आज:  २०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकालाई किन चिढ्याउँदैछन् प्रचण्ड ?

AuthorAP Khabar २०७६ भाद्र २६, बिहिबार ( ५ साल अघि) ३७७ पाठक संख्या

भाद्र , २६ : गत माघमा (जनवरी २३) मा भेनेजुएलाका निर्वाचित राष्ट्रपति निकोलास मडुरोलाई चुनौती दिँदै प्रतिपक्षी नेता जुवान गुवाइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले त्यसको कडा शब्दमा आलोचना गरे। गुवाइदोका पक्षमा अमेरिकाले समर्थन जनाएपछि त्यसको विरोधमा दाहालले विज्ञप्तिसमेत जारी गरे।नेपालबाट भौगोलिक रुपमा समेत धेरै टाढा रहेको र कूटनीतिक सम्बन्ध पनि खासै नभएको भेनेजुयलाका विषयमा दाहालले अमेरिकाको आलोचना गरेपछि त्यसबारे लामो समयसम्म चर्चा भयो। त्यो घटनाले नेपाल र अमेरिकाबीचको सम्बन्धमा समेत चिसो ल्याउने काम गरेको थियो।

अमेरिकाको चर्काे आलोचनापछि सम्बन्ध बिग्रिएको अनुमानका बीच दाहाल गत चैतमा श्रीमती सीताको उपचारका लागि अमेरिका गएर फर्किए। अमेरिका भ्रमणको वातावरण मिलाउने काम नेपालस्थित अमेरिकी राजदूतले गरेका थिए। यसबीचमा दाहाल र अमेरिकाको सम्बन्ध सुधार भएको अनुमान गरियो तर असारमा नेपाल भ्रमणमा आएका भेनेजुयलाका राष्ट्रपति मडुरोका छोरासँग दाहालले आफ्नो प्रतिबद्धता दोहो-याए।

मंगलबार तीनदिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा दाहालले अमेरिकाको महत्वाकांक्षी परियोजना इन्डोप्यासिफिक स्ट्राटेजीलाई अस्वीकृत गर्ने प्रतिबद्धता जनाएका छन्। वाङ नेपाल भ्रमण सकेर स्वदेश फर्किएपछि चिनियाँ विदेश मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा दाहालले यस्तो प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ। विज्ञप्तिमा दाहालले नेपाल असंलग्न नीतिमा दृढ रहेको र चीनविरुद्ध अघि सारिएको कथित इन्डो प्यासिफिक स्ट्राटेजीलाई अस्वीकृत गर्ने बताएको उल्लेख छ। दाहालको यो प्रतिबद्धता र अभिव्यक्तिले पनि अमेरिकालाई चिढ्याउने काम गरेको खबर आजकाे नागरिक दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस