आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

युद्ध नयाँ चरणमा प्रवेश गरेको इजरायलको घोषणा, हिजबुल्लाह भन्छ-‘बदला निश्चित छ’

एपी खबर २०८१ आश्विन ३, बिहिबार ( १६ घण्टा अघि) २४ पाठक संख्या

लेबनानको राजधानी बेरुतसहित देशका विभिन्न शहरहरुमा बुधबारलगातार दोस्रो दिन पनि इलोक्ट्रोनिक डिभाइसहरु विष्फोट भए। यो पटक ब्लास्टका लागि वाकीटकी प्रयोग भए। यो विष्फोटमा परी २०जनाको मृत्यु भयो भने ४ सय ५० भन्दा बढी घाइते भए। मर्नेको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्।

 

यो विष्फोट हुनु एकदिन अघि भएको विष्फोटमा परी १२ जनको मृत्यु भएको थियो भने २८ सयभन्दा बढी घाइते भएका थिए। यो हिसाबले २ दिनमा लेबनानमा ३२ जनाले ज्यान गुमाए। लेबनानमा इरानको समर्थनमा रहेको हिजबुल्लाहका लडाकुहरु एक-अर्कासँग कम्युनिकेसनका लागि प्रयोग गर्ने पेजर र वाकीटकीनै विष्फोट भएपछि विश्वभर यो विषयमा चासो बढेको छ।

 

युद्ध नयाँ चरणमा
इजरायलका रक्षामन्त्री योभ गालान्टले आफूहरु युद्धको नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। लेबनानमा हिजबुल्लाह समूहले प्रयोग गरेको हजारौं पेजरहरू विस्फोट भएपछि गालान्टले यस्तो बयान दिएका हुन्।

 

पेजर ब्लास्ट १७ सेप्टेम्बरमा भएको थियो र सेप्टेम्बर १८ मा फेरि यस्तै घटना भएको थियो। हिजबुल्लाहले प्रयोग गर्ने वाकीटकी र अन्य इलेक्ट्रोनिक उपकरणहरू विस्फोट भए।समाचार एजेन्सी रोयटर्सका अनुसार गालान्टले युद्धको नयाँ चरणमा प्रवेश गरेको बताए। उनले भने,’हामी चरणबद्ध रूपमा योजना बनाइरहेका छौं’ उनले थपे,’हरेक पटक, हिजबुल्लाहले ठूलो मूल्य चुकाउनु पर्ने छ।’

 

उनले इजरायलको शिन बेट र गुप्तचर निकाय मोसादको प्रसंशा गरे। त्यस्तै इजरायली सेना प्रमुख हार्जी हालेवीले आफूसँग अझै पनि धेरै ‘शक्तिहरू’ रहेको बताएका छन्, जुन आफूले प्रयोग नगरेको दाबी गरे।

 

हिजबुल्लाह भन्छ,’बदला निश्चित छ’
लेबनानका आन्तरिक सुरक्षा बलहरूले देशभरि धेरै ताररहित सञ्चार उपकरणहरू विस्फोट भएको बताए। विशेष गरी बेरुतको दक्षिणी क्षेत्रहरु जहाँ हिजबुल्लाहको गढ मानिन्छ। हिजबुल्लाहले विष्फोटको लागि इजरायललाई दोष दिँदै बदला लिने वाचा गरेको छ।

 

स्रोतलाई उद्धृत गर्दै रोयटर्सले यस आक्रमणको पछाडि मोसादको हात रहेको बताएको छ। मोसाद इजरायलको गुप्तचर निकाय हो। धेरै महिनाको योजनापछि मोसादले ५ हजार पेजरमा विस्फोटक पदार्थ राखेको बताइएको छ।

 

