पौष ०७ एजेन्सी ।
पत्रकार जमाल खासोग्जीको हत्या गरेको अभियोगमा साउदी अरेबियाको अदालतले पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
सन् २०१८ को अक्टोबर २ मा साउदी सरकारका आलोचना गर्ने पत्रकार जमाल खशोग्जीको टर्कीको राजधानी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो।
अभियोजनकर्ताले नाम नखुलाइएका ११ जना माथि हत्यामा संलग्न भएकोमा मुद्दा दायर गरेका थिए। साउदी अरबले सुरुमा आफ्नो संलग्नता अस्वीकार गरेको थियो।
तर अन्तर्राष्ट्रिय दबावसँगै खाशोज्जीको हत्या भएको स्वीकार गरेको साउदी अरबले क्राउन प्रिन्स मोहम्मद बिन सलमानको संलग्नता अस्वीकार गर्यो ।
सेप्टेम्बरमा सलमानले सार्वजनिक रुपमा खोशोज्जीको हत्या गरेको जिम्मेवारी लिए । यसअघि अमेरिकी खुफिया एजेन्सी सीआईए र पश्चिमा देशका सरकारले साउदीका क्राउन प्रिन्सले खाशोज्जीको हत्याको आदेश दिएको दाबी गरेका थिए ।
सरकारी अभियोजकका अनुसार क्राउन प्रिन्सका सल्लाहकार सउद अल खतानीसँग सोधपुछ गरिएको थियो, तर उनीमाथि कुनै आरोप लगाइएको छैन ।
यो घटनामा टर्कीले १८ संदिग्धलाई बुझाउन माग गरेको थियो, जसमा १५ एजेन्ट थिए र उनीहरु हत्याको योजना सफल बनाउन इस्तानबुल पुगेको टर्कीको दाबी थियो । तर साउदीले टर्कीको माग अस्वीकार गर्यो । तर गत जनवरीमा खाशोज्जीको हत्याको मुद्दामा ११ अभियुक्तबारे रियादमा सुनुवाई सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस