भाद्र , १८ : एकपटक स्वामी विवेकानन्द समस्त भारत भ्रमणमा निस्केका थिए । भ्रमणकै क्रममा उनी खेतरीका राजाकहाँ पुगे । राजा विवेकानन्दको सरलता र अद्भूत विचारबाट निकै प्रभावित थिए । त्यसैले राजाले उनको निकै ठूलो स्वागत, सत्कार र सम्मान गरे । राजाले स्वामीजीको सम्मानका लागि एक नर्तकीलाई बोलाएका थिए । उनी कुशल नृत्यांगना हुनुका साथै एक कुशल भजन गायिका पनि थिइन् । जब स्वामीजीले ती नर्तकीलाई देखे, तब उनलाई त्यहाँ बस्न मन लागेन । उनले राजासित बिदा मागेर हिँड्न चाहे । तर, राजाले विशेष आग्रहसाथ उनलाई त्यहाँ रोके । राजाको आग्रह लत्याउन नसकेर स्वामीजी अनिच्छा हुँदाहुँदै पनि रोकिए ।
गायिकाले भजन सुरु गरिन् । उनको स्वर अत्यन्त सुमधुर थियो । भजनको भाव थियो– हे भगवान्, तपाईं समदर्शी हुनुहुन्छ । फलाम कसाईको खुँडामा पनि हुन्छ र मन्दिरको कलशमा पनि । तर, पारसले यी दुईबीच कुनै भेद गर्दैन र दुवैलाई आफ्नो स्पर्शबाट सुन बनाइदिन्छ । पानी यमुनाको होस् या फोहोर बग्ने नालीको, जब दुवै गंगामा पुग्छन्, ‘गंगाजल’ कहलिन्छन् । त्यसैले हे भगवान् यो भेदभाव किन ? मलाई पनि आफ्नो शरणमा लिनुहोस् ।
गायिकाको स्वर सुन्नासाथ ध्यानमग्न भई भजन सुनिरहेका विवेकानन्दलाई भजनको भावले भित्रैदेखि हल्लाइदियो । उनलाई आफूले सुरुमा गायिकाको अपमान गरेकोमा भित्रैदेखि पछुतो भयो । गायिकाको गायन सकिँदा–नसकिँदै स्वामीजीका आँखाबाट आँसु बग्न थाले । आफूलाई वेदान्तको अद्भूत शिक्षा दिने ती नर्तकीलाई उनले मनमनै नमन गरे र प्रत्यक्षतः आफ्नो अबुझपनाका लागि माफी पनि मागे ।
नयापत्रिका ;
प्रतिक्रिया दिनुहोस