इरानको समर्थन रहेको हिजबुल्लाह गत वर्ष अक्टोबरमा गाजा युद्ध सुरु भएदेखि इजरायलसँग युद्धरत छ। हवाई हमलामा हिजबुल्लाहका वरिष्ठ अधिकारी मारिएपछि समूहले सावधानीका रूपमा आफूलाई मोबाइल फोनबाट टाढा राखेको थियो। र आफ्ना सदस्यहरुलाई आफैले बनाएको दूरसञ्चार प्रणाली प्रयोग गर्न आग्रह गरेको थियो। उसले इजरायलसँगको बदला निश्चित रहेको जनाएको छ।

 

पेजर बनाउने कम्पनीले के भन्यो?
विस्फोट भएका पेजरको पछाडि ताइवानको कम्पनी ‘गोल्ड अपोलो’ को स्टिकर थियो। हिजबुल्लाहले केही महिनाअघि मात्रै यस कम्पनीबाट पेजर आयात गरेको थियो। तर, ताइवानी कम्पनीले आफूले उत्पादन गरेको कुरा अस्वीकार गरेको छ। यी पेजर बुडापेस्टको बीएसी नामक कम्पनीले बनाएको कम्पनीका संस्थापक सु चिङ(क्वाङले बताए। यो कम्पनीसँग गोल्ड अपोलो ब्रान्ड प्रयोग गर्ने अधिकार थियो। उनले उत्पादन आफ्नो नभएको बताए।

 

जोर्डनले भन्यो मध्य-पूर्वनै युद्धतर्फ अग्रसर
अलजजीरासँग कुरा गर्दै जोर्डनका विदेशमन्त्री अयमान सफादीले इजरायलले सम्पूर्ण मध्यपूर्वलाई युद्धमा धकेल्ने प्रयास गरेको बताए। उनले अन्तर्राष्ट्रिय समुदायलाई इजरायलमाथि प्रतिबन्ध लगाउन आग्रह गरे। उनले भने,’इजरायलले समग्र मध्यपूर्वलाई युद्धतर्फ धकेलिरहेको छ। चाँडो इजरायललाई प्रतिबन्ध नलगाउने हो भने भयानक अवस्था सिर्जना हुने छ।’

 

वाकीटकी निर्माण गर्ने जापानी कम्पनीले अनुसन्धान थाल्यो
विस्फोट भएको वाकीटकी ‘ICOM V82’ लेखिएको छ, जुन जापानमा बनेको हो। यसलाई बनाउने कम्पनी आइकम इन्क ‘Icom Inc’ ले यो दाबीबारे अनुसन्धान गरिरहेको बताएको छ। उसले यसबारे स्पष्ट जानकारी आएपछि जानकारी गराउने बताएको छ।

 

हिजबुल्लाह के हो?
हिजबुल्लाह शब्दको अर्थ ‘ईश्वरको पार्टी’ हो। यो संगठनले आफूलाई सिया इस्लामिक राजनीतिक सैन्य र सामाजिक संगठनको रूपमा वर्णन गर्द छ। हिजबुल्लाह लेबनानको शक्तिशाली समूह हो। अमेरिका र धेरै देशहरूले यसलाई आतंकवादी संगठन घोषणा गरिसकेका छन्।

यो सन् १९८० को दशकको प्रारम्भमा इजरायलले लेबनानमाथि कब्जा गरेको बेला इरानको सहयोगमा निर्माण गरिएको थियो। सन् १९६०(७० को दशकमा लेबनानमा इस्लामको पुनरागमन भएसँगै यसले आफ्नो संगठन बिस्तार गर्यो।

 

हमास भने एक सुन्नी प्यालेस्टिनी संगठन हो, जबकि हिजबुल्लाह एक शिया लेबनानी पार्टी हो जसलाई इरानले समर्थन गरेको छ, तर दुवै संगठनहरू इजरायलको मुद्दामा एकजुट छन्। २०२० र २०२३ को बीचमा, दुबै गुटहरूले युएई र बहराइन बीच इजरायलसँगको सम्झौताको विरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस