कोशी प्रदेशसभाको चालु छैटौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदै छ ।
बिहीबार बसेको कोशी सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष चालु अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।
उनका अनुसार बैठकले ‘कोशी प्रदेश जनस्वास्थ्य नियमावली, २०८१’ लाई स्वीकृति गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री भण्डारीले समस्याग्रस्त सहकारी संस्था तथा संघ व्यवस्थापन समितिको सदस्य–सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरिएको बताए । उनका अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कार्यालयका लागि १ करोड २८ लाख ६० हजार रकम बाँडफाँट गर्न स्वीकृति प्रदान गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानका लागि अनुमानित सीमा १ अर्ब ५० करोड तथा राजस्व बाँडफाँटको अनुमानित सीमा १ अर्ब १० करोड स्वीकृत गर्ने निर्णय गरेको छ । साथै उच्च तथा जिल्ला अदालत सुदृढीकरणका लागि १ करोड ५० लाख बाँडफाँट गर्न स्वीकृत प्रदान गरेको मन्त्री भण्डारीले जानकारी दिए ।
राजनीतिक तथा प्रशासन समितिबाट परिमार्जित ‘आर्थिक मामिला तथा योजना मन्त्रालय र मातहतका कार्यालयको सङ्गठन संरचना तथा दरबन्दी तेरिज, २०८१’ पनि बैठकले स्वीकृत गरेको छ ।
प्रतिक्रिया दिनुहोस