नेपालमा खेलको भविष्य नदेख्नेहरुलाई नेपाल प्रिमियर लिग (एनपीएल) ले निकै आशावादी बनाएको छ । खेलबाट पनि करिअर बनाउन सकिन्छ भन्ने आत्मविश्वास युवाहरुमा पलाएको छ । खेलकूदका माध्यमबाट सुस्ताएको अर्थतन्त्रले पनि त्राण पाउने अपेक्षा गरिएको छ ।
नेपालमा सम्पन्न एनपिएलको पहिलो संस्करणको खेलले मुलुकलाई क्रिकेटमय बनायो । देशभरिबाट ८ वटा टिम उक्त प्रतियोगितामा समावेश भए । उदीयमान खेलाडिहरुले क्रिकेटमा आफ्नो भविष्य छ भन्ने आत्मसात गरे ।
पहिलो संस्करणमा च्याम्पियन जनकपुर बोल्ट्स भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि हात पारेको हो ।
जनकपुरले ट्रफीसहित १ करोड १० लाख रुपैयाँ पुरस्कार हात पारेको छ । नेपाली खेलकुदमा प्रदान गरिएको यो सबैभन्दा ठूलो पुरस्कार रकम हो । उपविजेता सुदूरपश्चिमले ५१ लाख पाएको छ ।
पहिलो संस्करणमै नेपालीहरुमा क्रिकेटप्रति जुन उत्साह देखियो त्यसबाट नेपालमा यो खेलको भविष्य एकदम राम्रो छ भन्ने सन्देश गएको छ । दर्शकहरुले टिकट पाउन नसक्दा पर्खाल र रुखमा चढेर पनि खेल हेरे । खेलको अर्को पक्ष पनि महत्वपूर्ण छ , त्यो भनेको खेलकै कारण पुसको जाडोमा कठ्याङ्गग्रिएको बजारले केही न्यानो महशुस गर्यो । खेलाडिहरुले प्राप्त गरेको पुरस्कार र खेल सञ्चालनका लागि लाग्ने खर्चले स्थानीय बजार
चलायमान भयो ।
आठ फ्रेन्चाइज टिम सहभागी प्रतियोगितामा तेस्रो भएर कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ पाए । २२ दिन चलेको एनपीएलमा ३२ खेल भएका थिए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ हुँदै पुरस्कारका रूपमा कार प्राप्त गरे । प्रतियोगिताभरमा सर्वाधिक १७ विकेट लिएका जनकपुर बोल्ट्सका ललित राजवंशीले उत्कृष्ट बलर घोषित हुँदै मोटरसाइकल पुरस्कार हात पारे ।
भारतमा हुने आइपिएल मात्र हेरेका नेपाली दर्शकका लागि यो नयाँ अवसर थियो । खेलाडिहरुका लागि पनि एनपिएल अवसरै अवसर बोकेर आयो । पहिले मुलुकमा क्रिकेटको एउटा मात्रै टिम हुन्थ्यो । खेल्ने चाहना र क्षमता भएकाले पनि अवसर पाउन सकिरहेका थिएनन् । त्यसैले एनपिएल जस्ता अवसरहरुले मुलुकको खेल क्षेत्र मात्र होइन आर्थिक क्षेत्रमा पनि सकारात्मक प्रभाव पारिरहेका हुन्छन् । एनपिएलले एक हदसम्म हाम्रो अर्थतन्त्रलाई पनि चलायमान बनाएको छ । यसकै कारण आर्थिक गतिविधीहरु बढे र त्यसको लाभ स्थानीय बजारले लिन सक्यो ।
प्रतिक्रिया दिनुहोस