको छ ।

 

विद्यार्थी सङ्घ सिराहाका अध्यक्ष पप्पुकुमार यादवले लहान नगरपालिका–१२ र २२ नम्बर वडामा रहेको धार्मिक पर्यटकीय स्थल सलहेस फूलबारीमा शनिबार वनभोज आयोजना गरिएको बताउनुभयो । फरक मत र समूह भए पनि पार्टी मजबुत बनाउन दीपावलीमा देउसीभैलो खेलेर जम्मा भएको रकमबाट वनभोज आयोजना गरिएको यादवले जानकारी दिनुभयो ।

 

विसं २०७८ सालमा १४ औँ जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित रामचन्द्र यादव र उम्मेदवार रहनुभएका रामसुन्दर चौधरी नेविसङ्घले आयोजना गरेको वनभोजमा सँगै उपस्थित भएपछि पार्टी मजबुत बनाउन एकै थलोमा रहेको सन्देश दिएको सङ्घका अध्यक्ष यादवले जनाउनुभयो ।

 

रामसुन्दर चौधरीले चुनावका बेला देखिएको मतान्तर कम गरेर फेरि पार्टीको काममा सबै मिलेर अगाडि बढ्न वनभोजले सकारात्मक सन्देश दिएको प्रस्ट पार्नुभयो ।  उहाँले भन्नुभयो, “नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले प्रजातान्त्रिक चरित्र देखाउन र जनतालाई विश्वासमा लिन आपसी मतभेद कम गर्न आवश्यक हुन्छ । फरक मत र विचार समूहलाई द्वन्द्वका रूपमा ग्रहण गरेर पार्टीभित्र विकृति भित्र्याउनु हुँदैन ।”

 

नेपाली कांग्रेस सिराहाका सभापति यादवले जिल्ला अधिवेशनको समयमा फरक समूहबाट उम्मेदवार हुनु स्वाभाविक भए पनि नेतृत्व चयन भएपछि चुनावी तनाव बिर्सेर पार्टी एकताबद्ध भएर जनताको काममा लाग्नुपर्ने बताउनुभयो । उहाँले थप्नुभयो, “म दुई कार्यकाल सभापति भइसकेँ । १५ औँ जिल्ला अधिवेशनमा रामसुन्दर फेरि सभापतिको उम्मेदवार हुने भएपछि उहाँप्रति सकारात्मक रहने छु ।”

 

वनभोजमा लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिकामा नेपाली कांग्रेसले पहिलो पटक जित हासिल गरेकाले आफूले नमुना काम गरेर देखाउन खोजेको र त्यसका लागि पार्टी पङ्क्तिबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्रको आपसी विवाद र मतान्तरले जनप्रतिनिधिलाई समेत काम गर्न अप्ठ्यारो भइरहेको छ । कांग्रेस बलियो भयो भने प्रजातन्त्र बलियो हुन्छ ।”

 

कार्यक्रममा सिराहा–१ (क) प्रदेशबाट प्रदेश सभाका उम्मेदवार रहेका नेपाली कांग्रेस सिराहाका उपसभापति सुनील महतोले आफू थोरै मतले पराजित हुनु परेको पीडा पोख्नुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्र आन्तरिक एकता नहुँदा सिराहाका स्थानीय तहमा नेपाली कांग्रेस कमजोर देखिएकाले यसबारे समयमा सचेत हुनुपर्ने छ । आउने निर्वाचनमा एकताका साथ अगाडि बढ्नु पर्छ ।”

 

लहानमै आयोजना गरिएको वनभोजमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पदमनारायण चौधरी निकटका नेताहरूको सहभागिता नभएकाले यो वनभोज नेता चौधरीलाई कमजोर बनाउन आयोजना गरिएको युवा नेता अजयकुमार चौधरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस