असार १४ एजेन्सी
एप्पल कम्पनीलाई दुई दशकभन्दा लामो समय दिएर विश्वकै सबैभन्दा मूल्यवान व्यवसाय बनाउन मद्दत गरेका ब्रिटिश नागरिक सर जोनी आइभले आफ्नो नयाँ व्यवसाय शुरू गर्न लागेका छन्।
एप्पललाई चर्चित बनाउने आईफोन, आईपोड र आईम्याकका कल्पनाकार आइभले लभफ्रम नामक आफ्नै सिर्जनात्मक व्यवसाय शुरू गर्ने र त्यसको पहिलो ग्राहक एप्पल हुने बताइएको छ। “यो जीवनमा परिवर्तन गर्नका लागि प्राकृतिक र सहज समय लाग्यो,” उनले भने। एप्पलका प्रमुख टिम कुकले ‘एप्पललाई पुनर्जीवन दिने उनको भूमिकाका बारेमा बढाएर भन्न नसकिने’ बताएका छन्।
तर उनको प्रस्थान आईफोनको विक्री घटेर एप्पलका शेयरधनीहरू चिन्तित भएको बेलामा भएको छ । एक विज्ञप्तिमा सर जोनाथनले भनेका छन्, “झण्डै ३० वर्ष र अनगिन्ती परियोजनाहरू पछि म एप्पलमा अन्त कतै नभएको डिजाइन समूह, प्रक्रिया र संस्कृति निर्माण गर्न गरेका कामप्रति गौरवान्वित छु।”
उनले खोल्न लागेको लभफ्रमका बारेमा धेरै जानकारी बाहिर आएका छैनन् तर समाचारहरूमा यो घडी जस्ता शरीरमा लगाउन मिल्ने प्रविधिमा केन्द्रित हुने जनाइएका छन् ।आइभका एप्पलका साथी र सहयोगी मार्क न्युसनले पनि लभफ्रममा काम गर्ने बताइएको छ ।
उनी सन् १९९६ मा एप्पलको आर्थिक अवस्था कमजोर भएको बेला डिजाइन स्टुडियोका प्रमुख भएका थिए । एप्पलको आर्थिक अवस्थामा सुधार सन् १९९८ मा आईम्याक र सन् २००१ मा आईपोडको निर्माणपछि भयो ।
उनकै नेतृत्वमा एपलका अन्य उत्पादनहरू निर्माण भए:
सन् २००४ – आईपोड मिनी
सन् २००७ – आईफोन
सन् २००८ – म्याकबुक एअर
सन् २०१० – आईप्याड
सन् २०१५ – एप्पल वाच
सन् २०१६ – एअरपोड
एप्पलका संस्थापक स्टिभ जब्सले एक पटक भनेका थिए, “एप्पलमा मेरो कोही आध्यात्मिक साझेदार छ भने त्यो जोनी हो।” सर आइभले हालै गरेका काममध्येको एक एप्पलको नयाँ मुख्यालय एप्पल पार्क थियो।
सन् २०१२ मा सरको उपाधि पाएका आइभको स्थानमा एप्पलमा तुरुन्तै कोही नियुक्त हुनेछैन। उनले सन् २०१२ देखि एप्पलको हार्डवेयर र सफ्टवेयर दुवैको डिजाइनको नेतृत्व गरेका थिए। एप्पलले बिहीवार जनाए अनुसार उनले हेरेको काम दुई जनाले बाँडेर हेर्नेछन्।
प्रतिक्रिया दिनुहोस