झुटा विवरण पेस गरेर नेपाली नागरिकता लिएको भन्दै जिल्लामा उजुरी पर्न थालेका छन्। त्यसरी उजुरी पर्नेमा जिल्लाका पूर्वमन्त्रीदेखि सभासद्समेत छन्। नागरिकतासम्बन्धी परेका उजुरीमध्ये केही उजुरीहरू उपर जिल्ला प्रशासन आफैंले छानबिन गर्ने गरेको छ। केहीलाई प्रहरी कार्यालयमा छानबिनका लागि पठाउने गरिएको छ भने केही गृह मन्त्रालय पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए।
जिल्लाको पछिल्लो तथ्यांकअनुसार झुटा विवरण पेस गरेर नेपाली नागरिकता लिएको भन्दै ८१ वटा उजुरी परेका छन्। जसमा झुटा विवरण पेस गरेर लिएका ५९ वटा र २२ वटा दोहोरो नागरिकता अर्थात् एउटै विवरण पेस गरी प्रतिलिपि लिने ठाउँमा सोही विवरणको नयाँ लिएको र नाम, थरलगायतका विवरण परिवर्तन गरी लिएका छन्। झुटा विवरण पेस गरी नागरिकता लिएको भन्दै परेका उजुरीमध्ये ५० भन्दा बढी भारतीयले नेपाली नागरिकता लिएको भन्ने छ। उजुरी दिनेमा केहीले जिल्लामै दिएका छन्।
केहीले मन्त्रालयमा र केहीले अख्तियारमा उजुरी दिएका जिल्ला प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले दिएको जानकारीअनुसार उजुरीमध्ये ३४ वटा छानबिनका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ। २५ वटा जिल्ला प्रशासनले छानबिन गरिरहेको जनाएको छ। झुटा विवरण पेस गरेर नागरिकता लिएको भन्दै उजुरी पर्नेमा अधिकांश सीमा क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरू छन्। त्यसैगरी दोहोरो नागरिकता लिएको भन्दै उजुरी परेका २२ मध्ये ११ वटा रद्द भएको प्रशासनले जनाएको छ। अन्यको छानबिन भइरहेको छ।
झुटा विवरण पेस गरेर नागरिकता लिएको भन्दै पूर्वमन्त्रीदेखि प्रदेशसभा सभासद्विरुद्ध पनि उजुरी परेका छन्। कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल र लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ कलवारले भारतीय नागरिकतासँगै नेपाली नागरिकता पनि लिएको भन्दै बदरको मागसहित उजुरी परेको जिल्ला प्रशासनले जनाएको छ। कँडेलमाथि भारतीय नागरिकता लिएको भन्दै नेपाली नागरिकता बदरको माग गरिएको छ।
कँडेलमाथि परेको अर्को दोहोरो नागरिकता लिएको भन्ने उजुरीमा भने जिल्ला प्रशासन कार्यालयले पछिल्लो नागरिकता रद्द गरी पुरानैलाई कायम गरेको छ। कँडेलले दोस्रो नागरिकता लिँदा प्रतिलिपि लिनुपर्नेमा पुनः पुरानै विवरणको नयाँ बनाएपछि उनको नागरिकता रद्द भएको हो। विवरण फरक पारी नागरिकता लिएमा पछिल्लोलाई रद्द गरी पहिलो पटक लिएको कायम हुने नागरिकता ऐनमा उल्लेख छ।
्त्यस्तै, प्रदेशसभा सदस्य कलवारले लिएको नागरिकतामाथि परेको उजुरीमाथि जिल्ला प्रशासनले कूटनीतिक माध्यमबाट यकिन हुनुपर्ने प्रतिवेदन तयार पारेको छ। जिल्ला प्रशासनको छानबिन समितिले भनेको छ, ‘बैजनाथ कलवारले दोहोरो नागरिकता लिएको भन्ने सम्बन्धमा भारतीय कागजातको आधिकारिकता÷हैसियत एवं निजले भारतीय नागरिकता प्राप्त गरे÷नगरेको बारेमा कूटनीतिक माध्यमबाट यकिन गरी अग्रिम कारबाही हुनुपर्ने देखिन्छ।
’ यही विवरणसहित मन्त्रालयमा प्रतिवेदन पठाएको छ भने भारतीय नागरिकता लिएको भन्दै उजुरी परेका कँडेलको पनि मन्त्रालयमा प्रतिवेदन पठाइएको छ। ‘उहाँहरू भीआईपी लेबलको भएकाले नागरिकतासम्बन्धीको प्रतिवेदन माथि पठाइएको छ’, प्रमुख जिल्ला अधिकारी रेग्मीले भने।
त्यस्तै, कसैले नेपाली नागरिकताको झुटो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा २० हजारदेखि एक लाखसम्म जरिबाना वा दुवै सजाय हुनेछ। त्यसैगरी झुटो विवरण दिई नागरिकता प्रमाणपत्र प्राप्त गरेमा वा विवरण सच्याएमा त्यस्तो झुटो विवरण दिने व्यक्ति वा कसुर गर्ने गराउने व्यक्तिलाई १५ हजारसम्म जरिबाना हुने ऐनमा उल्लेख छ।
कानुनी कारबाही
नेपाल नागरिकता ऐन, २०६३ मा कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुटो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि एक लाखसम्म जरिबाना वा दुवै सजाय हुनेछ। झुटो विवरण दिई प्राप्त गरेको नागरिकता स्वतः रद्द हुने छ। त्यसैगरी कुनै विदेशीलाई झुटो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई ६ महिनादेखि तीन वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजारसम्म जरिबाना वा दुवै सजाय हुने ऐनमा उल्लेख छ।
८५ जनाले नागरिकता त्यागे
नवलपरासी जिल्लाबाट नागरिकता लिएका ८५ जनाले आफूले पाएको नागरिकता त्याग गरेका छन्। विदेशमा बसोबास गरेकाहरूले विदेशको नागरिकता लिन नेपाली नागरिकता त्यागेका हुन्। सबैभन्दा बढी बेलायतमा बसोबास गर्नेले नागरिकता त्यागेका छन्। दोस्रोमा हङकङ र तेस्रोमा अमेरिकामा बसोबास गर्ने भन्दै नागरिकता त्यागेका छन्। भारतको नागरिकता लिने भन्दै नेपाली नागरिकता त्याग्ने पनि छन्। कोरिया, जर्मनलगायताका देशको नागरिकता प्राप्त गर्न पनि नवलपरासीबाट जारी भएका नेपाली नागरिकता त्यागेर गएको जिल्ला प्रशासनले जनाएको छ।
प्रतिक्रिया दिनुहोस