साउन ,३१ : असार अन्तिम साता बिहुल खोलामा आएको बाढीले सप्तरीको बलान–बिहुल गाउँपालिकास्थित पम्प नहर सिँचाइ प्रणालीमा ठूलो क्षति पुर्यायो । बाढीले एलडी साइफनमा नहरको दुवैतर्फ एक/एक सय मिटर बाँध भत्काएको छ । ३५ वर्ष पुरानो संरचना भएकाले बढी क्षति गरेको कोसी पम्प, चन्द्रनहर सिँचाइ व्यवस्थापन कार्यालय राजविराजका सिनियर डिभिजनल अधिकृत रनधीरकुमार साह बताउँछन् ।
‘त्यसताका बिहुल खोलाको बाढीलाई मात्रै लक्षित गरेर नहरको संरचना बनाइएको रहेछ,’ साह भन्छन्, ‘अहिले बलानसहित आसपासका साना सबै खोला बिहुलमा मिसिन्छन् । साइफनले बाढीको बेग थेग्न नसकेर नहरको पुरानो संरचना भत्कायो ।’
त्यस्तै, अन्य विभिन्न खोलाको बाढीले डाकनेश्वरी नगरपालिकाको लखेश्वर साइफन र बोदेबरसाइन नगरपालिकाको रञ्जितपुर स्केपमा एक÷एक ठाउँ तथा राजविराज–९ को मलेठका दुई ठाउँमा क्षति पुर्याएको छ । ‘मूल नहरको सात÷आठ ठाउँमा सर्भिस बैंक (एकतर्फी सवारी चल्ने बाँध) नै भत्किएको छ,’ साह भन्छन्, ‘सानातिना क्षति धेरै छन्, मर्मत र पुनर्निर्माणको काम भइरहेको छ ।’ सबै ठाउँमा गरी पम्प नहरमा १३ करोड रुपैयाँभन्दा बढीको क्षति भएको उनले जानकारी दिए ।
मूल नहरमा क्षति पुगेपछि पम्प नहरमा पानी सञ्चालन हुन सकेको छैन । मर्मत र पुनर्निर्माणको काम भइरहेकाले त्यसपछि मागअनुसार पानी सञ्चालन गरिने साहले बताए । ‘पम्प नहर प्रणालीको करिब दुई किलोमिटर क्षेत्रफलमा (‘ए’ र ‘बी’ हाउस) पानी भरेर राखेका छौँ,’ उनले थपे, ‘नहर मर्मतको ९० प्रतिशत काम सकिएको छ । त्यसपछि उपभोक्ताको मागका आधारमा पानी सञ्चालनमा आउँछ ।’
तर, बाँध पुनर्निर्माण नगरे अर्को वर्ष फेरि समस्या दोहोरिने उनको चिन्ता छ । ‘नयाँ संरचना निर्माणका लागि करिब ६ करोडको योजना बनाएर हामीले मन्त्रालय र विभागमा पठाएका छौँ,’ उनले भने, ‘हरेक वर्ष समस्या खेप्नुभन्दा एकै पटक दीर्घकालीन समाधान गर्न सके राम्रो हुन्थ्यो ।’
यस्तो छ, पम्प नहरको अवस्था
साबिकका ३३ गाविसका १३ हजार एक सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखी ०३८ सालमा पम्प नहरको निर्माण सुरु गरिएको थियो । निर्माण सम्पन्न भएपछि ०४२ सालदेखि सञ्चालनमा आएको नहरमा कोसी पश्चिमी नहर (वितरण नहर सिँचाइ प्रणाली) बाट पम्पको माध्यमले लिफ्टिङ गरी पानी वितरण गरिन्छ ।
चार ठूला र दुई साना गरी ६ वटा पम्पका माध्यमले पम्प हाउस ‘ए’ र ‘बी’ मा पानि पठाएर वितरणको व्यवस्था मिलाउने गरिएको साहले बताए । ३३ किलोमिटर लामो यो नहरबाट जिल्लाको सबैभन्दा पश्चिमतर्फ रहेको मौवाहा (बनौँला) सम्मको जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको थियो ।
चन्द्रनहर र वितरण नहरमा पनि क्षति
बाढीले वितरण नहर सिँचाइ प्रणाली र चन्द्र नहर सिँचाइ प्रणालीसमेतमा क्षति पुर्याएको छ । खाँडो, जिता, त्रियुगा, अमाहा, गंगाजली, महुली, सुन्दरीलगायत नदीमा आएको बाढीले नहरमा क्षति गरेको साहले जानकारी दिए । वितरण नहर प्रणालीमा एक करोड ७६ लाख र चन्द्रनहर सिँचाइ प्रणालीमा दुई करोड ७२ लाखको क्षति भएको उनको भनाइ छ ।
चन्द्रनहर प्रणालीको सप्तकोसी नगरपालिकास्थित गंगाजली साइफन, कञ्चनरुपको सुन्दरी साइफन र सुब्बाटोललगायत खण्ड तथा वितरण नहर प्रणालीका १३ वटै शाखा नहरमागरी २५ ठाउँमा बाढीले क्षति पुर्याएको कोसी पम्प, चन्द्र्रनहर सिँचाइ व्यवस्थापन कार्यालय राजविराजले जनाएको छ । पम्प नहरसहित तीनवटै सिँचाइ प्रणालीमार्फत सप्तरीका ३५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ ।
नयापत्रिका;
प्रतिक्रिया दिनुहोस