आज:  २०८१ चैत्र २, आईतबार | Sun, 16, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

२५ रुपैयाँमा पेटभर खाना !

AuthorAP Khabar २०७६ जेष्ठ १, बुधबार ( ५ साल अघि) ६१८ पाठक संख्या

जेठ ०१
भैरहवा : २५ रुपैयाँमा खाना ! सुन्दा पत्यार नलाग्न सक्छ। तर, सत्य हो। भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन्। भैरहवाका व्यवसायी रविकुमार रौनियाले आफ्नी स्वर्गीय आमा मायादेवीको सम्झनामा स्थापना गरेको मायादेवी च्यारिटेबल फाउण्डेसन अन्‍तरगत गतको ‘अन्नपूर्ण भोजनालय’ मार्फत खाना खुवाउने जमर्को गरेका हुन्।

गाडीमा घुम्ती सेवामार्फत खाना खुवाइन्छ। मंगलबारबाट खाना खुवाउन थालिएको छ। शाकाहारी खाना निम्न आय भएका वर्गलाई खुवाउने व्यवसायी रौनियारले उद्देश्य राखेका छन्। ‘२५ रुपैयाँमा निम्न आय वर्गलाई खाना खुवाउने हाम्रो उद्देश्य हो’, उनले भने, ‘तर निम्न वर्गका लागि मात्रै नभइ २५ रुपैयाँमा हामीले सबै वर्गलाई खाना खुवाउने छौं।’

विशेष गरी अस्पताल, सरकारी विद्यालय र मजदुरलाई कार्यस्थलमा फाउण्डेसनले मिनी ट्रकमार्फत घुम्ती सेवा दिँदै खाना खुवाउने छ। ‘पहिलो चरणमा १५–१५ दिनको फरकमा खाना खुवाउँछौँ’, व्यवसायी रौनियारले भने, ‘विस्तारै प्रत्येक दिन खाना खुवाउने योजना हाम्रो छ।’

उनको फाउण्डेसनले अस्पताल, रिक्सा चालकलाई लक्षित गरी बिहानको समयमा र सरकारी विद्यालयमा दिउँसो खाजा खाने समयमा सेवा प्रदान गरेको छ। खानामा दाल, भात, तरकारी वा रोटी, तरकारी वा कहिले खीर, तरकारी त कहिले परौठा पालैपालो खुवाउने फाउण्डेशनले जनाएको छ। दिनमा ५ सय जनालाई सेवा उपलब्ध हुनेछ। ‘अहिले घुम्ती सेवामार्फत सेवा उपलब्ध गराउँछौँ’, उनले भने, ‘केही महिनापछि भैरहवाको ३ स्थानबाट टेन्ट लगाएर खाना खुवाउने छौं। विस्तारै भैरहवाको सबै वडा र जिल्लाभर सेवा विस्तार गर्नेछौँ।’

खाना पकाउन र खुवाउन २० जना खटाइएको छ। ८ वर्ष अघि निधन भएकी आमाको सम्झानामा रौनियारले फाउण्डेसन खडा गरी २५ लाख रुपैयाँ बैंकमा जम्मा गरेका थिए। प्रत्येक वर्ष ५ लाख रुपैयाँ थप्दै गएपछि अहिले खातामा ६० लाख रुपैयाँ पुगेको छ। सोही रकमबाट आफूले २५ रुपैयाँमा खाना खुवाउने अभियान सुरु गरेको उनले बताए। ‘हामीले खुवाउने एक छाक खानाको कम्तीमा ५० रुपैयाँ पर्छ’, उनले भने ‘ग्राहकबाट २५ रुपैयाँ लिएर बाँकी २५ रुपैयाँ फाउण्डेसनबाट पूर्ति हुने गरी अभियान सुरु गरेका हौं।’ निधन अघि आमाले गरिब दुःखीका लागि केही राम्रो काम गर्नू भनेकाले आमाको सोही वाणीलाई कार्यान्वयनमा ल्याएको रौनियारले सुनाए।

प्रदेश ५ सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले अन्नपूर्ण भोजनालयको मंगलबार शुभारम्भ गरे।
श्रोत अन्नपूर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस